सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी

सोमबार, ०८ असार २०८३, ०२ : ५१
सोमबार, ०८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को समूह 'जी' अन्तर्गत सोमबार बिहान भएको खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
  • खेलको २७ औँ मिनेटमा इरानले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले 'अफसाइड' घोषित गरिदिएपछि अग्रता लिने अवसर गुमेको थियो ।
  • बेल्जियमका डिफेन्डर नाथन एनगोयले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको बेल्जियमले बाँकी समय रक्षात्मक खेल खेल्दै इरानको आक्रमणलाई विफल तुल्यायो ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गत सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले केही सुनौला अवसरहरू सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल ०–० को नतिजामा टुङ्गिएको हो ।

खेलको २७ औँ मिनेटमा इरानले गोल गर्दै रंगशालामा रहेका आफ्ना समर्थकहरूलाई उत्सव मनाउने मौका दिएको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई ‘अफसाइड’ घोषित गरिदिएपछि इरानको अग्रता लिने अवसर गुमेको थियो ।

दोस्रो हाफमा खेल थप तनावपूर्ण बन्यो । ६७ औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथन एनगोयले रातो कार्ड पाएपछि बेल्जियम १० खेलाडीमा सीमित हुन पुग्यो । १० खेलाडीमा झरेपछि दबाबमा परेको बेल्जियमले बाँकी समय रक्षात्मक खेल खेल्दै इरानको आक्रमणलाई विफल तुल्यायो । इरानले सङ्ख्यात्मक फाइदा उठाउँदै गोल गर्ने प्रयास गरे पनि बेल्जियमको मजबुत रक्षापंक्ति तोड्न सकेन ।

यो बराबरीसँगै दुवै टोलीले २–२ खेलबाट समान २–२ अंक जोडेका छन् । यसअघि बेल्जियमले इजिप्टसँग १–१ र इरानले न्युजिल्यान्डसँग २–२ गोलको बराबरी खेलेका थिए । समूहका सबै टोलीको अंक बराबर जस्तै रहेकाले अब समूहको अन्तिम खेल नकआउट चरण प्रवेशका लागि निकै निर्णायक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप