शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

छानबिन समितिमा नै खेलाडीहरूको असन्तुष्टि, एन्फाले भन्यो–निष्पक्ष छानबिन हुन्छ

आइतबार, २५ वैशाख २०७९, १९ : ४३
आइतबार, २५ वैशाख २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक कार्यसमिति बैठक आइतबार सम्पन्न भयो । बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

छानबिन टोलीको विषयमा खेलाडीहरूले निष्पक्ष छानबिन नहुने भन्दै असन्तुष्टी जनाएका छन् । आइतबार एन्फामा १० खेलाडीले सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा रहेको टोलीले निष्पक्ष छानबिन गर्नेमा आफूहरु आशावादी नरहेको बताएका छन् । राष्ट्रिय टोलीमा आर्मीका खेलाडीहरूको बाहुल्यता भएको अवस्थमा र अल्मुताइरीले १० खेलाडीले क्याम्प छोड्ने समयमा आर्मीका केही खेलाडी पुनः बोलाउनु जस्ता विषयले सेनाकै सेवानिवृत्त व्यक्ति समितिमा हुँदा आफूहरु निष्पक्ष छानबिन हुने कुरामा विश्वस्त नभएको बताए । 

‘सेनाकै सेवानिवृत्त मेजर जनरललाई छानबिन समितिमा राखेको छ । हामी त्यो छानविन समितिले निष्पक्ष छानबिन गर्न भन्नेमा विश्वस्त छैनौं । आर्मीकै खेलाडीहरु माथिको आदेशले बन्द प्रशिक्षण छोड्ने मनसाय भएपनि टिममा अडिएर बस्नु परेको छ,’ खेलाडी अन्जन विष्ट र सुजल श्रेष्ठले भने । खेलाडीहरूले राष्ट्रिय टोलीका टिम म्यानेजर मधुसुदन उपाध्याय र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको विषयमा पनि बोलेका छन् । उनीहरुले टिम म्यानेजर र अध्यक्षले आफूहरुसँग भित्रि रुपमा कुरा गर्दा प्रशिक्षकको गल्ती देखाउने र बाहिर कुरा गर्दा शान्त बस्ने गरेको बताए । 

‘अध्यक्ष र टिम म्यानेजर भित्रि रुपमा बोल्दा प्रशिक्षकको गल्ती देखाउनु हुन्छ । बाहिरी रुपमा केही बोल्न सक्नु हुन्न । हामीमाझ हाम्रो तारिफ गर्ने प्रशिक्षक नजिक भए उसकै फेबरमा जाने म्यानेजरको अवस्था छ,’ खेलाडी अनन्त तामाङले भने । खेलाडीहरूले आफूहरुले देशका लागि खेल्दा पनि अहिले कुनै कदर नगरको बताए । उनीहरुले केही समय आएको प्रशिक्षकलाई काखा राख्दै उनको मात्र कुरा सुन्नुले आफूहरुको कदर नै नभएको जस्तो लागेको खेलाडी विशाल राईले बताए । ‘हामीले देशका लागि लामो खेलेका छौं । अहिले आएर त्यसको कदर नभएको जस्तो लाग्छ । हाम्रो कुरा सुन्ने अवस्थमा एन्फा छ जस्तो मलाई लाग्दैन । हामीले खेलाडीको गल्ती भएपनि कारवाही गर्न माग गरेका छौं । तै पनि एन्फा मौन छ,’ राईले भने । 

यता एन्फाले राणाको संयोजकत्वमा रहेको टोलीले निष्पक्ष छानबिन गर्ने कुरामा आफूहरु विश्वस्त रहेको बताएका छन् । सात दिनको समय दिएका हुनाले यसको निकर्ष छिटै आउने एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । 
‘एन्फाले खेलाडीहरूको माग अनुसार नै एक सदस्यीयबाट बढाएर तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । यसले दुबै पक्षको विषयमा छानबिन गरेर छिटै निचोड निकाल्ने छ । छानबिन निष्पक्ष हुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ तुलाधरले रातोपाटीसँगको कुराकानीमा भने । 

तुलाधरले पूर्व खेलाडी र खेलाडी संघकै व्यक्तिहरुलाई छानबिन समितिमा राखेको हुनाले खेलाडीको मागलाई नै सम्बोधन गरेजस्तो आफूहरुलाई महसुस भएको बताए । उनले आफूहरु खेलाडीको हक र हितका लागि नै लागि परेको हुनाले सत्यतथ्य छिटै बाहिर निस्कने बताए । ‘पूर्व खेलाडी र खेलाडी संघकै व्यक्ति छानविन समितिमा राखेका छौं । हामी खेलाडीहरुकै हक हितका लागि सोच्ने हौ । सत्यतथ्य छिटै बाहिर आउने छ । यो विषयको निचोड छिटै निस्कनेछ,’ उनले भने ।

एन्फको आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको  कार्यसमिति बैठक पूर्व नेपाली अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा पूर्व नेपाली अन्तर्राष्ट्रिय खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको छानबिन टोली टोली गठन गरेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । छानबिन समितिले सात दिनभित्र सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप