शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल भिडियो : ज्ञानेन्द्र शाही भन्छन्, ‘आक्रमण भएको होइन, मोबाइल खसेको हो’

बिहीबार, ०८ वैशाख २०७९, १२ : ३३
बिहीबार, ०८ वैशाख २०७९

भ्रष्टाचार विरोधी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही विवाद र चर्चामा आइरहन्छन् । राप्रपाको कार्यसम्पादन समितिमा रहेका उनी चुनावको मुखमा जिल्ला केन्द्रित छन् । सोही क्रममा गृह जिल्ला जुम्लामा पुगेका उनीमाथि ‘आक्रमण’ भएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल बनेको छ ।

बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल प्रहार भएको उक्त भिडियोमा भनिएको छ । जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आलोचना गर्दै भ्रष्टहरूलाई ठेगान लगाउने भन्दै चर्को भाषण गरेको सुनिन्छ ।

यति बोलिसकेपछि भीडबाट उनलाई केही वस्तु प्रहार भएको देखिन्छ । स्पष्ट नदेखिए पनि उनीमाथि मोबाइल प्रहार भएको भनिएको छ । मोबाइल भनिएको सो वस्तु शाहीको छातीमा लागेको देखिन्छ । त्यसपछि एकाएक औँला ठड्याउँदै शाहीले ‘ए समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यकर्ता दौडेर भीडतर्फ पुग्छन् । त्यसपछि तनावको माहौल भिडियोमा देखिन्छ ।

भिडियोबारे सोधिखोजी गर्दा शाहीले विरोधीहरूले भ्रम फैलाएको प्रतिक्रिया दिए । कार्यक्रममा हेरिरहेका सर्वसाधारणले छतमाथिबाट ताली पड्काउने क्रममा मोबाइल खसेर एक्कासि आफूलाई लाग्न पुगेको उनको दाबी छ । ‘ताली पड्काउँदा छतमाथिबाट मोबाइल मात्रै खसेको हो’, उनले भने, ‘कसैले हानेको होइन । बिचरा ताली पड्काउँदा खसेको छ, ममाथि किन आक्रमण हुनु ?’

उनले अगाडि थपे, ‘हाम्रो स्टेज तल थियो । घरका मान्छेहरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल खसेर लागिसकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हिर्कायो । मैले मोबाइल खसेको हो, हिर्काएको होइन भनेर त्यतिबेला भीडलाई नै भनेको थिएँ । त्यसको भिडियो पनि हामीसँग छ ।’

मोबाइल ‘खसेर’ शाहीलाई लागेका भनिएका पुरुषलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको बताइएको छ ।  यसैबीच शाहीले आफूले सर्वसाधारण भनेर आरोपीलाई छाड्न लगाएको बताए । आरोपी भनिएका व्यक्ति चन्दननाथ नगरपालिकाका सरकारी कर्मचारी भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप