शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कविताः म त्यस्तो मान्छे

शनिबार, १० वैशाख २०७९, ०६ : ३५
शनिबार, १० वैशाख २०७९

दिनले खेदारिएर
पिँढीमा बसेर
अन्धकारलाई अँगालेको मान्छे ।
क्रान्तिको तृष्णाले बिउँझेर
बन्दुकको नालमा
शान्तिको आश झुण्ड्याएर
आफ्नै खुन बग्ने
लासहरूमाथि हिँडेको मान्छे ।
ठाउँ ठाउँमा साहस विस्ट्याएर
ठाउँ ठाउँमा जिउँदो चिस्याएर
मेरो अस्थायी शक्तिको मादकताले
होश गुमाएर
आफ्नैलाई नै स्थायी चोट दिँदै
ठाउँ ठाउँमा सुन्दरता नङ्ग्याएर
आफूलाई योद्धा पुकारेको मान्छे,
क्रान्तिले बिउँझिएको म
परिवर्तनको पानीले मुख धोएको मैले,
अब सुतिरहेको छु म,
सुतेको छु,
देश सुतेको छ,
अब चैँ उठ्दिन म ।
अहँ, तागत छैन यार उठ्ने ।
मैले थाहा पाएँ
देश भन्ने कुरा काल्पनिक हो ।
मेरो सोच मेरो जन्मदर्ता हो,
मेरो सिद्धान्त मेरो नागरिकता हो
मेरो विश्लेषण क्षमता मेरो भोट ।
म दुई सिद्धान्त बीच उनिएर
पेन्डुलम बनेर
प्रेम नै सबै क्रान्तिको सुरुवात, 
अन्त्य र परिणाम हो, बिर्सेछु ।
“अन्त्यले साधनलाई औचित्य दिन्छ”
यस्तो आडम्बर बोकेर 
मैले विनाश गरेँ ।
क्रान्तिको औचित्य त्यतिखेर हुन्छ
जब त्यसले सयलाई शून्य बनाइदिन्छ
अनि पुनः नवीन अङ्कहरू लेख्ने प्रयास गर्छ ।
क्रान्तिको औचित्य त्यतिखेर हुन्छ
जब त्यसले अन्धकारलाई पारदर्शी बनाइदिन्छ
तर हामी यो क्रान्तिमा
रात र साँझको बीचमा अल्झिएका छौँ ।
मैले सोचेको मेरो देश
इन्द्रेणी थियो ।
तर आज मेरो देशको शिरमाथि
काला बादलहरूले धुम्मिएर
मेरो देशलाई अँध्यारो बनाई दिएको छ ।
मैले सोचेको मेरो देशको सगरमाथा
चम्किनेछ नित्य, हरेक दिन
तर आज यो सगरमाथा बाध्य छ,
त्यो कालो बादलमुनि
जिरो वाटको बत्ती झैँ
प्रकाश खुम्च्याएर बस्न ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप