सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश

सोमबार, १५ असार २०८३, २० : ४७
सोमबार, १५ असार २०८३

सारांश

  • सर्वोच्च अदालतले दृष्टिविहीन नागरिकका लागि नेपालको संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
  • कानुनका विद्यार्थी विवेक चौधरीसहितले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यो आदेश जारी गरेको हो ।
  • निवेदकहरूले राज्यले दृष्टिविहीनलाई संविधान र कानुन बुझ्ने समान अवसर प्रदान गर्नुपर्ने र सूचनाको हकको सम्मान गर्नुपर्ने जिकिर गरेका थिए ।

काठमाडौँ । सर्वोच्च अदालतले द‌ृष्टिविहीन नागरिकका लागि नेपालको संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । 

कानुनका विद्यार्थी विवेक चौधरीसहितले दायर गरेको रिटमा सोमबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानुन किताब व्यवस्था समितिलाई विपक्षी बनाइएको थियो ।

निवेदकहरूले 'कानुनको अज्ञानता क्षम्य हुँदैन' भन्ने कानुनी सिद्धान्तलाई उल्लेख गर्दै राज्यले आफ्ना नागरिकलाई संविधान र कानुन बुझ्ने समान अवसर प्रदान गर्नुपर्ने जिकिर गरेका थिए । 

राज्यले संविधानलाई विभिन्न मातृभाषामा प्रकाशन गरे पनि दृष्टिविहीनका लागि ब्रेल लिपिमा उपलब्ध नगराउनु उनीहरूको सूचनाको हक र मौलिक अधिकारको उल्लङ्घन भएको जिकिर गरेका थिए ।

नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक दिएको छ। संविधान जस्तो मूल कानुनको जानकारीबाट दृष्टिविहीनलाई वञ्चित गराइएको निवेदकको जिकिर थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप