शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मत माग्न गाउँ पसे बागलुङका उम्मेदवार

मङ्गलबार, ०१ कात्तिक २०७९, १४ : ४५
मङ्गलबार, ०१ कात्तिक २०७९

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरूले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेसहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान शुरु गरेको छ । 

गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका छन् । पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले आइतबार बागलुङ  नगरपालिका–१ रामरेखाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेको  कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।

 शर्माका अनुसार पाँच दलीय गठबन्धन निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले निकालेको समय तालिका अनुसार आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट सुरु भएको घरदैलो, मतदाता भेटघाट नं २ र ३ सम्म पुगेको छ । असोज २८ गते गठबन्धनको बागलुङ बजारमा निर्वाचन परिचालन कार्यालय उद्घाटन, २९ गते बागलुङ नगरपालिका–१४ नारायणस्थानमा भेटघाट तथा कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको अनुशिक्षण गरेको पाँच दलीय गठबन्धले आइतबार रामरेखाबाट घरदैलो कार्यक्रम सुरु गरेको कांग्रेसका सचिव शर्माले बताए । 

घरदैलो तथा भेटघाटमा नेता केसीले समग्र बागलुङको विकासका एजेण्डा राष्ट्रिय तहमा स्थापित गर्दै संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गरे । यस्तै कांग्रेसका नेता बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार थापाले विकास र सुशासनका पक्षमा आफूले मत मागेको बताए । 

यस्तै एमालेबाट बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सूर्य पाठकले आइतबार बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट आफ्नो चुनावी कार्यक्रम सुरु गरेका छन् । डा पाठकले पहिलो दिन नारायणस्थानको नेपाने, कोलपाटा र नमूना गाउँमा घरदैलो कार्यक्रम गर्दै आफूलाई मत मागेका थिए । निर्वाचन परिचालन कमिटीले निर्माण गरेको कार्यतालिका अनुसार आइतबार नारायणस्थानमा घरदैलो कार्यक्रम सकेर कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको कार्यालय स्थापना गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक लीलाबहादुर थापाले जानकारी दिए । पाठकले सोमबार अमलाचौरमा घरदैलो कार्यक्रम गरेका थिए । 

मतदातासँगको भेटमा डा पाठकले अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको विकासमा सहयोग पु¥याएका मतदातालाई धन्यवाद दिँदै बागलुङका अधुरा ठूला योजना पूरा गर्न पुनः निर्वाचनमा आएको बताए । यस्तै बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) मा  एमालेबाट हीरा केसी आफ्ना चुनावी एजेण्डा लिएर भेटघाटमा लागेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट चुनावी एजेण्डा र धारणासमेत सार्वजनिक गर्दै गाउँ पसेका हुन् । 

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३१ जना चुनावी मैदानमा छन् ।  बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट इञ्जिनीयर खिमान्न्द कँडेल निर्वाचनको मैदानमा छन् । उता बागलुङ क्षेत्र नं २ प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मन्जु क्षेत्री चुनावी मैदानमा उत्रिएका छन् । 

मन्त्री पौडेल उम्मेदवारी दर्तापछि शनिबार मात्रै गृह जिल्लामा चुनावी अभियानका लागि आएका हुन् । यस्तै माओवादी केन्द्र परित्याग गरी  एमालेको समर्थनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा (क) र  नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ प्रदेशसभा (ख) मा कांग्रेसका युवा नेता द्रोण कुँवर र एमालेका युवा नेता लक्ष्मण पुनबीच प्रतिस्पर्धा हुँदैछ । दल तथा स्वतन्त्र उम्मेदवारले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनको मुद्दा लिएर गाउँ पसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप