बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट

बुधबार, ३१ असार २०८३, १४ : ०२
बुधबार, ३१ असार २०८३

सारांश

  • नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले 'प्रि-आईपीओ' का नाममा हुने अवैध कारोबारमा संलग्न कम्पनीहरूमाथि कारबाही गरिने बताएका छन्।
  • उनले योग्य कम्पनीहरूलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिएका छन्।
  • नेपालको पुँजी बजारलाई केवल सेयर कारोबारमा मात्र सीमित नराखी ऋणपत्र, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सतर्फ पनि विस्तार गर्ने तयारी भइरहेको छ।

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आईपीओ’ का नाममा हुने अवैध कारोबारमा संलग्न कम्पनीहरूमाथि कारबाही गरिने बताएका छन्। 

बुधबार अर्थ समितिको बैठकमा ‘प्रि–आईपीओ’ का सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले त्यस्ता गतिविधिमा संलग्न कम्पनी वा व्यक्तिमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्। राज्यले अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उनको भनाइ छ।

अध्यक्ष भट्टले योग्य कम्पनीहरूलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिएका छन्। स्टार्टअपदेखि मध्यम तथा अन्य योग्य उद्योगलाई पुँजी बजारमा प्रवेश गराउने व्यवस्था विकास भइरहेको उनले स्पष्ट पारे। 

उनका अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीहरूले उच्च पारदर्शिता, कडा मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन पूरा गर्नुपर्नेछ। सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि मूल्य निर्धारण प्रक्रियालाई पनि प्रतिस्पर्धात्मक र पारदर्शी बनाइने उनले बताए। यसका लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थागत लगानीकर्ताको सहभागिता बढाएर मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी बोर्डले गरेको छ।

बैठकमा ‘प्रि–आईपीओ’ को विषयमा स्पष्ट पार्दै अध्यक्ष भट्टले भने, ‘प्रि–आईपीओको कुरा उठ्यो। कम्पनीहरूले आईपीओ आउनु अगाडि नै चलखेल गर्छन् भन्ने सुनिन्छ। प्रि–आईपीओ अवैध चिज हो। त्यस्ता चिजहरू हुनुहुँदैन। कहीँ पनि थाहा पाइयो भने हामी कारबाही गर्छौँ।’ यो कुनै वैधानिक पद्धतिअनुसार आएको पैसा नभएको स्पष्ट पार्दै उनले थपे, ‘कसैले चलखेल गरे भन्दैमा त्यस्तो चिजमा राज्य चुप लाग्न हुन्न।’

कुनै पनि योग्य कम्पनीहरूलाई आईपीओका लागि अनुमति दिने गरिएको उल्लेख गर्दै अध्यक्ष भट्टले कर्पोरेट सेक्टरका लागि तीन किसिमको मेकानिजम बनाइएको जानकारी दिए। स्टार्टअपलाई फाइनान्सिङ दिने प्रवृत्तिको विकास गर्न र साना तथा मध्यम खालका उद्योगहरूलाई क्यापिटल मार्केटमा पहुँच दिलाउन बोर्डले योजना ल्याएको उनको भनाइ छ। उनले भने, ‘कुनै पनि कर्पोरेटले पुँजी बजारबाट फन्डिङ पाओस् भन्ने विषयमा हामीले अहिले पूरा योजनाहरू ल्याएका छौँ। त्यसमध्ये स्टार्टअपहरू पनि पर्छन् र एसएमईको प्लेटफर्महरू पनि दिन्छौँ।’ 

आईपीओमा जाने कम्पनीहरू योग्य र पारदर्शी हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सामान्य लगानीकर्ताले तिनीहरूमा लगानी गर्ने भएको हुनाले तिनीहरूलाई अझ स्ट्यान्डर्डहरू राखेर पारदर्शी बनाएर तिनीहरूले ल्याउने प्राइसहरूमा पनि पर्याप्त कम्पिटिसन गराउने हामीले योजना बनाएका छौँ। तेस्रो हामी उपकरणको पनि विविधीकरण गर्छौँ।’

नेपालको पुँजी बजारलाई केवल सेयर कारोबारमा मात्र सीमित नराखी ऋणपत्र, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सतर्फ पनि विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष भट्टले बताए। सेयरमुखी बनिरहेको क्यापिटल मार्केटलाई अब ऋणपत्रमुखी बजारतिर लैजाने कोसिस भइरहेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप