बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘हिम्मतवाली’को सकसपूर्ण चुनावी अभियान

‘दैनिक १० भन्दा बढी कार्यक्रम, हिँड्दा–हिँड्दै खुट्टा सुन्नियो’
शनिबार, ०५ कात्तिक २०७९, १२ : ०९
शनिबार, ०५ कात्तिक २०७९

मोरङको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी नायिका रेखा थापाको चुनावी अभियान तीव्र छ । अब उनको परिचयमा नायिका मात्रै नभएर राप्रपाको नेतृ र उम्मेदवार थप भएको छ । मङ्सिर ४ पछि उनको परिचयमा ‘माननीय’ थप हुने नहुने त्यहाँका जनताको निर्णयले निर्धारण गर्नेछ ।

अहिले उनलाई चुनावी घरदैलो तथा सानातिना भेला, बैठक र कार्यक्रम भ्याइ नभ्याई छ । यस खालका कार्यक्रम दैनिक दर्जन बढी हुने गरेको उनी बताउँछिन् । चुनावी दौडधुपले उनको खुट्टा सुन्निएको छ भने स्वर भासिएको छ । ‘हेर्नु न मेरो खुट्टा सुन्निएर हिँड्नै अप्ठ्यारो भएको छ,’ गोलीगाँठाको भाग देखाउँदै उनले भनिन्, ‘स्वर भासिएर फोन गर्नेहरू केटाको स्वर कसरी आयो भन्दै फोन काट्छन्, म रेखा नै हुँ भन्दा पनि विश्वास गर्दैनन् ।’

मोरङ–३ मा पर्ने उनकै गृहनगर सुन्दरहरैँचा नगरपालिकाको ११ नम्बर वडाको तीनमुढेमा साँझ ५ बजे भेटिएकी उनले चुनावी अभियानबाट आफू उत्साहित भएको बताइन् । शुक्रबार मात्रै उनले ११ नम्बर वडामा ८ वटा औपचारिक कार्यक्रम गरिन् । शुक्रबारको अन्तिम कार्यक्रम भएकोले उनीसहित उनको टिम थकित देखिन्थ्यो । रेखाको अभियानका क्रममा रेखा राजतन्त्र पुनर्स्थापना र गणतन्त्र तथा संघीयताको विरोधमा काहीँ पनि अभिव्यक्ति दिन्नन् । उनी परम्परागत पार्टीको भने खुलेर आलोचना गर्छिन् । ‘यहाँ काम नगरेर जनतालाई ठगेर, जनतालाई चुसेर थुपारेको पैसा बाँड्न उनीहरु आउँदैछन् । अब त्यो गर्न दिनुहुँदैन । मोटरसाइकलमा पेट्रोल हाल्न खोज्छन् भने ५ वर्षको लागि माग्ने, चामल दिन्छन् भने ५ वर्षको लागि माग्ने,’ उनी अन्तिम समयमा भोट बिग्रन सक्ने भन्दै खबरदारी गर्छिन्, ‘हाम्रो भोट पाएर महलमा बस्छन् । फेरि हामी भोट उसैलाई हाल्ने ? अस्ति जिताएर पठाएपछि तिमिहरूले के गर्‍यौँ भनेर प्रश्न पनि नगर्ने ? चुनावको अन्तिम दुई–तीन दिनमा जे पनि हुनसक्छ ।’

रेखा थापाको भाषण बढी भावना केन्द्रित थियो । ‘क्षेत्र नम्बर ३ ले जित्नका लागि मलाई जिताउनु पर्छ । रेखा थापाले जित्नु भनेको क्षेत्र नम्बर ३ ले जित्नु हो,’ महिला मतदातालाई लक्षित गर्दै उनले भनिन्, ‘यदि भोट बिक्ने अवस्था आयो भने त्यस्तो बेलामा तपाईंका श्रीमान्, भाइ, दाइलाई कन्ट्रोल गर्ने जिम्मा महिलाहरूमा छ । त्यस कारण भट्टीमा गएर बिक्ने र बहकिने पुरुषहरूलाई महिलाले ठिक ठाउँमा ल्याउनु पर्छ । यो क्षेत्रमा क्रान्ति ल्याउनु पर्छ ।’

दाजुभाइ तथा युवाहरूलाई पनि लक्षित गर्दै केही शब्द थपिन्, ‘यो पटक दाइहरूलाई मेरो आग्रह छ । हामी पूजा गर्दा यमराजलाई छेकेर तपाईंहरुको रक्षाका लागि टिका लगाइदिन्छौँ । अब यो पटक हलोमा मलाई मत दिएर बहिनीको रक्षा गर्नुपर्छ ।’

उनको लक्षित वर्ग भने महिलामा नै हुन्छन् । चुनावी कार्यक्रम लिएर जुनसुकै ठाउँमा गए पनि महिला तथा वृद्धाको गाला सुमसुम्याएर अँगालो हाल्ने र भोट माग्ने उनको चलन नै भइसक्यो । सामाजिक सञ्जाल फेसबुकमा उनले पोष्ट गरेका अधिकांश फोटो तथा भिडियोहरूमा पनि महिला नै बढी देखिन्छन् । 

मान्छे जुटाउन छैन समस्या

‘अरू कुरा त्यस्तै हो, मान्छे जुटाउन चाहिँ हामीलाई समस्या छैन, रेखा आउने भनेपछि मानिस यतिकै झुम्मिन्छन्,’ रेखा थापालाई चुनाव जिताउन हिँडेको बताउने युवा निकेश बराल भन्छन्, ‘महिला र युवतीहरू धेरै आउँछन् ।’  हुन पनि रेखा थापा पुग्नु अगाडि सुनसान रहेको कार्यक्रमस्थल तीनमुढेमा रेखा पुगेको केही मिनेटमै मानिसहरू झुम्मिए । उनीहरूले सुरुदेखि अन्तिमसम्म रेखा थापाको कुरा सुने । हौसला दिए । ताली पड्काए । रेखालाई भोट दिने भने ।

‘धेरै अगाडि देखेको हो । पहिले काली थिई, अहिले त धेरै गोरो भइछ,’ सोही स्थानकी वृद्धा मेत्री थारुले भनिन्, ‘ विराटचौकमा सुटिङमा देखेको थिएँ । उसलाई भोट दिन्छु नि, किन दिन्न ? ।’ कार्यक्रम अवधिभर रेखा थापाको वरपर केटाकेटी र युवतीहरूले फोटो र भिडियो खिचिरहे । 

जित्ने आत्मविश्वास

रेखा थापा आफूलाई बालेन साहलाई जस्तो सहयोग गर्नुपर्ने बताउँछिन् । ‘तपाईंलाई थाहा छ नि सञ्चारमाध्यामले गर्दा बालेनले जितेको,’ उनले भनिन्, ‘मलाई पनि सहयोग गर्नुपर्‍यो ।’ रेखालाई यो पटक काठमाडौँमा जस्तै यो क्षेत्रमा चमत्कार हुन्छ भन्ने लाग्छ ।

काँग्रेस र एमालेको बलियो संगठन, बलिया उम्मेदवार, बलियो स्रोत साधनको प्रयोगले रेखा थापालाई कम चुनौती भने छैन । जितका लागि चुनौतीबारे सोधिएको प्रश्नको जवाफमा उनी भन्छिन्, ‘म त पहाड फोड्न सक्ने मान्छे हुँ । विशाल जनताको साथ लिएर म जनताको मतबाट पहाड पन्छाउने छु । यदि यो मैदानमा सही काम र विकास भएको थियो र उसले गरेको वाचा पुरा गरेको थियो भने मेरो प्रतिस्पर्धा नै हुँदैन थियो । यहाँ त म सँग प्रतिस्पर्धा नै भएको छैन । म धेरै अगाडि छु । यो फिल्ममा भिलेनलाई तह लगाउने भनेजस्तै मतबाट यसपटक परम्परागत नेतालाई तह लगाउने हो । त्यसका लागि म आएको हुँ ।’

अन्तरवार्ता

जनताको साथ लिएर पहाड बोक्दैछु :  रेखा थापा

चुनावी अभियान सुरु भएपछि अहिलेसम्म कतिवटा कार्यक्रम गर्नुभयो

– गणना गर्नै नसकिने गरी कार्यक्रम गरिएको छ । एउटा वडामा १२, १५ भन्दा बढी कार्यक्रम गरिएको छ । जनता परिवर्तनको पक्षमा छन् । परम्परागत पार्टीभन्दा अरू नै विकल्प खोजेका छन् । त्यसको विकल्प म भएको छु । 

जित्ने विश्वास छ

– म जित्छु । विश्वास छ । 

तपाईंको दुःख र दौडधुप हेर्दा त नजित्ने भए किन उठ्नु नि भनेजस्तो देखिन्छ नि ?

– हा हा हा ... म जित्नकै लागि दौडिएको हुँ । 

तपाईंको दौडधुप खुल्ला मैदानमा फुटबल हानिरहेको छु कि जस्तो लाग्दैन । कार्तिक १५, १६ पछि झ्याप्पै ठुला पार्टी मैदानमा आएपछि के होला ? 

– अहिले पनि आइनै रहनु भएको छ नि । मलाई उहाँहरूले ओझेलमा पार्नै सक्नुहुन्न । 

अलि बढी वृद्ध–वृद्धा र महिलामा फोकस गर्नुभएको छ हैन तपाईंले ? 

– होइन । सबै महिलामा मात्रै केन्द्रित भएको छैन । महिलाहरूको धेरै सहभागिता रहेको ठाउँमा उहाँहरूको विषय बोलेको हुँ । म आफैँ महिला भएको कारण महिलाका लागि अलिक बोल्नु पनि पर्छ । तर, पुरुषका लागि पनि बोलेको छु । 

हिरोइन भएर ठाउँठाउँका कार्यक्रममा जाँदाको अवस्था र अहिले नेता भएर भोट माग्दै जाँदाको अन्तर के पाउनु भयो

त्यतिखेर पनि मलाई जनताले लिडर नै मान्नुहुन्थ्यो । फिल्मको नेतृत्व गरिरहेको मान्छे यो हाम्रो हिरो हो भन्ने रेस्पोन्स पाउँथे । तर, जुन परम्परागत हिरोइनको जस्तो रेस्पोन्स (कति राम्रो लिपिष्टिक, कति राम्रो मान्छे) मैले पाइनँ । मेरो सादगी नै मानिसले बढी मन पराएका थिए । कार्यक्रममा जाँदा पनि मेरो अधिकांश समय नाच्ने गाउने भन्दा पनि भाषण नै हुन्थ्यो । नेपाल अधिराज्यभरि नै मनोवैज्ञानिक हिसाबले मलाई एक किसिमको पहिलाबाट नै लिडरको रूपमा मानिसक्नु भएको थियो भन्ने मलाई लाग्छ । 

त्यसबेला र अहिलेको फरक चाहिँ के पाउनु भयो भनेको ?

– अहिले म माथि मत लगानी गर्नुहोस् साउँ ब्याजसहित फिर्ता गर्छु भनेर आएको छु । त्यतिबेला चाहिँ के चाहिन्छ भनेर जान्थेँ । यो पटक मङ्सिर ४ सम्मका लागि चाहिँ मत माग्छु । 

त्यसबेला पैसा दिएर स्टेज कार्यक्रममा बोलाउँथे । अहिले आफैँ स्टेजमा लगानी गरिरहनु भएको छ नि

– यो राम्रो कुरा हो । यो हक अधिकारको कुरा हो । मेरो अन्तरवार्ता आज भन्दा १० वर्ष अगाडिको हेर्नुहोला । त्यसबेला नै मैले जनताको घरघरमा जान्छु भनेर भनेको थिएँ । 

तपाईंको प्रतिस्पर्धी भानुभक्त ढकाल मन्त्री भइसक्नु भएको मान्छे हो । अर्को प्रतिस्पर्धी डाक्टर सुनिल शर्मा जो मेडिकल कलेज सञ्चालन गर्नुहुन्छ । दुवै जनासँग ठुलो संगठन छ । धेरै पैसा छ । विभिन्न संगठनको नाममा मानिसमा लगानी उहाँहरूले गर्नुभएको छ । यस्ता दुई ठुला उम्मेदवारले दिने चुनौतीको पहाडको बीचमा कसरी विजयी हुनुहुन्छ

पहाड बोक्ने हनुमान थिए कि थिएन ? म त पहाड बोक्न सक्ने मान्छे हुँ । विशाल जनताको साथ लिएर म जनताको मतबाट ती पहाड पन्छाउने छु । यदि यो मैदानमा सही काम र विकास भएको थियो र उसले गरेको वाचा पुरा गरेको थियो भने मेरो प्रतिस्पर्धा नै हुँदैन थियो । यहाँ त मसँग प्रतिस्पर्धा नै भएको छैन । म धेरै अगाडि छु । यो फिल्ममा भिलेनलाई तह लगाउने भनेजस्तै मतबाट यसपटक परम्परागत नेतालाई तह लगाउने हो । त्यसका लागि म आएकी हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप