शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यू–१८ महिला साफ : नेपाल सहभागितामा सीमित

बिहीबार, १० चैत २०७८, १५ : ४९
बिहीबार, १० चैत २०७८

घरेलु खेलकुदमा नेपाली महिला फुटबलमा उमेर समूहका धेरै प्रतियोगिता हुँदैनन् । उमेर समूहका प्रतियोगिताको नाममा हुने भनेको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता मात्र हुन् । त्यसको असर अहिले नेपाली महिला फुटबलमा देखिएको छ । 

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । प्रतियोगितामा चार खेल खेल्दा नेपालले एक खेलमा पनि जित निकाल्न सकेन । जित विहीन नेपालको प्रदर्शन पनि सम्झन लायक रहेन । उसो त प्रतियोगितामा नेपालले सहभागिता जनाउनु पहिले नै नेपालका प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोली भारत र अर्को टोली बङ्गलादेशसँग खेल्न कठिन हुने बताइ सहेका थिए । 

उमेर समूहका प्रतियोगिता कमै खेलेका खेलाडीहरू टिममा थिए । त्यसमा विभागीय टोलीमा अवसर पाएका केही खेलाडीहरू मुख्य भूमिकामा थिए । विभागीय टोली एपीएफबाट खेल्ने प्रीति आलेले कप्तानको जिम्मेवारी पाएकी थिइन् । 

अन्य केही खेलाडी प्रदेश लिग खेलेका थिए । छोटो तयारी र कमै म्याच एक्सपोजरले नेपाली टोलीलाई साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा सहभागितामा मात्र सीमित गरायो । नेपाली टोलीका प्रशिक्षक दर्शन खेलअघि भने नेपाल निकै बलियो टोली भएको बताएका थिए । 

उने खेलअघिको प्रि–म्याच कन्फ्रेन्समा तीनै टोली बलियो भएको र त्यसमा कुन टोलीले जित निकाल्न भन्न नसकिने बताएका थिए ।  ‘तीन टोली बलियो छन् । हामी हाम्रो उत्कृष्ट प्रदर्शनमा फोकस गरिरहेका छौँ,’ दर्शनले भारतसँगको पहिलो खेलअघि भनेका थिए ।  दर्शनको यो भनाइसँगै नेपाली टोलीलाई कमजोर पनि भनिरहेका थिए । आयोजक टोलीसँग खेल्न कठिन हुने उनको भनाइ थियो । 

‘घरेलु टोलीसँग खेल्न सधैँ गाह्रो हुन्छ तर हामी आफ्नो उत्कृष्ट खेल्ने छौँ । परिस्थिति अनुसार खेल्ने छौँ । बंगलादेश र भारत बलियो टोली हो,’ दर्शनले भनेको थिए । 

यसरी नेपाली टोली कमजोर छ भन्ने ज्ञान हुँदा पनि नेपालले तयारीका लागि लामो समय लिएन । खेलाडी छनोटका लागि पनि धेरै समय दिएन । उसो त नेपालले कुनै प्रतियोगिताको सहभागिताका लागि लामो समय दिएको छैन । 

नेपाली टोलीको प्रदर्शन 

नेपाली टोलीले च्याम्पियनसिपमा जम्मा चार खेल खेल्यो । चारै खेलमा नेपाल पराजित भयो । नेपालले प्रतियोगिताका चार खेलमा १८ गोल खायो भने जम्मा ४ गोल विपक्षको पोष्टमा प्रहार गर्‍यो । 

नेपालले भारतसँग दुई खेलमा १२ गोल खाँदा बंगलादेशसँगको दुई खेलमा ६ गोल खायो । नेपालले भारतलाई १ गोल फर्कायो भने बंगलादेशलाई ३ गोल । पहिलो खेल भारतसँग खेलेको नेपालले निकै कमजोर प्रदर्शन गर्‍यो । नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भयो । 

त्यस्तै दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ४–२ गोलले पराजित भयो । त्यस्तै आयोजक भारतसँग भएको तेस्रो खेलमा नेपाल ५–१ गोलले पराजित हुन पुग्यो । प्रतियोगिताको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो । 

यस हारसँगै नेपालले ४ खेलमा अङ्क जोड्न सकेन । नेपाल जित विहीन बन्दै बाहिरिएको छ । बंगलादेशले भने ३ खेलमा ६ अङ्क जोडेको छ । अब बंगलादेशले अन्तिम खेलमा भारतको सामना गर्नेछ । भारत र बंगलादेशबीचको विजेताले प्रतियोगिताको उपाधि जित्नेछ । 

वर्षभर प्रशिक्षण विहिन भएका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु पूर्व मात्र मौलाउँछन् । यसमा खेलाडीको कुनै हात छैन । एन्फाले जबसम्म उमेर समूहका खेललाई प्राथमिकतामा राख्दैन तबसम्म नेपाली टोली हरेक प्रतियोगितामा सहभागितामा मात्र सीमित हुनेछ । यसको समीक्षा नेपाली टोली नेपाल फर्कँदा पक्कै हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप