शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश सरकारले खरिद गरेका बस भएनन् हस्तान्तरण

सोमबार, २१ चैत २०७८, १७ : ५९
सोमबार, २१ चैत २०७८

करिब एक महिना अघि मधेस प्रदेश सरकारले खरिद गरेका पाँच वटा बस विभिन्न निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदको बैठकबाट गरेको निर्णय लामो समय भइसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

मन्त्रीपरिषदको बैठक बसेको चार साता बित्दा पनि बसहरु त्यस्तै थन्किएका छन् । प्रदेश सरकारले खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई दिने निर्णय गरेको मधेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

मन्त्रीपरिषदको बैठकले  मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक÷एक वटा बस हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।  

पूर्वभौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कार्यविधि नै नबनाई मधेश प्रदेशका विभिन्न जिल्लालाई जोड्ने गरी प्रदेश परिवहन बस खरिद गरेका थिए ।

त्यतिबेला प्रदेशको वीरगन्जदेखि राजविराजसम्म संचालनका लागि खरिद गरेका पाँच वटा बस आफै सञ्चालन नगरि संघ संस्थानलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन सञ्चालन गर्ने योजना अनुसार बस खरिद गरेको थियो ।  

प्रदेश सरकारले बस सञ्चालन गर्दा खर्चिलो हुने र कर्मचारीहरुको समेत व्यवस्था गरिनुपर्ने भन्दै संघ संस्थाहरुलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । सरकारले हस्तान्तरण गर्ने भनिएका संस्थाहरुले समेत बसको माग गर्दै आएका थिए ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले भने थन्क्याएका बसहरूलाई हस्तान्तरण गर्नका लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।  

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दिपक दासले बस हस्तान्तरण बारे सोमबार बैठक बसेर प्रक्रिया अघि बढाएको जानकारी दिए । सचिव दासले प्रदेश सरकारले खरिद गरी ल्याएको बस टर्म अनुसार हस्तान्तरणका लागि प्रक्रिया अघि बढिसकेको बताए ।  

सचिव दासले भने, ‘मधेश प्रदेश सरकारले हस्तान्तरण गर्ने निर्णय अनुसार नै प्रक्रिया अघि बढाइसकेको छ, यसका लागि सम्बन्धित निकायसँग बैठक समेत बस्दै छौँ, सो निकायको सम्बन्धमा र बसको टर्मिनल कण्डिसन अवस्थाबारे समेत जानकारी लिएर पायक पर्ने गरी हस्तान्तरण गरिने छ ।’

मधेश सरकारबाट बस पाउने लिस्टमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छन् । प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले बल्ल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रारुप ग्रहण गरेको अवस्था रहेकाले अब छिट्टै नै सरकारबाट प्राप्त गरेको बस लिनका लागि प्रक्रिया अघि बढिसकेको बताए ।

पूर्व भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशवासीलाई सहज, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने भन्दै हतार हतारमा ०७७ सालको धनतेरस दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा कार्यविधि विना नै हतारमा ५ वटा बस खरिद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप