शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरीको अन्तर्य

मङ्गलबार, २५ असोज २०७९, १३ : ५९
मङ्गलबार, २५ असोज २०७९

रेशम चौधरी छुट्ने हल्ला पिटिएको दुइ साता पहिले मात्र हो । टीकापुर मुद्दा खारेजीको समाचारले सञ्चार माध्यममा राम्रै ठाउँ ओगटेको थियो । सामाजिक सञ्जाल भरिभराउ थियो । नेपाली राजनीतिक वृत्तभन्दा थारू गाउँमा रेशम चौधरी छुट्ने चर्चाले माहौल तताएको थियो । रेशम चौधरी छुट्ने हुन् कि होइनन् भन्ने आशंकाका बीचमा पनि थारूहरूमा आशाको दीयो बलेकै थियो ।

अब रेशम चौधरी साँच्चै नै रिहा हुन्छन् त ? रिहा हुने भए  कहिले हुन्छन् ? चुनाव अघि कि चुनाव पछि ? थारूहरूलाई ललिपप देखाउनका लागि पो यो निर्णय हो कि ? के साँच्चै टीकापुरको मुद्धा खारेज हुन्छ ? थारू गाउँमा सबैभन्दा बढी चर्चा पाएको यिनै प्रश्नहरूले हुन् । 

टीकापुर नजिकको एक गाउँमा त रेशमलाई स्वागत गर्नका लागि स्वागतद्वार निर्माण गर्नै लागिएको सुनियो । यद्यपि धेरैजना आशावादी भए पनि विश्वास गरिहाल्न भने हतारो गर्दैनन् । किनभने रेशम चौधरी छुट्ने र टीकापुर मुद्धा खारेज हुने चर्चा धेरै पटक चलेको थियो । त्यो हल्ला पानीको फोकाजस्तै बिलाएर गयो । 

रेशम चौधरीलाई जेलमा कोचेको सत्तासीन पार्टीहरूले हो । तिनै पार्टीका शीर्षस्थ नेताहरू स्थानीय चुनावको बेला रेशम चौधरी निर्दोष हो, थारूहरू निर्दोष छन्, टीकापुर घटना राजनैतिक हो भन्दै कैलालीमा भाषण गरे । तर चुनाव सकिएपछि रेशमलाई बिर्से, थारूहरूलाई बिर्से, टीकापुर घटनालाई बिर्से । 

फेरि मंसीर ४ को प्रदेश र प्रतिनिधि सभा चुनाव नजिकिएपछि थारूहरूको बिचमा जाने बाटो खुल्ला राख्नका लागि मात्र ‘टीकापुर घटना खारेजी’ को हल्ला पिटाइएको बुझाइ धेरैको छ । केही समाचार माध्यमले त टीकापुर घटना खारेज गर्ने सरकारले निर्णय गर्यो समेत लेख्न भ्याए । जबकि सरकारले यस्तो कुनै निर्णय नै गरेको छैन, प्रक्रिया अगाडि बढाउने मात्र भनेको रहेछ ।
यदि सरकारले निर्णय गरेकै हो भने सरकारी निर्णय सार्वजनिक गरियोस् । 

कुनै पनि राजनीतिक पार्टीहरूले टीकापुरको घटनालाई राजनैतिक बनाउन पहल नगरेपछि रेशम चौधरीले आफ्नो श्रीमती रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा २०७८ पुस १९ गते आफ्नै नागरिक उन्मुक्ति पार्टी दर्ता गरे । पार्टी दर्ता गरेको दुई महिनामै यो पार्टीले कैलालीको चार पालिकामा अत्यधिक मत प्राप्त गरेर कैलालीको सबैभन्दा ठूलो पार्टीको रुपमा आफूलाई उभ्यायो । मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि यो पार्टीले राम्रो परिणाम ल्याउने सम्भावना प्रबल छ । 

विशेष गरी थारू गाउँहरूमा कुरा चलेको छ रेशम चौधरीलाई सरकारले छोडेन भने हामी छुटाउछौं । ढकियामा भोट दिएर रेशमलाई छुटाउँछौँ । कैलालीको बसन्ता गाउँकी एक महिलाले भनिन्, ‘यी पार्टीक् नेता कुछ काम करै चाहे ना करै, रेशम भर छुटजाइट ।’ (यो पार्टीका नेताहरूले जितेर केही गरुन् य नगरुन्, तर रेशम चाहिँ छुटुन् । ) 


अधिकांशले बुझेको कुरा के हो भने, नागरिक उन्मुक्त पार्टी अर्थात् रेशम चौधरीको पार्टीबाट धेरै भन्दा धेरै पहिचान पक्षधर नेताहरूलाई जिताएर संसद् भवनमा पठाउनु छ  । ता कि टीकापुर घटनाको छानबिन गर्न बनेको लाल आयोगको रिपोर्ट, जुन रिपोर्ट सरकारले लुकाएर राखेको छ, उक्त रिपोर्ट सार्वजनिक गराउनु छ । रिपोर्टमा रेशम चौधरीले कसैको हत्या गरेको उल्लेख छैन भन्ने थारूहरूमा विश्वास रहेको छ । त्यसैले, त्यो रिपोर्ट सार्वजनिक भएपछि सरकारले रेशम चौधरीलाई छोड्नै पर्छ । 

गाउँघरमा ढकियाको लहर देखेर उहिलेदेखि सरकारी ढुकुटीमा मोज गर्ने पार्टीहरू डराइरहेका छन् । तिनका नेताहरूको मुटु कापिसकेको छ । त्यसैले हो, नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तले रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी दिएको । २०७९ असोज २३ गते दिएको रेशम चौधरीको उम्मेदवारी पहिलो पटक दिइएको होइन । यसअघिको २०७४ को चुनावमा पनि उनले वारेसनामामार्फत् टीकापुरबाट उम्मेदवारी दिएका थिए । ३४ हजार ३ सय ४१ मत प्राप्त गरि शानदार विजय प्राप्त गरे । त्यो बेला पनि उनलाई टीकापुर घटनाको दोषी करार गरिएको थियो । तर त्यो बेला उम्मेदवारी दिदा कसैले पनि उनी विरुद्ध उजुरी दिएको थिएन । किनभने भूमिगत रहेका रेशम चौधरीले चुनाव जित्न सक्छन् भन्ने शासकहरूले अनुमानसमेत गर्न सकेका थिएनन् । 

अहिले उनै रेशम चौधरी हुन् वारेसनामामार्फत् बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराए । अहिले उनको उम्मेदवारी विरुद्ध जाहेरी परेको छ । सम्भवतः उजुरीवालाले थाहा पाइसकेका छन् कि रेशम चौधरीको जीत सुनिश्चित छ । चुनावी मैदानमा उत्रिनु पूर्व नै उनले रेशमको जीत देखिसकेका छन् । यद्यपि जीत र हार चुनावपछि थाहा हुने विषय हो । तर थारूबहुल बर्दियाको क्षेत्र नं २ का जनताका मनमनमा रेशम छन् र छ ढकिया । 

आम थारूहरूले ठानिसकेका छन् कि रेशमलाई छुटाउनलाई भएपनि भोट ढकियामै दिनपर्छ । ठूला कहलिएका नेताहरूको भाषण (गफ) जस्तो होइन, थारूहरूको यो भनाई । उनीहरू ढकियामा भोट हाल्न प्रतिबद्ध छन् । रेशम चौधरी, लक्ष्मण थारू लगायत झुठा मुद्धा लगाइएका थारूहरूलाई छुटाउन प्रतिबद्ध छन् । टीकापुर घटनालाई सरकारी तबरबाट राजनैतिक घोषणा गराउन प्रतिबद्ध छन् । थारूहरूको न्यायिक आन्दोलनमा साथ दिन गैरथारू अर्थात् पहाडीहरू हातेमालो गर्दै संगसंगै हिँडिरहेका छन् । 

उजुरीवाल व्यक्ति त्यो पार्टीको उम्मेदवार हुन्, जुन पार्टीले थारूहरूलाई थारूवान राज्यको सपना देखाएको थियो । थारूलाई मुख्यमन्त्री बनाउने सपना बाँडेकोे थियो । थारूलाई दासत्वबाट मुक्ति गर्ने, राज्यको हरेक निकायमा थारू लगायतको पछाडि पारिएका सबै जाति वर्गको समान प्रतिनिधित्व गराउने एजेण्डा बोकेको थियो । त्यही थारूवान राज्य प्राप्तीका लागि हजारौं थारूहरूले आफ्नो जीवन आहुति दिए, वेपत्ता भए, अंगभंग पारिए । थारू महिला बलात्कृत भए । 

के थारूवान राज्यको नारा फगत सपना मात्रै थियो ? थिएन भने, कैलाली–कञ्चनपुर सहितको थारूवान राज्यको नारा लगाउने पार्टीले प्रतिनिधि सभाका लागि किन एक जना पनि थारू प्रत्यक्ष उम्मेदवार बनाउँदैन ? के थारूहरू बन्दुक र बारुद बोक्न मात्रै योग्य थिए ? के थारूहरू दुश्मन (तत्कालीन शाही सेना र पुलिस) संग लड्न मात्र सक्षम थिए ? 

उजुरीकर्ता कमरेडज्यू, तपाईं र तपाईंको कथित उच्च जातकालाई सत्तामा पुगाउने थारूको बलिदानी बिर्सनु भयो ? संकटकालमा तराईका थारूको घरमा सेल्टर लिएर बाँचेको बिर्सनुभयो ? थारूहरूले कपुवा भात, डोक्नीमा पिसेको नुनखुर्सानी भात खुवाएको बिर्सनुभयो ? तपाईंहरूले सपना देखाएको ‘थारूवान राज्य’ का थारूहरूले आफ्नो ज्यान जोखिममा राखेर यस क्षेत्रमा काम गर्ने ‘कमरेड’ हरूलाई जोगाए । हिजो तपाईंले नै उठाएका मुद्धा थारूहरूले उठाउँदा, तपाईंकै सरकारले थारूलाई जेल किन कोच्छ ? यो त वैचारिक पतन होइन र ? अनि थारूवान राज्यकै नारा लगाउँदा भएको टीकापुर दुर्घटनाका फेक अपराधी करार रेशमविरुद्ध उजुरी दिनु थारूमाथिको ठगी होइन र ? 

रेशम विरुद्धको उजुरी एक व्यक्ति विरुद्धको मात्र उजुरी होइन । पहिचानको आवाजलाई उठ्न नदिने उजुरी हो । न्याय र समानताका आवाजलाई उठ्न नदिने उजुरी हो । यो उजुरीले १० वर्षे महान जनयुद्ध हाँकेको पार्टीको गरिमा र उजुरीकर्ता ‘कमरेड’ माथि अनगिन्ती प्रश्न गर्ने वातावरणको सिर्जना गरेको छ । 

लेखिका प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

इन्दु थारू
इन्दु थारू
लेखकबाट थप