आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा विद्युत् चुहावट सात प्रतिशत घट्यो

शुक्रबार, १३ साउन २०७९, ०९ : २९
शुक्रबार, १३ साउन २०७९

सिरहामा विद्युत् चुहावट सात प्रतिशतले घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी आएको हो । एक हजार ९७२ नयाँ ग्राहक थपिएका छन् ।  

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट घटेर २५ प्रतिशतमा झरेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा ३२ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७८/७९ मा विद्युत् चुहावट २५ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण बितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए । 

यस्तै आव २०७८/७९ मा विद्युत्को महसुल नबुझाउने एक हजार ७९४ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार ३५४ ग्राहकबाट रु पाँच करोड दुई लाख ६७ हजार बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ । त्यस्तै केन्द्रले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई पक्राउ गरी जरिवाना बापत रु १६ लाख ४१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो क्रममा ७९ विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताए । 

त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारबाही गरी रु २१ लाख १७ हजार राजस्व सङ्कलन गरिएको केन्द्रले जनाएको छ । रिकनेक्सन दस्तुर बापत रु नौ लाख ८५ हजार राजस्व सङ्कलन भएको यादवले जानकारी दिए । आव २०७८/७९ मा एक हजार नौ सय ७२ ग्राहक थपिएका छन् ।  योसँगै लहान क्षेत्रमा ग्राहकको संख्या ६५ हजार तीन सय २४ पुगेको छ । यसअघि आव २०७७/७८ वितरण केन्द्रले रु एक करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप