शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कल सेन्टरको काठमाडौं–बुटवल कनेक्सन : नेपालीको नाममा दर्ता, चिनियाँको लगानी

ठमेलमा कन्ट्रोल अफिस, एप्स मार्फत मिटरब्याज असुली
शुक्रबार, १३ साउन २०७९, ०७ : १३
शुक्रबार, १३ साउन २०७९

प्रहरीले केही दिन यता विभिन्न स्थानमा छापा मारेका कल सेन्टर एक अर्कासँग सम्बन्धित देखिएका छन् । कल सेन्टरको आवरणमा भारतका विभिन्न सहरमा एप्स मार्फत ऋण लगानी गरेर चर्को ब्याज असुलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र रुपन्देही प्रहरीले हालै ३ वटा कल सेन्टरमा छापा मारेको छ ।

काठमाडौं महानगरपालिका–९ गैरीगाउँ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगर र काठमाडौं–२६ ज्याठास्थित भियना होटल भएको घरमा सञ्चालित कल सेन्टरको बिचमा कनेक्सन देखिएको प्रहरीको भनाइ छ ।

गैरीगाउँ र तिलोत्तमाको कल सेन्टर नेपालीको नाममा दर्ता छ । दुवै कल सेन्टर ठमेलबाट चिनियाँ नागरिकको निर्देशनमा चलिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

गैरीगाउँमा सञ्चालित कल सेन्टर काठमाडौं महानगरपालिका–३ घर भएका विजय श्रेष्ठ, रोल्पाको थवाङ– ६ घर भएका सुविन्द्र रोका मगर र सिन्धुपाल्चोकको भोटेकोशी घर भएका पासाङ शेर्पाको नाममा दर्ता छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको रेकर्डअनुसार बुटवलको कल सेन्टर विजय श्रेष्ठ र सुविन्द्र रोका मगरको नाममा दर्ता भएको भेटिएको छ ।

कल सेन्टरको आवरणमा ठगी धन्दा चलाउनेमा तिब्बती नागरिक दावा छिरिङ पनि संलग्न देखिएका छन् । अनुसन्धान अधिकृतहरुका अनुसार छिरिङ घर भाडामा लिने र व्यवस्थापन गर्ने भूमिकामा देखिएका छन् ।

काठमाडौंको कल सेन्टर २०७७ सालमा दर्ता भएको थियो । पछि चिनियाँ नागरिक ४३ वर्षका हु युह्या सो कम्पनीको प्रबन्धकको रुपमा देखिएका छन् । चिनियाँ नागरिककै योजना अनुसार भारतमा ऋण प्रवाह गरेर ३६ प्रतिशत ब्याज असुली गर्ने गरेको प्रहरीको दाबी छ ।

२०७८ फागुनमा प्रहरीले भक्तपुर र काठमाडौंको मध्य बानेश्वरमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेको थियो । २०७९ साउन ८ मा बुटवल, साउन ९ मा काठमाडौंको गैरीगाउँ र बुधबार ठमेलमा छापा मारेर ५ चिनियाँ, ३ भारतीय नागरिक र ३४ जना नेपालीलाई पक्राउ गरेको छ ।

कसरी ठग्छन् कल सेन्टरले ?

पछिल्लो समय छापा मारिएका कार्यालयहरुलाई ‘कल सेन्टर’ भनिएको छ । तर, त्यस्ता कल सेन्टर ‘सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे सञ्चालन गर्ने’ उद्देश्यसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको पाइएको छ ।

कल सेन्टरले नेपालमा ठग्दैनन् । उनीहरुले भारतका विभिन्न सहरमा ठगी धन्दा चलाएको बताउँछन् जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली । चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरले भारतका विभिन्न सहरमा फेसबुक मार्फत विज्ञापन गर्छन् । 

विज्ञापन गर्न ९ वटाभन्दा बढी एप्स प्रयोग गर्ने गरेको एसपी मैनालीले जानकारी दिए । ती एप्स हुन्–‘उधार लोन, गो क्यास, गो लोन, रुपी प्लस, फ्ल्यास क्यास, रुपी फ्याक्ट्री, क्यास बिई, पैसा लोन र बबल लोन ।’

फेसवुकमा एप्स मार्फत ऋण लिन सकिने विज्ञापन हेरेपछि भारतीय नागरिकले ती एप्लिकेशन लगइन गर्छन् । दैनिक ५० औं हजार भारतीय नागरिकले लोनका लागि एप्लिकेशन लगइन गर्ने गरेका छन् । ऋणचाहिँ २० हजार सम्म लगानी गर्ने गरिन्छ । त्यस्तो ऋण फिर्ता गर्ने समय ७ दिनको मात्रै हुन्छ ।

एप्लिकेशनमार्फत लगानी गरेको पैसाको सावाँ र ब्याज उठाउन कल सेन्टरका कर्मचारीको प्रयोग हुन्छ । ऋणका लागि एप्लिकेशन लगइन गर्दा व्यक्तिगत रुपमा गोपनीय रहने आधार कार्ड, रासन कार्ड र परिवारको विवरण भर्नुपर्छ । ऋण लिएको छैटौं दिनदेखि कल सेन्टरका कर्मचारीले फोन गरेर पैसा फिर्ता माग्न थाल्छन् । 

ऋण दिँदा सुरुमै ३६ प्रतिशत ब्याज काटेर पठाउने र छैटौं दिनपछि कल सेन्टरका कर्मचारीले फोन गरेर गाली गर्ने, धम्क्याउने गरेको बताउँछन् जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहरा ।

डेरा खोज्दा ४ चिनियाँ फेला

अनुसन्धान अधिकृतहरु तिनकुनेस्थित स्काई वल्र्ड सर्भिस प्रालिमा भेटिएका चिनियाँ नागरिक ४३ वर्षका हु युह्याको डेरा खोज्दै थिए । एउटा क्लु आयो– डेरा ठमेलमा छ ।

सोही आधारमा प्रहरी अधिकृतहरु भियना होटल भएको घरमा गए । सो होटलको तेस्रो तलामा चिनियाँको अर्को कार्यालय भेटियो । त्यहाँ ४ जना चिनियाँ भेटिए । भियना होटलबाट पक्राउ परेका चिनियाँ नागरिकले आफ्नो नाम बताउनसमेत इन्कार गरेका छन् ।

आरोपितहरुको राहदानी पनि फेला नपरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ठमेलको कल सेन्टरबाट ४७२ थान मोबाइल, २६ थान ल्यापटप र १६ सय थान एनसेलको सिमकार्ड बरामद भएको छ । एक लाख ९० हजार बराबरको एनसेलको रिचार्ज कार्ड र २० थान स्मार्ट सेल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

बरामद उपकरण फरेन्सिक ल्याबमा

३ वटै ठाउँबाट बरामद गरेको ल्यापटप, कम्युटर र मोबाईल प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ । ल्याब रिपोर्टका आधारमा थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

 

काठमाडौंमा पक्राउ परेकालाई ‘अभद्र व्यवहार’ शीर्षकमा मुद्दा दर्ता गरिएको छ । रुपन्देहीमा पक्राउ परेका हिमाल बाठामगर र भारतीय नागरिक निरञ्जन कुमारमाथि ठगी विरुद्धको कसुरमा अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

बुटवलको कल सेन्टरबारे स्थानीय प्रहरीलाई साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले पनि सहयोग गरिरहेको छ । अनुसन्धानबाट कल सेन्टरका कामदारहरुले ऋण तिर्न आनाकानी गर्ने भारतीयको फोटो मोस्र्टड (अर्काको फोटोमा जोडेर) सामाजिक सञ्जालमा अपलोड गरेको भेटिएको छ । कल सेन्टरका कर्मचारीले ऋण तिर्न नमान्नेहरुको फोटोमा नाङ्गो फोटो जोडेर सामाजिक संजालमार्फत बद्नाम गर्ने र हैरानी दिने गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

ऋण लिने बेला एप्लिकेशन मार्फत पेस गरेको विवरणका आधारमा ऋणी र उनका परिवारविरुद्ध विभिन्न अपशब्द लेखेर अपलोड गर्ने र हैरानी दिने गरेको थाहा भएको छ । फोटो मोस्र्टड (अर्काको फोटोमा जोड्ने) कसुरमा अरोपितहरुलाई साइबर अपराध विरुद्धको कसुरमा पनि मुद्दा चलाउन सकिने रुपन्देहीका एसपी रेग्मीले जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप