शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनको सरकार नबने रेशम चौधरी छुट्दैनन् : पूर्वमन्त्री चौधरी

शनिबार, २९ असोज २०७९, १२ : ५२
शनिबार, २९ असोज २०७९

नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले निर्वाचनपछि गठबन्धनको बहुमतको सरकार नबनेसम्म रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहा नहुने ठोकुवा गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पूर्वमन्त्री चौधरीले शनिबार जोशीपुरमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

‘यो थारुको मात्रै होइन, ५-६ सय जनाको मुद्दासँग सम्बन्धित छ । टीकापुर मुद्दा, विप्लव समूहको मुद्दा, आदिवासी जनजातिहरुको मुद्दा जबसम्म कानून संशोधन हुँदैन, नियमावली संशोधन हुँदैन, संविधान संशोधन हुँदैन तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन । छुट्न सक्ने अवस्था छैन’, उनले अगाडि भने, ‘यसको लागि गणितीय हिसाबले जानुपर्ने हुन्छ । एक तहको अदालतले फैसला गरेको मुद्दा मन्त्रिपरिषदबाट फिर्ता लिन नपाइने कानूनी अवस्था छ । फिर्ता लिनको लागि कानून संशोधन गर्नुपर्नेछ । कानून शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ । जबसम्म हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, तबसम्म बहुमतको सरकार बन्दैन । कानून संसोधन पनि हुँदैन ।’

आफू स्वास्थ्यमन्त्री हुँदा २०७२ भदौ ७ र ८ को घटना सम्बोधनको लागि सरकारमा गएको जिकिर गरेका छन् । उनले भने, ‘२०७२ मा संविधान लेखनको क्रममा थरुहट र अखण्ड आन्दोलन भयो । दुबै आन्दोलन राज्यसँग थियो । दुर्भाग्यवश भदौ ७ गते टीकापुर घटना घट्यो । त्यो मुद्दा राजनीतिक मुद्दा हो भनेर फिर्ताको प्रक्रिया अगाडि बढायौ । ८२ घर, पसलमा आगजनि भयो । निकासको लागि नै आफूहरु सरकारमा गएका थियौ । रेशम चौधरीलाई १ करोड ७२ लाख, निरु टेडर्स, जनक चौधरीलगायतलाई आफ्नै कार्यकालमा क्षतिपूर्ति दिलाएका हौ ।’

यसैबीच पूर्व राज्यमन्त्री चौधरीले हालको गठबन्धनलाई कुनै बेलाका एकअर्काका विरोधी पक्षको मिलनको रुपमा रहेको बताएका छन् । उनले भने, ‘कुनै बेला टाउको मुल्य तोक्ने र कालोसूचीमा नाम राख्नेहरु एक ठाउँमा छौ । एकअर्कादेखि डराउनेहरु एकअर्काको मित्र भएका छौ । आज हामीलाई दुस्मन देख्नेहरु पनि भोलि हाम्रो मित्र बन्ने छन् ।’

त्यस्तै, उनले आफू लामो सयममा सरकारमा रहँदा कैलालीमा धेरै विकास गरेको दाबी गरेका छन् । ‘२०४८ देखि सरकारमा रहेको रामजनमले के गर्यो भन्छन् ? मैले बनाएको पुलमा उभिएर भन्छन् रामजनम केही गरेको छैन । मैले बनाएको पिच रोडमा बाइक गुडाउँदै हेल्मेटमा मोबाइल फोन हालेर कुरा गर्छन्, तर भन्छन् केही गरेको छैन । मैले बनाएको अस्पतालमा बसेर भन्छन् रामजनम केही गरेको छैन । मेलै बनाएको क्याम्पसमा पढेर, मैले नै ल्याएको बिजुलीको उज्यालोमा बसेर केही गरेको छैन भन्छन् ।  यदि यहाँ रामजनमले केही गरेको छैन भने, अब के–के गर्नुपर्छ भन्नुपर्यो’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप