किसानका दुःख : न मल छ, न पानी
मध्यान्हको चर्काे घाममा दाङको राप्ती गाउँपालिका–५, सिसनियाका रामभजन चौधरीका परिवारका धानको ब्याड काढ्न व्यस्त छन् । काढेको आधा ब्याड घामले सुकेर पहेँलो भएका छन् भने आधा काढ्ने तयारीमा छन् ।
चौधरीले आधाजसो खेत मल बिना रोपाइ भ्याइसकेका छन् । मल आउँछ कि भन्ने आशै आशमा उनको धान रोपाइँ भ्याइन लागिसकेको छ । तर उनले अझै मल पाएका छैनन् । यो बाध्यता चौधरीको मात्र होइन । धान रोपाइँको चटारोले छोएका दाङ देउखुरीका सबै किसानको साझा बाध्यता हो यो ।
मानो रोपेर मुरी फलाउने आशमा किसान खेतमा धान रोपाइँका लागि भ्याई–नभ्याईमा छन् । तर खेती गर्न रासायनिक मल नपाउँदा यस वर्ष धान उब्जनी हुँदैन कि भन्ने चिन्ताले उनीहरुलाई पिरोलिरहेको छ ।
चौधरीले भने, ‘मल छैन, त्यत्तिकै धान रोप्नु परिरहेको छ । मल पर्खिँदा पर्खिँदा खेतमा ब्याड छिपिसक्यो । काढेको ब्याड कुहिसक्यो । मल अझै आएको छैन ।’ जसका कारण बिना मल नै खेती गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । खेतीका लागि यस वर्ष मलको हाहाकार छँदैछ, ढिलो वर्षात् हुँदा पानीको पनि निकै सास्ती खेप्नु परेको उनको दुःखेसो छ ।
खेतीपातीको समयमा राज्यले रासायनिक मल आपूर्ति गर्न नसक्दा किसानलाई यस वर्ष कसरी गुजारा चलाउने भन्ने चिन्ताले पिरोलेको छ । न मल, न प्रशस्त पानी, जसोतसो खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले वर्ष दिनको जोहो कसरी टार्ने भन्ने चिन्तामा छन् उनी ।
उनले थपे, ‘मल नहालेको धान फल्दैन । धान नफले परिवारको गर्जाे टर्दैन ।’
उनीमात्र होइन, मल अभावको पीडा देउखुरीका सबै किसानले खेपिरहेका छन् । स्थानीय मेघमान चौधरीले पनि खेतीपातीको समयमा मलको चरम अभावले चिन्तित हुनुपरेको सुनाए । उनले भने, ‘पैसा हुनेले बाहिरबाट व्यापारीसँग मल ल्याउँछन्, नहुनेले त्यसै रोपेका छौं । सरकारसँग मल छैन । व्यापारीसँग छ, त्यो हामीले किन्न सक्दैनौं ।’
दाङमा किसानलाई रासायनिक मल वितरणमा सहज व्यवस्थापनका लागि सरकारले लमही, घोराही र तुलसीपुरमा कृषि सामग्री कम्पनी लिमिटेड सञ्चालनमा ल्याएको छ । तर तीनवटै ठाउँका कार्यालयसँग रासायनिक मल छैन ।
‘व्यापारीले दिने मल महँगो छ । जो पायो उसले किन्न सक्दैन । सरकारले ल्याउन नसक्दा कतिपय किसानले व्यापारीसँग मल खरिद गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।
‘यो समस्या दाङमा मात्रै होइन । रासायनिक मलको समस्या राष्ट्रिय समस्या बनिरहेको छ । खेतीपातीको समयमा आउनुपर्ने मल किन आएको छैन भन्ने जानकारी हामीसँगै छैन,’ कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टोपराम गौतमले भने, ‘धान खेतीका लागि एक हजार टन डीएपी र १५ सय टन युरिया आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण