बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यसकारण काठमाडौँ महानगरको मेयरमा मेरो उम्मेदवारी : बालेन साह

शनिबार, १२ चैत २०७८, १३ : ३७
शनिबार, १२ चैत २०७८

सांगीतिक क्षेत्रमा परिचित छन् बालेन साह । आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका उनी आफ्ना कार्ययोजना बोकेर महानगरका टोल बस्तीमा पुग्न थालेका छन् । साथै विभिन्न कलेजहरूमा पनि आफ्ना सपना तथा योजना सुनाउँदै हिँडिरहेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्ने सपना देखेर हिँडिरहेका युवा बालेनसँग आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा रातोपाटीले गरेको कुराकानी : 

आगामी स्थानीय तहको निर्वाचनमा तपाईंले काठमाडौँमा महानगरपालिकामा मेयरमा किन उम्मेदवारी दिन लाग्नुभएको हो ? 

राजनीतिमा जाने भनेर मैले चार पाँच वर्षअघि नै सोचेको थिएँ तर त्यतिबेला मास्टर्स लेभलको परीक्षा चलिरहेकाले सम्भव भएन । अहिले भने चुनावमा उठ्न ठीक समय लाग्यो । काठमाडौँमा शिक्षा, बाटोघाटो राम्रो राम्रो नभएपछि कति अरूलाई मात्र गर भन्ने ? धेरै निकायहरूलाई पहिला गाली पनि गरियो । तर गाली मात्र गरेर भएन, अब आफै काम गर्नुपर्‍यो भनेर यो वर्ष मैले मेयरमा उम्मेदवारी दिन लागेको हो ।  मतपत्रमा नो भोट अप्सन पनि राख्नुपर्छ भन्ने मेरो मान्यता थियो । त्यो नभएपछि भोट नै नदिई बस्नुभन्दा आफै उठ्नुपर्‍यो भनेर उठ्न खोजेको हुँ ।

मात्र चर्चाका लागि स्वतन्त्र उम्मेदवारी दिइन्छ भनेर आलोचना पनि हुने गरेको छ । यस बारेमा के भन्नुहुन्छ ?  

चर्चाको कुरा गर्ने हो भने त युट्युबमा सबैभन्दा धेरै चलेको र बार्ज ब्याटलबाटै चर्चित भएको थिएँ नि म । चर्चा त्यस्तो महत्त्वपूर्ण लाग्दैन, चर्चित भएर हुनेपनि केही होइन । हामीले गरेको नेपाल आइडलजस्तै टिभी शो पनि अहिले चर्चामै छ । गीत संगीतको काम गरेकै छु । बीस–पच्चीसवटा देश घुमेर चर्चा त कमाएकै हो । चर्चाकै लागि मात्र चुनावमा उठ्न लागेको हैन भन्ने कुरा यसले नै पुष्टि गर्छ । 

स्वतन्त्र उम्मेदवारी दिनेहरूको चुनाव जित्ने आधार बलियो त देखिँदैन नि ? चुनाव जित्ने कुरामा कसरी विश्वस्त हुनुहुन्छ ?

राजनीतिक दलहरू जनतामा कसरी छिरेका छन्, कसरी कब्जा गरेका छन् भन्दा पनि मेरा साथीभाइ जोड्दा नै काठमाडौँ महानगरपालिकामा आठ दश हजार पुग्छन् । १२ वर्षदेखि जनचेतना, मानसिक स्वास्थ्य, राजनीतिक स्थिरताका बारेमा हामीले जुन गीत गाइरहेका छौँ, त्यसले नै धेरैको मनमस्तिष्कमा पसिसकेका छौँ । त्यसैले जनमत लिन हामीलाई गाह्रो छैन । जनताको घरदैलोमा जाँदा पनि हामीलाई नेता आयो भन्दा पनि ल बालेन आयो भन्ने कुरा हुन्छ । हामीले गरिरहेका काम मन पराउनुभएको छ, हाम्रो भिजन मनपराई रहनुभएको छ । स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार निर्माण लगायतका कामको हाम्रो भिजन मानिसहरूले मन पराउनुभएको छ । हामीले विगतमा गरेका राम्रा कामहरू कतिपय मानिसलाई थाहा छ, कतिपयलाई भनिरहेका पनि छौँ । हामीले गरेको र गर्ने कामहरूको आधारमा नै जनताले मत दिन्छन् भन्ने विश्वास छ । 

काठमाडौँ महानगरपालिकामा ५० प्रतिशत भन्दा जनता कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् । बाँकी ५० प्रतिशत राजनीतिक पार्टीमा लागेका छन् । त्यसमा पनि ५० प्रतिशत युवाहरू र उनीहरूले पनि आफ्ना बुवाआमालाई फलानो उम्मेदवारलाईभोट हाल्न भन्छन् । सांसद र मेयरको कामको बारेमा यहाँका जनताले बुझेका छन् । सांसदको काम नीति बनाउने रहेछ, मैदानमा काम गर्ने मेयरले रहेछ, त्यसैले मेयर काम गर्ने हुनुपर्छ भन्ने काठमाडौँ महानगरका जनताले बुझेकाले मैले चुनाव जित्छु भन्ने विश्वास लागेको छ । 

स्थानीय तहको चुनाव आउन अव झन्डै ५० दिनजति बाँकी छ, चुनावी गतिविधिहरू कसरी अघि बढाइरहनुभएको छ ?  

विभिन्न चोकहरूमा समूह बनाएर कार्यक्रम गरिरहेका छौँ । स्कूल कलेजहरूमा पनि कार्यक्रम गरिरहेका छौँ । कतिपय कलेजहरूमा हामीलाई बोलाइ रहनुभएको छ । उहाँहरूसँगको भेटघाटको क्रममा हामीले हाम्रो चुनावी योजनाहरूबारे जानकारी दिइरहेका हुन्छौँ । हाम्रा अनुभव सुनाइरहेका हुन्छौँ । मानिसहरूलाई मेयर भनेको के हो ? मेयरले कसरी काम गर्छ भन्ने सन्दर्भमा पन्ध्र बीस वटा कलेजमा काम गरिसक्यौँ । ठाउँ ठाउँमा कार्यक्रम गर्ने, सञ्चार माध्यमबाट आफ्ना धारणाहरू राख्ने काम गरिरहेका छौँ । सामाजिक सञ्जालबाट पनि आफ्ना भनाई राख्ने काम गरिरहेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप