बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको चुनावी जोडघटाउ : गठबन्धन नभए काँग्रेसलाई कठिन

बुधबार, १६ चैत २०७८, ०९ : २२
बुधबार, १६ चैत २०७८

विराटनगरलगायत देशका ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको मत परिणामले आगामी संघ तथा प्रदेशको निर्वाचनबाट प्राप्त हुने दलगत अवस्थाको सामान्य चित्र देखिनेछ । त्यसैले, वैशाख ३० का लागि तोकिएको स्थानीय निर्वाचनमा विराटनगरमा कसले बाजी मार्ला ? यो चासो विराटनगरबासीमा मात्रै होइन, देशभर छ । 

विराटनगर नेपाली काँग्रेसको स्थापना कालदेखिको विरासत बोकेको महानगर हो । जसमा प्रजातान्त्रिक आन्दोलनको सुरुवातकर्ता पिताजी स्व.कृष्णप्रसाद कोइराला, उनका छोराहरु वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालादेखि हालका काँग्रेस नेता शेखर कोइरालासम्मको लिगेशी विराटनगरमा छ । यस्तै कम्युनिष्टहरूले आफ्ना नेताहरू मनमोहन अधिकारी, मदन भण्डारी, भरतमोहन अधिकारी सम्मको राजनीतिक थलोको रुपमा विराटनगरलाई चिन्दछन् । 

हालसम्म विराटनगरमा भएको स्थानीय तहको निर्वाचनमा दुई पटक कम्युनिष्टले र दुई पटक काँग्रेसले जित निकालेको छ । ०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठले चुनाव जितेका थिए । ०४८ सालको निर्वाचनमा काँग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए । यस्तै ०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल विजयी बन्दा ०७४ सालका स्थानीय तहमा भने पुनः काँग्रेसका उम्मेदवार भीम पराजुली विजयी बनेका छन् । यो तथ्यलाई हेर्दा विराटनगर जितेको काँग्रेस यस पटक गठबन्धन नगरे चुनाव जित्न कठिन छ । किनकि हालका प्रमुख पराजुलीको ५ वर्ष कामको गति चित्त बुझ्दो छैन ।

यस्तो छ मतको हिसाब किताब

विराटनगरको जनमतको हिसाव गर्दा यसअघि २०७४ सालको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई हेर्नुपर्छ । प्रमुख र उपप्रमुख पदमा गठबन्धन भएको कारण त्यसबेला वडाध्यक्षले ल्याएको मतलाई आधार मानेर विश्लेषण गर्दा सहज हुन्छ ।

०७४ सालको निर्वाचनमा छुट्टै लडेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित भइसकेको छ । यस्तै काँग्रेसबाट बागी उम्मेदवारी दिएका विराटनगर १९ नम्बर वडाका वडाध्यक्ष बद्रीनारायण सरदार पनि काँग्रेसमै समाहित भइसकेका छन् भने विराटनगर वडा नम्बर १० का वडाध्यक्ष माधव वाग्ले अहिलेसम्म स्वतन्त्र छन् ।

मत परिणामअनुसार सबै वडाध्यक्षको मत जोड्दा काँग्रेसको १६ हजार ७ सय ६६ हुन्छ । एमालेको १६ हजार २ सय १८, संघीय समाजवादी फोरमको मत १० हजार ९ सय ३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २ सय ९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४ सय ५२ रहेको छ । लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएसँगै काँग्रेसको मत अब २१ हजार ८ सय ६० पुग्छ । 

हेर्नुहोस् विराटनगरको वडागत मत परिणाम (विजयी वडा पहेँलो बक्समा)

विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार १ जनाले निर्वाचन जितेका थिए । अघिल्लो पटक काँग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो । 

त्यसबेला काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ रहेको थियो ।

आगामी निर्वाचनको मत विश्लेषण

विराटनगर महानगरपालिकामा अघिल्लो वर्षको तुलनामा १९ हजार ३ सय ८१ जना मतदाता नयाँ थपिएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना मतदाताको संख्या पुगेको छ । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ मात्र थियो । 

०७४ सालको निर्वाचनको मत परिणामलाई आधार मानेर मात्रै हिसाव किताब गर्दा पूर्ण नहुन सक्छ । किनकि त्यसयता थुप्रै पार्टीहरु मिल्ने र विभाजित हुने क्रम चलिसकेको छ भने नयाँ मतदाताको रुझानले पनि परिणाममा धेरै फेरबदल ल्याउन सक्छ । ०७४ सालको चुनावयता काँग्रेस र फोरम लोकतान्त्रिकबीच एकता भयो भने एमाले विभाजित भयो । यस्तै संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टीसँग एकता गर्दै पुनः विभाजित भइसकेको छ ।

मतको रुझान हेर्दा विराटनगरका मतदाता वामपन्थी र काँग्रेस निकट बराबरजसो छन् । ०७४ सालको निर्वाचनमा वामपन्थी मत एमाले, माओवादीको २४ हजार २ सय १९ रहेको छ भने काँग्रेस र राप्रपाको मत २६ हजार १ सय ५१ छ । यस्तै जनता समाजवादी पार्टीको मत १० हजार ९३२ रहेको छ । 

वामपन्थीहरु बीचको बेमेलले काँग्रेसलाई सहज छ । यसपटक गणनामा आउने बामपन्थी दल विराटनगरमा मात्रै तीनवटा एमाले, माओवादी र एकीकृत समाजवादी छन् । सबै वडामा संगठनहरु निर्माण गरिसकेको कारण एकीकृत समाजवादीले एमालेको लगभग ३ हजार देखि ३५ सयसम्म मत काट्न सक्ने अनुमान स्वयम् एमालेहरुले गरिरहेका छन् । समाजवादीका नेताहरु भने आफूहरुले ५ हजार बढी मत ल्याउने दाबी गर्छन् । यसकारण पनि एमालेको उम्मेदवारले चुनाव जित्ने आधार कमजोर हुने काँग्रेसको बुझाइ देखिन्छ ।

यता, नेपाली काँग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे ४ हजार मत फोरम लोकतान्त्रिकबाट थप भएपछि ढुक्क भएजस्तै छ । तर, काँग्रेसमा अहिले वडा तहदेखि नै झाँङ्गिएको देउवा र कोइराला प्यानलले एकअर्कामा भोट क्रस हुने सम्भावना रहेको धेरैको भनाइ छ । राप्रपासँग तालमेल गरेर सशक्त उम्मेदवार दिन र काँग्रेसले गठबन्धन नगरे निर्वाचन एमालेले जित्न सक्ने कतिपय विश्लेषण गर्छन् । राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले आफूहरुलाई उपमेयर दिए एमालेसँग तालमेल हुन सक्ने बताउँछन् । यद्यपि हालसम्म पार्टीले एक्लै लड्ने तयारी गरिरहेको उनको भनाइ छ । 

एमाले विराटनगरका अध्यक्ष सागर थापाले पनि एमाले एक्लै चुनाव लड्ने तयारी गरिरहेको बताउँछन् । काँग्रेस पनि चुनावी गठबन्धनको विषयमा छलफल नभएको बताउँछ । काँग्रेस विराटनगरका सभापति दीपक चापागाईंले अहिलेसम्म आफूहरु एक्लै लड्ने गरी तयारीका साथ लागिरहेको बताए । माओवादी केन्द्र, जनता समाजवादी तथा नेकपा एकीकृत समाजवादी भने गठबन्धन गरेरै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । उनीहरूले केन्द्रबाटै ठोस निर्णय आउने भन्दै कुरिरहेका छन् । 

विराटनगरका काँग्रेस निकट पत्रकार अनन्तराज न्यौपानेले मेयर भीम पराजुलीको काम गराइका कारण काँग्रेसलाई आगामी निर्वाचनमा कठिन हुने दाबी गरे । ‘पराजुलीको पर्फमेन्स राम्रो भएन, उनै उम्मेदवार हुँदा कठिन हुने नै भयो, अर्को उम्मेदवार हुँदा पनि त्यसको असर गर्छ नै,’ न्यौपानेले भने, ‘हरेक स्थानीय चुनावमा मतपरिणाम ठिक विपरीत आउने गरेको छ । यस पटक पनि त्यस्तै भयो भने अनौठो नमाने हुन्छ ।’

को–को छन् उम्मेदवार बन्ने लडाईंमा ? 

नेपाली काँग्रेसका झण्डै आधा दर्जन बढी नेताहरू विराटनगरको प्रमुख पदका मुख्य दाबेदार छन् । जसमा बहालवाला प्रमुख भीम पराजुली, विराटनगरका पूर्व प्रशासकीय अधिकृत गोपाल रेग्मी, काँग्रेसका केन्द्रीय सदस्यहरु अमृत अर्याल, डा. डिला संग्रौला, काँग्रेस मोरङका उपसभापति नागेश कोइराला र महानगरको उपप्रमुख इन्दिरा कार्की रहेका छन् ।

एमालेबाट विराटनगरको प्रमुखका लागि पूर्वमन्त्री लालबाबु पण्डित, जीवन घिमिरे, नेकपा एमालेका महानगर कमिटी अध्यक्ष सागर थापा, एमाले मोरङका नेता बाबुराम कार्की, पूर्व कर्मचारी तारा निरौलालगायत उम्मेदवारको तयारीमा छन् । 

माओवादी केन्द्रबाट प्रदेश सदस्य भोगेन्द्र यादव, महानगर माओवादीका सचिव नमिता न्यौपानेले दाबी गरेका छन् । यस्तै जनता समाजवादी पार्टीका तर्फबाट प्रदेश सरकारका बहालवाला स्वास्थ्यमन्त्री जयराम यादव, अघिल्लो पटक मेयरमा पराजित उमेश यादव, पूर्वउपमेयर भूराज राई, जसपाका केन्द्रीय सदस्य तेजलाल कर्ण तथा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले समेत प्रमुख पदमा दाबी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप