बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा

बिहीबार, ११ असार २०८३, ०३ : ०९
बिहीबार, ११ असार २०८३

सारांश

  • स्वीट्जरल्याण्डले क्यानडालाई २-१ गोल अन्तरले पराजित गर्दै समूह 'बी' को विजेता बन्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
  • बोस्निया र हर्जगोभिनाले कतारलाई ३-१ गोल अन्तरले पराजित गरे पनि नकआउट चरणमा पुग्ने सम्भावना अन्य समूहको नतिजामा निर्भर रहेको छ ।
  • क्यानाडा ४ अंकसहित उपविजेता बन्दा कतार भने अंकविहीन हुँदै विश्वकपबाट बाहिरिएको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलहरू बिहीबार सम्पन्न भएसँगै नकआउट चरणको समीकरण रोचक बनेको छ । क्यानडालाई पराजित गर्दै स्वीट्जरल्याण्ड समूह विजेताको रूपमा अघिल्लो चरणमा प्रवेश गरेको छ भने कतारलाई स्तब्ध पारेको बोस्निया र हर्जगोभिनाको अन्तिम ३२ मा पुग्ने सम्भावना अझै जीवित रहेको छ ।

समूहको शीर्ष स्थानका लागि भएको प्रतिस्पर्धामा स्वीट्जरल्याण्डले क्यानडालाई २–१ गोल अन्तरले पन्छाएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै स्वीट्जरल्याण्डले आक्रामक लय समात्यो । ४६ औँ मिनेटमा रुबेन भर्गासले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ५७ औँ मिनेटमा जोहान मान्जाम्बीले अग्रता दोब्बर पारे । क्यानडाका लागि ७६ औँ मिनेटमा प्रमिस डेभिडले एक गोल फर्काए पनि टोलीलाई जिताउन पर्याप्त भएन । ७ अंकका साथ स्वीट्जरल्याण्ड समूह विजेता बन्यो भने हारका बाबजुद क्यानडा ४ अंकसहित उपविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्‍यो ।

qatar-vs-bosnia

अमेरिकाको सियाटल स्टेडियममा भएको अर्को खेलमा बोस्निया र हर्जगोभिनाले कतारमाथि ३–१ को सानदार जित निकाल्यो । बोस्नियाका लागि २९ औँ मिनेटमा केरीम अलाज्बेगोभिचले गोल गरे भने ३४ औँ मिनेटमा कतारका सुल्तान अल–बराकले आत्मघाती गोल गर्दा बोस्नियाले २–० को सहज अग्रता लियो । ४२ औँ मिनेटमा कतारका हसन अल–हैदोसले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि ८० औँ मिनेटमा बोस्नियाका एर्मिन महमिचले तेस्रो गोल गर्दै कतारको सबै आशा समाप्त पारिदिए । यो हारसँगै कतार जारी विश्वकपबाट कुनै पनि अंक नजोडी बाहिरिने छैटौँ टोली बनेको छ ।

अघिल्ला दुई खेलमा क्यानडासँग बराबरी र स्वीट्जरल्याण्डसँग हार बेहोरेको बोस्नियाले अन्तिम खेल जितेर ४ अंक जोडेको छ । यो जितले बोस्नियालाई समूहमा तेस्रो स्थान दिलाएको छ । ४८ टोली सहभागी यस विश्वकपको नयाँ नियमअनुसार १२ वटा समूहमध्ये उत्कृष्ट ८ वटा तेस्रो हुने टोलीहरू पनि अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश पाउनेछन् । ४ अंक र सन्तोषजनक गोल अन्तरका कारण बोस्निया ‘उत्कृष्ट ८’ भित्र परेर अघिल्लो चरण पुग्ने सम्भावना बलियो देखिएको छ । बोस्नियाको भविष्य अब अन्य समूहका खेलहरूको नतिजामा निर्भर रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप