शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार, हत्याजस्ता अपराध प्रदेश १ मा सर्वाधिक

चोरी सम्बन्धी घटना मधेस प्रदेशमा बढी
आइतबार, ०८ साउन २०७९, ०६ : ०७
आइतबार, ०८ साउन २०७९

काठमाडौँ । गत वर्ष साउनदेखि जेठसम्मको अवधिमा देशभर ज्यानसम्बन्धी कसुरका ७ हजार ४०३, बलात्कारका २ हजार १३८ घटना प्रहरीमा दर्ता भएको छ । सो अवधिमा देशभर कर्तव्य ज्यानको ५४८, ज्यान मार्ने उद्योगका ९६२ घटना भएको प्रहरीले जनाएको छ ।

२०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र काठमाडौँ उपत्यकामा गरी कर्तव्य ज्यानसम्बन्धी ५४८ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कर्तव्य ज्यानका घटना प्रदेश १ मा सबैभन्दा धेरै भएको पाइएको छ । गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका छन् । यस्तै, मधेस प्रदेशमा १०४, लुम्बिनीमा ९८ र काठमाडौँ उपत्यकामा ४२ जनाको हत्या भएको छ । यसै गरी बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदूरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको छ ।

हत्यामा संलग्न आरोपितमध्ये अधिकांश कानुनी दायरामा आएका छन् । थोरै सङ्ख्यामा फरार आरोपितको खोजी हुनुका साथै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए ।

सो अवधिमा ९६२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् । भवितव्यमा परेर ४ हजार १५२ जनाले ज्यान गुमाएका छन् । गत वर्ष साउनदेखि जेठसम्म एक हजार ५२२ वटा फुटकर ज्यान सम्बन्धी घटना भएका छन् । बेवारिसे अवस्थामा भेटिएका र पहिचान नखुलेका घटनालाई प्रहरीले फुटकर ज्यान सम्बन्धी घटना भन्ने गरेको छ । ११ महिनामा प्रहरीले गर्भ संरक्षणविरुद्ध कसुर गर्ने ३३ जनालाई मुद्दा चलाएको छ । 

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार ११ महिनामा ७ हजार ४०३ जनाले ज्यान सम्बन्धी कसुरका कारण ज्यान गुमाएका छन् । गाई, गोरु मारेको १६ वटा घटनामा प्रहरीले कानुनी कारबाही गरेको छ ।

समीक्षा अवधिमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झुण्डिएर सबैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ४ हजार ९५० जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता राईले रातोपाटीलाई बताए ।

प्रदेश–१ मा सबैभन्दा धेरै एक हजार १७४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा ९०६ जना र काठमाडौँ उपत्यकामा ३४८ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार विष खाएर ८९७ जनाले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या गर्नेमा मधेस प्रदेशमा सबैभन्दा धेरै अर्थात् १६१ जना छन् ।

आगो लगाएर १३ जना, हाम फालेर ३८ जना, हात–हतियारको प्रयोग गरेर १७ जना र पानीमा हाम फालेर २८ जनाले आत्महत्या गरेका छन् ।

२ हजार ८३६ ठाउँमा चोरी

गएको आर्थिक वर्षको ११ महिनामा प्रहरीका युनिटहरूमा २ हजार ८३६ वटा चोरीका मुद्दा दर्ता भएका छन् । चोरी सम्बन्धी घटना मधेस प्रदेशमा सर्वाधिक पाइएको छ । मधेस प्रदेशमा समीक्षा अवधिमा चोरी सम्बन्धी ६२१ घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

सो अवधिमा मधेस प्रदेश र काठमाडौँ उपत्यकामा ३०÷३० वटा डाँकाचोरीका घटना भएका छन् । यस्तै, बागमती प्रदेशमा ३३ त्यस्ता घटना भएका छन् । लुम्बिनी प्रदेशमा ४ वटा र कर्णालीमा एउटा जबरजस्ती चोरीका घटना भएका छन् । लुम्बिनी र सुदूरपश्चिममा एक–एक ठाउँमा पुरातात्विक सामान चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

देशभर १०६ ठाउँमा नकवजनी चोरी, २ हजार २९३ ठाउँमा साधारण चोरी र २५८ वटा सवारी साधन चोरीका घटना भएका छन् ।

संगठित अपराध

प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षको ११ महिनामा ४ हजार ९५७ वटा संगठित अपराधका घटना भएका छन् । संगठित रूपमा मुद्रा सम्बन्धी कसुरका ४९ वटा मुद्दा दर्ता भएका छन् । जुवा तथा सट्टेबाजी सम्बन्धी ४०७ वटा मुद्दा प्रहरी युनिटहरूमा दर्ता भएर कानुनी कारबाही अघि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संगठित रूपमा लागु औषध कारोबारको तथ्याङ्क डरलाग्दो छ । ११ महिनामा ३ हजार ४४४ वटा संगठित रूपमा लागु औषध कारोबार गर्ने समूहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा देखिन्छ ।

समीक्षा अवधिमा अपहरण तथा शरीर बन्धक सम्बन्धी १११ वटा र हातहतियार तथा खरखजानासँग सम्बन्धित १८६ वटा घटना भएका छन् । सो अवधिमा सामाजिक अपराध सम्बन्धी घटना देशभर ९ हजार १९ वटा भएका छन् । सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक हित र नैतिकता विरुद्धको कसुर, कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुर र अपमानजनक व्यवहारलाई पनि प्रहरीले सामाजिक अपराध सम्बन्धी कसुरमा मुद्दा चलाउने गरेको छ ।

सामान्य विवादमा पक्राउ परेकालाई पनि प्रहरीले सामाजिक अपराध सम्बन्धी कसुरमा प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर थुनामा राख्ने गरेको छ । कतिपय अवस्थामा प्रहरी अधिकृतहरूले राज्यशक्तिको आडमा सामाजिक अपराधको दुरुपयोग गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ ।

जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्नुअघि पनि प्रहरीले धेरै आरोपितलाई सामाजिक अपराध गरेको कसुरमा थुनामा राख्ने गरेको छ ।

२ हजार १३८ जना बलात्कृत

२०७८ साउनदेखि २०७९ जेठसम्ममा २ हजार १३८ जना बलात्कृत भएका छन् । काठमाडौँ उपत्यकामा २९४ वटा बलात्कारका घटना भएका छन् । प्रदेश–१ मा सबैभन्दा धेरै ४५८ वटा बलात्कारका घटना भएका छन् ।

सो अवधिमा ५९३ वटा बलात्कार उद्योगका घटना भएका छन् । १२१ वटा मानव बेचबिखन सम्बन्धी अपराध भएका छन् । बहुविवाह, बालविवाह, बाल यौन दुराचारजस्ता महिला तथा बालबालिका सम्बन्धी अपराधमा ३ हजार ९७९ वटा मुद्दा दर्ता गरेर अनुसन्धान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप