शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको लजमा म्यानेजरले गोप्यरुपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको खुलासा

मोबाइलमा भेटियो दर्जनौँ अश्लील भिडियो
शुक्रबार, ०४ कात्तिक २०७९, १४ : ४०
शुक्रबार, ०४ कात्तिक २०७९

होटलमा बास बस्न पुगेका ग्राहकको गोपनीयता कायम राख्नु र उनीहरुको सुरक्षाको प्रबन्ध गर्नु प्रत्येक होटल तथा लजको दायित्व हो । होटलमा कार्यरत कर्मचारी र म्यानेजरले ग्राहकको गोपनीयता र सुरक्षाका लागि व्यवस्था गर्नैपर्ने हुन्छ । 

तर, लजमा बस्न गएका युवती र जोडीको अन्तरङ्ग तथा नग्न भिडियो रेकर्ड गर्न म्यानेजर आफै संलग्न भएको खुलासा भएको छ ।  काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित बाँसबारीमा रहेको ‘बासबारी रेष्ट्रो क्याफे एण्ड लज’मा बस्न आउने ग्राहकहरुको अन्तरङ्ग तथा अश्लील भिडियो गोप्यरुपमा रेकर्ड गरेको अभियोगमा प्रहरी वृत्त महाराजगञ्जले लजका म्यानेजरलाई पक्राउ गरेपछि यो खुलासा भएको हो । 

 जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार गोप्यरुपमा ग्राहकको अश्लील भिडियो रेकर्ड गर्ने लजका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी गर्थे अश्लील भिडियो रेकर्ड
चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ स्थायी ठेगाना भएका माली रेष्ट्रो एण्ड क्याफेमै बस्ने गर्दथे । आफ्नै योजनामा मालीले लजको कोठा तथा बाथरुमको ढोकामा सानो सानो प्वाल बनाएर मोबाइल र अन्य डिभाइसबाट भित्रको अन्तरङ्ग भिडियो र अश्लील दृश्यहरु रेकर्ड गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ  । जब ग्राहकहरु लजको कोठा वा नुहाउनका लागि बाथरुममा प्रवेश गर्थे, माली आफैले मोबाइल तथा अन्य डिभाइसबाट भिडियो रेकर्ड गर्न सुरु गर्थे ।

युवतीले थाहा पाइन् म्यानेजरको कर्तुत
कात्तिक २ गते बुधबार एक युवती आफ्नो परिवारसँग खानपिन र बास बस्नका लागि बाँसबारीस्थित उक्त लजमा पुगेकी थिइन् । बुवा–आमासँगै लजमा पुगेकी युवती नुहाउनका लागि भनेर जब बाथरुममा पुगिन्, उनले ढोकामा सानो प्वाल देखिन् । 

उक्त ढोकाको प्वालबाट कसैले चिहाइरहेको वा अनधिकृत गतिविधि भइरहेको उनलाई आभास भयो । ढोका बाहिरबाट कसैले भिडियो खिचिरहेको जानकारी उनले पाइन् । त्यसलगत्तै युवतीले अनधिकृत गतिविधिबारे प्रहरीलाई जानकारी गराइन् । प्रहरी वृत्त महाराजगञ्जको टोली लजमा पुगेर अनुसन्धान सुरु ग¥यो । प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली लजमा पुगेर अनुसन्धान गर्दा यस्तो हर्कतमा म्यानेजर मुकेश माली आफै संलग्न रहेको प्रहरीले जानकारी पायो ।
 
मालीको मोबाइल नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनको आइफोन १२ प्रो म्याक्स मोबाइलमा दर्जनौँ अन्तरङ्ग र अश्लील भिडियो फेला परेको प्रहरीको भनाइ छ । 
प्रहरीले रातोपाटीसँग भन्यो ‘कसैले भिडियो रेकर्ड गरेको उजुरी परेपछि प्रहरी उक्त लजमा पुगी अनुसन्धान गर्दा ढोकामा प्वाल पारिएको भेटियो । ढोकामा प्वाल पार्नुको अन्य कुनै उद्देश्य नदेखिएपछि हामीले म्यानेजरसहितका कर्मचारीको मोबाइल जफत गरेर अनुसन्धान ग¥यौँ । अनुसन्धानका क्रममा म्यानेजरकै मोबाइलमा दर्जनौं अन्तरङ्ग र अश्लील भिडियो फेला पारेका छौँ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

म्यानेजर मालीको आइफोन १२ प्रो म्याक्स मोबाइलमा दर्जनौं अश्लील भिडियो भेटिएको छ । प्रहरीका अनुसार नाम थर र वतन नखुलेका दर्जनौं व्यक्ति र जोडीको अन्तरङ्ग तथा अश्लील भिडियो मुकेशको मोबाइलमा भेटिएको हो । मोबाइलको फरेन्सिक परीक्षणका लागि ल्याबमा पठाइएको र त्यसपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरीले बताएको छ । 

अश्लील भिडियो रेकर्डको उद्देश्य खोज्दै प्रहरी
मालीले कुन उद्देश्यले भिडियो रेकर्ड गरेका हुन् हालसम्म खुल्न सकेको छैन । कात्तिक २ गते अपरान्ह २ बजे मात्रै पक्राउ गरिएको र कात्तिक ३ गते काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । भर्खरै पक्राउ परेको कारण अश्लील भिडियो रेकर्ड गर्नुको उद्देश्य खुल्न सकेको छैन । ब्ल्याकमेल गरी रकम असुल गर्न वा अन्य कुन प्रयोजनले गोप्यरुपमा भिडियो रेकर्ड गरिएको हो, सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मालीले प्रहरीसमक्ष प्रारम्भिक बयान दिँदा भने आफू अश्लील भिडियोको एडिक्सनमा परेको कारण आफ्नै मनोरञ्जनका लागि भिडियो रेकर्ड गरेको बताएका छन् । मालीले अश्लील भिडियो रेकर्ड गरेर पोर्न साइट वा अन्यत्र अपलोड गरे नगरेको वा कुनै व्यक्तिसँग सेयर गरेको वा नगरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तत्कालका लागि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ । यद्यपि प्रहरीले अन्य अनुसन्धानबाट भिडियो अन्यत्र पठाएको वा सेयर गरेको पाइएमा साइबर अपराधको कसुरमा मुद्दा लैजाने तयारी गरिरहेको छ ।

एसपी मैनालीले ग्राहकको चलाखीले ठूलो दुर्घटना रोकिएको दावी गरे । होटलको कोठामा गोप्य क्यामेरा प्रयोग गरी अन्तरङ्ग दृश्य रेकर्ड गर्ने र पछि ब्ल्याकमेल गर्नेसम्मको खतरा टरेको उनले बताए । मैनालीले भने, ‘गोप्यरुपमा भिडियो रेकर्ड गरेर ब्ल्याकमेल गर्ने वा पोर्न साइटमा अपलोड हुनसक्ने खतरा हुनसक्थ्यो, त्यसबाहेक अन्यत्र सेयर गरेर सामाजिक बेइज्यती हुनसक्ने खतरा पनि थियो, तत्कालका लागि त्यो खतरा केही कम भएको छ । बाँकी कुरा अनुसन्धानपछि नै थाहा होला ।’

पक्राउ परेका मालीलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप