मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश १ : भू–उपयोगमा धनकुटा अब्बल, सुनसरीमा छन् धेरै किसान

शुक्रबार, २४ असार २०७९, ०६ : ५९
शुक्रबार, २४ असार २०७९

प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्ला धनकुटा रहेको तथ्यांकमा उल्लेख छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्याङ्क अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गर्दा सबैभन्दा कम भने ओखलढुङ्गाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ । 

धनकुटाका कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल मात्रै छ । जसमा ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ । उता ओखलढुङ्गाको ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको भएपनि उपयोग भने २३ हजार ८ सय ७० हेक्टर मात्रै गरिएको छ । 

धनकुटापछि खेतीयोग्य जग्गा उपयोग गर्ने जिल्लामा संखुवासभा रहेको छ । संखुवासभाले कूल खेतीयोग्य जग्गा ३१ हजार ५ सय ९६ (९६.८५ प्रतिशत) उपयोग गरेको छ । यस्तै मोरङले ९२, उदयपुरले ९१.५९, भोजपुरले ९१.३९ प्रतिशत खेतीयोग्य जग्गाको उपयोग गरेका छन् । झापाले ९१.१७, सुनसरीले ९०.९५, इलामले ९०, सोलुखुम्बुले ८९.५८, पाँचथरले ८६.०७, ताप्लेजुङले ८१.६७ र तेह्रथुमले ८१.६२ प्रतिशत खेतीयोग्य जग्गा उपयोग गरेका छन् । 

प्रदेश १ मा रहेको कूल क्षेत्रफल २५ लाख ९० हजार ५ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा ३१ दशमलव ९१ अर्थात् ८ लाख २६ हजार ६ सय ४६ रहेको छ । उक्त खेतीयोग्य जग्गाको उपयोग भने ७ लाख १४ हजार ३ सय ८४ अर्थात् ८६ दशमलव ४२ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ । 

सबैभन्दा धेरै किसान सुनसरीमा
सोही तथ्याङ्क अनुसार इलामका किसान धेरै काम गर्छन् । ६३ हजार २ सय ९७ हेक्टर क्षेत्रफलमा खेती गर्न इलाममा ६४ हजार ५ सय २ कृषक परिवार संलग्न छन् । तर, धनकुटामा भने ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि इलामका भन्दा बढी ६७ हजार कृषक परिवार संख्या संलग्न छन् । 

यता, प्रदेश १ का १४ जिल्लामध्ये सबैभन्दा धेरै कृषक परिवार संख्या भएको जिल्ला सुनसरी हो । सुनसरीको ७४ हजार ३ सय ५३ हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि १ लाख २८ हजार १ सय ५५ किसान परिवार संलग्न छन् । 

सबैभन्दा धेरै खेतीयोग्य जमिन भने मोरङमा रहेको छ । मोरङमा १ लाख ७ हजार ५ सय ९९ हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य छ । उक्त जग्गामा खेतीका लागि ८९ हजार २ सय ३४ किसान परिवार संलग्न छन् । तुलनात्मक रुपमा सुनसरीका किसान भन्दा मोरङका किसानले बढी काम गरेको देखिन्छ । यस्तै झापाको ९० हजार हेक्टर खेतीयोग्य जग्गामा खेती हुन्छ । जसमा १ लाख २२ हजार ३५६ किसान परिवारको संलग्नता रहेको सोही तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम खेतीयोग्य जग्गा रहेको जिल्ला भनेको ताप्लेजुङ हो । ताप्लेजुङमा जम्मा २२ हजार ५ सय हेक्टर क्षेत्रफल मात्रै खेती योग्य जग्गा उपयोग भएको छ । जसमा २४ हजार ५ सय २१ कृषक परिवार खेतीमा संलग्न छन् । त्यसपछि कम खेती हुने जिल्ला ओखलढुङ्गाको २३ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा खेती गर्न २५ हजार ९ सय ७३ कृषक परिवार संलग्न छन् । 

यस्तै सबैभन्दा कम परिवार संख्या खेतीमा संलग्न भएको जिल्ला भनेको तेह्रथुम हो । तेह्रथुमको ३० हजार ४ सय २८ हेक्टर क्षेत्रफलमा खेती गर्न १९ हजार ८८४ किसान परिवार संलग्न रहेको तथ्यांकमा उल्लेख छ । प्रदेश १ मा ७ लाख १४ हजार ३ सय ८४ हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि ७ लाख ७९ हजार २ सय ६८ किसान परिवार संलग्न छन् । प्रदेश १ को झापा, मोरङ र सुनसरीलाई खाद्यान्न उत्पादनको भण्डार मानिन्छ । प्रदेश १ मा जम्मा वार्षिक खानयोग्य खाद्यान्न १६ लाख ११ हजार ५ सय १ दशमलव शून्य ४ मेट्रिक टन उत्पादन हुन्छ । तथ्यांक अनुसार यो प्रदेश १ का १४ जिल्लाको आवश्यकता ९ लाख ५० हजार १ सय ६९ मेट्रिक टन खाद्यान्न भन्दा ६ लाख ६१ हजार ३ सय ३२ मेट्रिक टन बढी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप