बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् प्रदेश १ मा माओवादी केन्द्रका २६ उम्मेदवार, १३ नयाँ अनुहार

सोमबार, २४ असोज २०७९, ०९ : ५९
सोमबार, २४ असोज २०७९

प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो ।

प्रतिनिधिसभातर्फ माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रीय सदस्य बुढाथोकी पहिलो पटक सांसदका लागि चुनावी मैदानमा होमिएका हुन् । सो क्षेत्रमा नेकपा एमालेका सचिव योगेश भट्टराई पनि उम्मेदवार छन् ।

माओवादीले झापा–२ मा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हरिकुमार रानालाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमालेले पार्टीका प्रदेश इञ्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । राना अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् । उनी पनि संघीय सांसद पदका लागि पहिलो पटक निर्वाचनमा होमिएका छन् ।

यता मोरङको क्षेत्र नं. ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डल उम्मेदवार बनेका छन् । उनीहरु दुवै यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ क्षेत्र नं. ४ मा एमाले र जसपाको गठबन्धनबाट एमालेका विनोद ढकाल र क्षेत्र नं. ५ मा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् । मोदी र मण्डलका लागि संसदीय निर्वाचन पुरानै खेल हो भने प्रतिस्पर्धी उम्मेदवारमध्ये यादवका लागि नयाँ हो । एमालेबाट उम्मेदवार बनेका ढकाल भने पटकपटक उम्मेदवार बने पनि विजयी बन्न नसकेका नेता हुन् ।

उता सुनसरीको क्षेत्र नम्बर १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमाले र जसपाको गठबन्धनबाट अशोक राईले उम्मेदवारी दिएका छन् । जसपा सत्ता गठबन्धनमै हुँदा प्रदेशसभा सदस्यका लागि तयारी गरिरहेका मेन्याङ्बोले अन्तिममा संघमै टिकट पाएका हुन् । राईको बाहुल्य रहेको सो क्षेत्रबाट निर्वाचन जित्न मेन्याङ्बोले राम्रै कसरत गर्नुपर्ने देखिएको छ । यद्यपि कांग्रेसको समर्थन गरेको र एमालेबाट उम्मेदवार नभएको अवस्थामा उनलाई केही सहज देखिन्छ ।

भोजपुरमा माओवादीले निवर्तमान सांसद सुदन किराँतीलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा नेकपा एमालेको तर्फबाट पूर्वमुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दर्ता गरेका छन् ।

खोटाङमा माओवादीले प्रदेशका बहालवाला मन्त्री रामकुमार राईलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमालेका विशाल भट्टराई उम्मेदवार बनेका छन् । सो क्षेत्रमा गठबन्धनकै घटक नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । कांग्रेसलाई मिलाउन नसकेको खण्डमा राईलाई कठिन हुने देखिएको छ ।

उता, माओवादीको भागमा परेको भनिएको सोलुखुम्बुमा भने अन्तिममा आएर प्रतिनिधिसभा कांग्रेसले र प्रदेशसभाको दुवै क्षेत्र माओवादीले लिएको छ । प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेसका बलबहादुर केसी उम्मेदवार बनेका छन् ।

यसैगरी ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १९ वटा परेको छ । पाँचथरको (ख) बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो उम्मेदवार बनेका छन् भने इलामको २(ख) बाट हर्क लावती उम्मेदवार बनेका छन् । लावती नयाँ अनुहार हुन् ।

यस्तै झापा ३ (क) बाट श्यामबीर लिम्बू, ३ (ख) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४(क) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (ख) बाट पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी उम्मेदवार बनेका छन् ।

यसैगरी मोरङ १ (क) बाट निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा, मोरङ २ (क) बाट पार्टीका प्रदेश सचिव गणेश उप्रेती, मोरङ ६(क) बाट केन्द्रीय सदस्य जीवन आचार्यले उम्मेदवारी दिएका छन् ।

सुनसरी २(क) बाट हालै एमाले छाडेर माओवादीमा प्रवेश गरेका इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् भने सुनसरी ३ (क) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेलको उम्मेदवारी दर्ता भएको छ । धनकुटा (ख) बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम (ख) बाट दुर्गा चापागाई उम्मेदवार बनेका छन् । श्रेष्ठ निवर्तमान सांसद हुन् भने चापागाई पार्टीका केन्द्रीय सदस्य हुन् ।

यसैगरी संखुवासभाबाट राजेन्द्र कार्की, सोलुखुम्बुको (क) बाट कज्र्याङ शेर्पा, सोलुखुम्बुको (ख) बाट शिवबहादुर बस्नेत, उदयपुरको १ (क) बाट नारायण बुर्जा मगर र उदयपुर २ (क) बाट राजन किराती उम्मेदवार बनेका छन् । ओखलढुंगा (ख) मा बाबुराम गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ । गौतम पनि संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप