बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

साझाको तीन वटा बिजुली बस तातोपानी भन्सारमा, थप ३७ वटा साउन मसान्तभित्र आउने

सोमबार, ०५ वैशाख २०७९, १३ : ३९
सोमबार, ०५ वैशाख २०७९

साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी भन्सारमा आइपुगेको छ । हालैमात्र कम्पनीले सार्वजनिक टेन्डरमार्फत खरिद गर्न लागेको कुल ४० वटा विद्युतीय बसमध्ये पहिलो चरणमा तीन वटा बस आएको हो । थप ३७ वटा बस भने यही साउन मसान्तभित्र नेपाल आइसक्ने साझा यातायातका महानिर्देशक महेन्द्राराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

गत वैशाख २०७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन साझालाई परिपत्र गरेको थियो । यसलगत्तै पहिलो चरणमा ४० वटा बस खरिदका लागि सार्वजनिक टेन्डर गरेको साझाले चैतभित्रै तीन वटा बस ल्याएको छ । 

गाडीको क्षमता, स्पेसिफिकेशन तथा तोकिएको मापदण्ड बमोजिम गरिएको टेन्डरमा चिनियाँ अटोमोबाइल्स कम्पनी ‘सीएचटीसी नान्जिङ अटोमोटिभ कम्पनी, चाइना छनोटमा परेको थियो । सोही कम्पनीले निर्माण गरेको तीन वटा विद्युतीय बस अहिले तातोपानी भन्सार कार्यालय आइपुगेको महानिर्देशक पाण्डेले बताए ।

‘कुल ४० वटा विद्युतीय बस मध्ये तीन वटा बस तातोपानी बोर्डमा आइसकेको छ । भन्सारीकरणकै चरणमा रहेका उक्त बस अबको केही दिनभित्रै काठमाडौं आइपुग्नेछ,’ पाण्डेले भने, ‘बाँकी ३७ वटा बस पनि आउँदो साउनभित्र नेपाल आइसक्नेछ ।’

​महानिर्देशक पाण्डेका अनुसार आउँदै गरेको तीन वटा विद्युतीय बस पूर्ण अपाङ्गमैत्रीसहित २५ सिट क्षमताका छन् भने बसमा १६० किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ । दुईवटा ढोका र सीसीटीभीयुक्त विद्युतीय बस निकै आरामदायी समेत छ । 

तातोपानी नाकामा आइसकेका तीन वटासहित बाँकी आउँदै गरेको ३७ वटा बसको स्पेसिफिकेशन समेत सोही परिमाणमा हुने पाण्डेले बताए ।

चिनियाँ कम्पनी ‘सीएचटीसी नान्जिङ अटोमोटिभले बनाउँदै गरेको बसको लागत बोर्डरसम्म प्रतिबस एक करोड १५ लाख रुपैयाँ छ । त्यसमा भन्सार शुल्क, दर्ता, सडक दस्तुर तथा बीमा गरी बसको अन्तिम मूल्य निर्धारण हुनेछ । कुल ४० वटा विद्युतीय बस खरिदका लागि साझाले एक अर्ब रुपैयाँ छुट्याएको छ । 

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सरकारले ३०० वटा विद्युतीय बस खरिद गर्नका लागि साझालाई सेयर लगानी स्वरुप ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । बीचमा विभिन्न कारण देखाएर विद्युतीय बस खरिद प्रक्रिया साझासँग खोसेर होल्ड गरेको सरकारले पुनः सो जिम्मेवारी साझालाई नै दिएको हो । 

आउँदै गरेको विद्युतीय बसको बागमती अञ्चल, यातायात कार्यालय, एकान्तकुनाका प्राविधिक टोलीबाट परिक्षण गरिने र सबै ठीक भए तत्काल दर्ता गरेर सञ्चालन गरिने पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप