शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हेभीवेट’ उपेन्द्रसामु चुनौतीका चाङ

मङ्गलबार, १५ कात्तिक २०७९, १६ : २२
मङ्गलबार, १५ कात्तिक २०७९

चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरूमाथि ‘प्रेसर’ बढ्दैछ । मधेस प्रदेशमा सबैभन्दा बढी ‘प्रेसर’ सप्तरी–२ रहेको छ । त्यहाँ पाँच दलीय सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा रहेको छ । एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव त्यहाँ उम्मेदवार रहेका छन् भने सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुरलाई प्रतिस्पर्धीका रूपमा उभ्याएको छ । त्यसमाथि जनमत पार्टीका अध्यक्ष सिके राउतले समेत उम्मेदवारी दिएपछि सो क्षेत्र निकै चर्चामा रहेका छन् । 

स्थानीय तहको मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार ठाकुरसँग ३६ हजार ९९२ मत रहेका छन् भने जसपा–एमाले गठबन्धनका उम्मेदवार उपेन्द्र यादवसँग  १९ हजार २७१ मत मात्र रहेको छ । दुईबीच १७ हजार बढी मतको अन्तर रहेको छ । 

मधेस केन्द्रित राजनीतिमा लामो समय काम गरेका सप्तरीका ८५ वर्षीय खुशीलाल मण्डल भन्छन्, ‘सप्तरी–२ मा सत्ता गठबन्धन धेरै बलियो देखिन्छ । यसले उपेन्द्र यादवलाई गाह्रो बनाउन सक्छ ।’ 

उनका अनुसार उपेन्द्र यादव हेभीवेट नेता भए पनि अहिले क्षेत्रमा कमजोर देखिन्छन् । ‘उपेन्द्र यादवलाई राष्ट्रिय व्यक्तित्वको रूपमा चर्चा गरिएको छ । विगतमा यस्तै चर्चा गजेन्द्रनारायण सिंहको हुन्थ्यो । तर उनले पनि चुनाव हारेका थिए,’ उनले भने । 

पाँच वर्षमा यादवको पार्टी लामो समय सरकारमा रह्यो । मधेस प्रदेश सरकारको त नेतृत्व नै गरेको थियो । ‘त्यसको पनि हिसाब किताब जनताले गरिरहेका छन् । विगतका चुनावको परिणाम हेर्दा जहिले पनि मतदाताहरू सत्ताभन्दा गैरसत्ताको नजिक रहेको देखिन्छ,’ उनी भन्छन्, ‘यसपटक उपेन्द्र यादवलाई चुनौती छ । तर राष्ट्रिय छवि, राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानका कारण उनले चुनावमा प्रभाव पार्न सक्छन्  ।’

यादवलाई दुई कारणले चुनौती रहेको उनी बताउँछन् । ‘पहिलो कारण – उनले सत्ता गठबन्धन छाड्नु हुँदैनथ्यो । एमालेलाई प्रतिगमनकारी भनेर सो पार्टीविरुद्ध आन्दोलन गर्ने यादव सोही पार्टीसँग गठबन्धन गर्नुले मधेसमा यसले नकारात्मक असर परेको छ । यसले चुनावमा क्षति गर्न सक्छ,’ उनले थपे, ‘दोस्रो कारण – जसपा–एमालेको मतभन्दा सत्ता गठबन्धनको मत त्यहाँ बढी छ ।’

यतिबेला यादवले चुनाव जित्ने एक मात्र आधार उनको राष्ट्रिय छवि रहेको मण्डल बताउँछन् । सप्तरीका बुद्धिजीवी तथा नागरिक समाज अहिलेसम्म खुलेर नआएको उनको भनाई छ । कसलाई जिताउँदा सप्तरीको फाइदा हुन्छ भन्ने हिसाबकिताब गरेर मात्र मतदान गर्ने मण्डलको दावी छ । 

उम्मेदवारको रूपमा जनमतका अध्यक्ष सिके राउत पनि कमजोर छैनन् । जयप्रकाश ठाकुर पहिला पनि उपेन्द्र यादवसँग चुनाव लडिसकेका हुन् । स्थानीय चुनावको मतभारतको हिसाबले उनी कमजोर देखिँदैनन् । मधेस मामिलाका जानकार बलराम यादवले चुनाव कसले जित्छ भनेर अहिले नै टिप्पणी गर्ने अवस्था नरहेको बताए । 

उनले भने, ‘उपेन्द्र यादवलाई पहिला जस्तो सजिलो छैन राष्ट्रिय छवि भएका नेता भएकाले त्यसको प्रभावले उहाँले बाजी मार्नुभयो भने हो नत्र यसपटक उहाँलाई गाह्रो हुनसक्छ ।’

सप्तरी–२ मा ९५ हजार ३९४ मतदाता रहेका छन् । १५ हजार मत यादव समुदायको छ भने २३ हजार मत मुस्लिम समुदायको छ । यी दुवै समुदायमाथि उपेन्द्र यादवको पकड रहेको छ । मधेसको चुनावमा जातीय फ्याक्टर महत्त्वपूर्ण मानिन्छ । यसैको फाइदा अहिलेसम्म यादवले लिएको वरिष्ठ अधिवक्ता सुजित पोखरेल बताउँछन् । उनले यसपटकको चुनावमा पनि जातीय फ्याक्टरले काम गर्ने बताए । ‘सत्ता गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुर र जसपा–एमाले गठबन्धनका उम्मेदवार उपेन्द्रबीच प्रतिस्पर्धा हुँदैन । सप्तरी–२ उपेन्द्र यादव र सिके राउतबीच प्रतिस्पर्धा हुन्छ,’ उनी भन्छन् ।

सत्ता गठबन्धनको मत एकै उम्मेदवारमा ट्रान्सफर हुनेमा आफू विश्वस्त नरहेको उनको भनाई छ । उनले भने, ‘जयप्रकाश ठाकुरलाई सत्ता गठबन्धनको सबै मत जाँदैन । त्यहाँबाट केही मत उपेन्द्र यादवलाई पनि जान्छ भने केही मत सिके राउतलाई जान्छ । त्यस हिसाबले प्रतिस्पर्धा ठाकुर र यादवबीच होइन, राउत र यादवबीच हुने देखिएको छ ।’ उनले सप्तरी–२ को अवस्था ‘क्रिटिकल’ रहेको जिकिर गरे ।

तर स्थानीय पत्रकार सौरभ यादव भने उपेन्द्र यादव चुनाव जित्ने कुरामा ढुक्क छन् । उनी भन्छन्, ‘विगत १० वर्षमा सप्तरीमा नभएको विकास उपेन्द्र यादवले यो पाँच वर्षको अवधिमा गर्नुभएको छ । सप्तरी राजविराजलाई शिक्षाको हबको रूपमा विकास गर्नुभएको छ । त्यसैले विकासको हिसाबले पनि उपेन्द्र यादव सबभन्दा अगाडी रहनु भएको छ ।’

यादवको राष्ट्रिय पहिचानको सप्तरीवासीले गर्व गरिरहेको बताउँदै उनले अन्तिममा यादवलाई जिताउने अभियान सञ्चालन हुन सक्ने अवस्था रहेको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप