सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा प्रमुखको लागि एमालेबाट १० जनाको नाम सिफारिस

१ सय ६५ मध्ये ६० वडाध्यक्षको नाम सर्वसम्मत
मङ्गलबार, ०६ वैशाख २०७९, ०८ : ४४
मङ्गलबार, ०६ वैशाख २०७९

शारदा पोखरेल/बारा 

जीतपुर सिमरा उपमहानगरको प्रमुखका लागि सहमति जुटाउन नसकेपछि १० जना आकाङ्क्षीहरूको नाम जिल्ला कार्यसमिति मार्फत केन्द्रमा पठाइएको नेकपा एमालेको नगर कमिटीले जनाएको छ । नगरप्रमुखका लागि हालकी उपप्रमुख सरस्वतीदेवी चौधरी,मनोज पौडेल, कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिलकुमार मैनाली, महादेव चौधरी, प्रह्लाद साह,राधेश्याम शिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस भएको छ ।

त्यस्तै जीतपुर सिमराको उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष भोला अधिकारीले जनाएका छन् । उपप्रमुखमा भोला अधिकारी, रेनु रिमाल, अशोक लामा, कमला घिमिरे र सरिता चौधरीको नाम सिफारिस भएको छ । नगर कमिटीले एमाले जिल्ला अध्यक्ष विनोद साह मार्फत जिल्ला कार्य समितिलाई सिफारिस पठाएको हो । केन्द्रले उम्मेदवारको नाम सकेसम्म स्थानीय तहबाटै सहमति जुटाएर पठाउन निर्देशन दिए पनि दाबेदारहरू पछि हट्न तयार नभएपछि १० जना प्रमुख तथा ५ जना उपप्रमुखको नाम सिफारिस गरेर जिल्ला कार्यसमिति मार्फत केन्द्र पठाइसकेको अधिकारीले जनाए । 

वडाध्यक्षहरूको हकमा भने छलफलको माध्यमबाट वडा कमिटीबाटै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेर विवादरहित ढङ्गले काम भइरहेको जनाए । जीतपुर सिमराको २४ ओटा वडा मध्ये ८ वटा वडाको सोमबार साँझसम्म सहमतिमा नामावली टुंगिसकेको र बाँकी वडामा पनि मंगलबारसम्म टुङ्गो लागिसक्ने जनाइएको छ । ‘सहमति हुन नसकेको वडामा २ जना पुरुष र १ जना महिलाको नाम सिफारिस गरेर पठाएका छौँ,’ नगर कमिटी अध्यक्ष अधिकारीले भने । 

बारामा एमालेले टुङ्गो लगायो ६० वडाध्यक्षको नाम

एमालेले बाराको १६ स्थानीय तहका १ सय ६५ वडाध्यक्ष मध्ये ६० जनाको नामावली अन्तिम टुङ्गो लगाएको छ । दुई वा सो भन्दा धेरै वडाध्यक्षका दाबेदार भएको ठाउँमा पनि छलफलको माध्यमबाट १ वडाध्यक्ष सहित ५ जना वडा पदाधिकारीहरूको टुङ्गो लगाएको हो । पूर्व खेलकुद मन्त्री तथा एमालेका केन्द्रीय सदस्य पुरुषोत्तम पौडेलले बाराको १६ ओटा पालिकामध्ये प्राय: सबै पालिकाको उम्मेदवार छनोट प्रक्रिया सकिएको बताएका छन् । ‘हाम्रो पार्टीको निर्देशित विधि अनुसार उपमहानगरको मेयर/उपमेयर केन्द्रले निर्णय गर्छ,हामीले सिफारिस गर्ने हो, त्यो सिफारिस प्रक्रिया पुरा भइसकेको छ’ केन्द्रीय सदस्य पौडेलले भने ‘नगरपालिका र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयर प्रदेशले निर्णय गर्छ, सिफारिस स्थानीय तहले गर्ने र जिल्लाले पठाउने काम फटाफट भइरहेको छ’ एमालेले जिल्ला कार्यसमिति मार्फत प्रदेश र केन्द्रमा उम्मेदवारहरूको सिफारिस पठाउने काम मंगलवार सम्म सबै सकिने र ९ गतेसम्म अन्तिम टुङ्गो लागिसक्ने पौडेलले जनाएका छन् । ‘हाम्रो संगठन कमजोर भएको केही ठाउँमा तालमेलको प्रयास भइरहेको उम्मेदवार छनोट गरिएको छैन’ पौडेलले भने । २०७४ को निर्वाचनमा बाराको जीतपुरसिमरा र कोहल्वी उपमहानगरमा प्रमुख/उपप्रमुख एमालेले जितेको थियो भने निजगढ नगरपालिका उपप्रमुख मात्रै एमालेले जितेको हो । विगतको निर्वाचनका आधारमा बाराको उत्तरी भेगको तुलनामा दक्षिणतर्फ एमाले अत्यन्तै कमजोर देखिन्छ । केन्द्रीय सदस्य पौडेलले एमाले कमजोर भएको ठाउँमा गठबन्धन बाहिरका दलसँग तालमेल हुने जनाएका छन् । 

गठबन्धनको भोट पनि एमालेलाई आउँछ : पौडेल

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेकपा एमालेले गठबन्धनसँगको निर्वाचनमा सानदार ढङ्गले जित्ने दाबी गरेका छन् । ‘यसपटक एमाले आफ्नो शक्तिमा चुनाव लड्छ गठबन्धनसँग सानदारसँग भिड्छ र जित्छ पनि’ पौडेलले भने ‘एक्लाएक्लै लड्दा आ—आफ्नो भोटमा लडिन्छ, गठबन्धन हुँदा गठबन्धनवालाहरुको सबै भोट उनीहरूलाई जाँदैन । ती भोटहरू दायाँबायाँ हुँदा रोज्ने भनेको एमाले हुन्छ,’ केन्द्रीय सदस्य पौडेलले गठबन्धनसँग चुनाव लड्दा अवसर र चुनौती दुवै भएको बताएका छन् । ‘अहिले हामी २०७४ भन्दा धेरै राम्रो पोजिशनमा छौँ । २०७४ मा नेकपा एमाले विरुद्ध सबै एकजुट थिए । तराईमा एमालेबाट उम्मेदवारी नदिने, भोटै नदिने किसिमको वातावरण थियो । अहिले हाम्रो पार्टीमा उम्मेदवारीका निम्ति मारामारको स्थिति छ,’ उनले भने । 

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनबाट बाराको २ उपमहानगरसहित ८ ओटा पालिकामा एमालेले सहज ढङ्गले जित्ने पौडेलको दाबी छ । जीतपुर सिमरा र कलैया उपमहानगरसहित निजगढ, कोहल्वी, करैयामाई, बारागढी, आर्दशकोतवाल, पचरौता, महागढीमाई, परवानीपुर र पर्सौनी एमालेले जित्ने उनको दाबी छ । तर, २०७४ को निर्वाचनमा एमालेले जीतपुरसिमरा, कोहल्वी प्रमुख/उपप्रमुख र निजगगढमा उपप्रमुख बाहेक सबै पालिकामा पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप