‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’

समाचार सारांश
- विराटनगरका मेयर इजरायल भ्रमणमा गएका बेला इरान-इजरायल द्वन्द्व बढेपछि स्वदेश फिर्ती अनिश्चित भएको छ।
- मेयर कोइरालाले इजरायलमा मिसाइल आक्रमणको प्रत्यक्ष अनुभव गरेको र बंकरमा आश्रय लिइरहेको बताए।
- इजरायलमा रहेका नेपालीहरुको अवस्था र फर्किने योजनाबारे मेयर कोइरालाले जानकारी दिए।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला हाल अवलोकन भ्रमणका लागि इजरायल पुगेका छन् । तर, उनी गएकै समयमा इरान–इजरायल तनाव बढेसँगै जुन २० (असार ६) मा स्वदेश फर्किने योजना अनिश्चित बनेको छ ।
युद्धका कारण विमान सेवा प्रभावित भएसँगै उनको नेपाली फिर्तीको तालिका पनि प्रभावित हुने भएको हो । उनै कोइरालासँग विराटनगरस्थित रातोपाटी संवाददाता अर्जुन आचार्यले सम्पर्क गरेर कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंश–
- प्रमुखज्यू इजरायलको स्थिति कस्तो पाउनु भएको छ ?
भनेर साध्य छैन । फिल्ममा मात्र बम देखेको पड्केको, आफूले त पटका पड्केको मात्रै देखेको थिएँ, यहाँ त प्रत्यक्ष मिसाइल पड्केको देखियो ।
- अहिले तपाईं त्यहाँ कसरी बसिरहनु भएको छ ?
यहाँ मोबाइलमा सफ्टवेयर हालेको हुँदो रहेछ । हरेक बिल्डिङको माथि साइरन बज्ने र बम आउन लाग्यो भनेपछि ठुलो साइरन बज्ने रहेछ । बम आउन लाग्यो तयारी बस है भनेर प्रहरीले भन्छ । त्यसपछि सबै तयार भएर बस्ने । जब एम्बुलेन्सको जस्तो साइरन बज्छ, त्यतिखेर चाहिँ बंकरभित्र छिर्ने हो । त्यो डेढ मिनेटभित्र छिरिसक्नुपर्दो रहेछ । डेढ मिनेटमा छिरिसकेपछि बंकरमा खानेकुरा सबै व्यवस्थित हुने रहेछ । सुत्ने, खाने, एसी, डिसी...सब छ । उनीहरूले १० मिनेट, १५ मिनेट भएपछि चाहिँ अब सहज भयो, बाहिर निस्किनु भन्छ । त्यसपछि नर्मल लाइफमा जाने हुँदो रहेछ । मैले पनि यही गरिरहेको छु ।
- एउटा बङ्करमा कति जनासम्म बस्दा रहेछन् ?
– २५ जना, ३० जना, ५० जनासम्म बसेको मैले देखेँ ।
- तपाईं अहिलेसम्म कति पटक बङ्करमा पस्नुभयो ?
– गन्नै गाह्रो छ । तीन चार दिनमा २०–२५ चोटि बसिसकेँ होला । हिजो साँझमा चाहिँ दुई–तीन चोटि गएँ ।
- इजरायल चाहिँ प्रतिरक्षा प्रणालीमा सशक्त छ भन्छन् । इरानले हानेका ती मिसाइलहरू माथि नै पड्किराखेको छ कि तल खसिरा’छ ? के हो खासमा ?
– उताबाट एकैचोटि १००–१५० वटासम्म मिसाइलहरू पठाउँदो रहेछ । प्रायः सबै निस्तेज पार्छ । तर, एउटा–दुइटा त झुक्किएर पनि झर्दो रहेछ ।
- के त्यहाँ ठुला–ठुला बिल्डिङहरू पनि ध्वस्त भएका छन् ?
– म बसेको ठाउँमा त्यस्तो छैन । म शेफाइम भन्ने ठाउँमा बसेको छु । तेल अभिभमा म छैन नि त । त्यसले गर्दा यो ठाउँ टार्गेट छैन । त्यसले गर्दा यहाँनेर आक्रमण भएको छैन ।
- तपाईंको त्यहाँको भिसाको अवधि कति हो ? कहिले फर्किने ?
– मेरो भिसाको अवधि तीन महिनासम्मको समय छ । २० तारिख फर्किने भनेको थियो । अब एयरपोर्ट नखुल्दासम्म त यस्तै हो ।
- तपाईंले त्यहाँ त नेपालीहरू पनि भेट्नुभयो होला । नेपालीहरूको अवस्था चाहिँ के छ ? नेपालीहरू त्रासमा छन् कि छैनन् ?
– मैले नेपाली खासै भेटेको छैन । मैले नेपाली राजदूत धनप्रसाद पण्डितसँग चाहिँ भर्खरै भेटेको थिएँ । उहाँले जोर्डनको लागि मेरो भिसा मिलाउन कोसिस गरिराख्नुभएको छ । त्यो मिल्यो भने म जोर्डनबाट निस्किने हो । यहाँबाट चार–पाँच घण्टामा एयरपोर्ट पुगिन्छ । एयरपोर्टसम्म तपाईंलाई मेरो गाडीमा लिएर जान्छु भनेर उहाँले मलाई भन्नुभएको छ । इजरायल नेपालीहरू कति छन् भन्ने थाहा ठ्याक्कै भएन । किनभने कोही चाहिँ भिजिट भिसामा पनि आएर लुकेर बसेको बुझिन्छ । २ हजारको सङ्ख्यामा चाहिँ जीटुजीमार्फत नै आएका छन् । त्यसबाहेक चाहिँ ३००–४०० जना खेतीको लागि भनेर आएका छन् ट्रेनिङको लागि । यकिन यति जना छन् भन्ने चाहिँ जानकारी छैन । तर हाराहारी ५ हजारदेखि ७ हजार जना नेपालीहरू इजरायलमा बसिरहेका छन् भनेर राजदूतज्यूले पनि भन्नु भएको छ ।
फिलिपिन्सको, सांसदहरू पनि मेरो भ्रमण ग्रुपमा हुनुहुन्छ । अन्य चाहिँ फिलिपिन्सको पालिकाको प्रमुखहरू पनि हुनुहुन्छ, उपप्रमुखहरू पनि हुनुहुन्छ । हामी १७ जना छौँ टिममा । हामीलाई सुरक्षाको लागि १ सय जना सुरक्षाकर्मी खटाइएको छ । हामीलाई त्यस्तो त्रास हुने अथवा र डर हुने खालको वातावरण छैन ।
- त्यहाँको बजार, यातायात सबै सुचारु नै छ कि एयरपोर्ट मात्रै बन्द हो ?
यहाँ खासै बजार छैन । बाहिरको विषयमा जानकारी मलाइ भएन । तर समग्रमा बुझ्दाखेरि सबै बन्द छ जस्तो लाग्छ । एउटा युद्धको अनुभव भयो ।
- तपाईंलाई विराटनगरको चिन्ता लागेको छैन ? बजेट आउने बेला भयो नि ?
– अँ, भयो । आइहाल्छु । कथम कदाचित म आइपुगिन भने परिषद्लाई सुरु गराउनु भनेको छु । परिषद् सुरु गराएर स्थगित गर्दिनु, त्यसपछि म आएर टुङ्ग्याउँला भनेको छु । बजेटको सबै मिलाएर आएको थिएँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना