मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
सम्भावित विपद्को तयारी

विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’

सोमबार, १५ असार २०८३, २० : ४१
सोमबार, १५ असार २०८३

सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र बाढीपहिरोको ‘रेड अलर्ट’ जारी गरेको छ ।
  • सडक विभागले देशभरका जोखिमयुक्त सडकखण्डहरूमा सम्भावित पहिरोको जोखिम रहेका स्थानहरूमा हेभी इक्विपमेन्टहरू र अपरेटरहरू पहिल्यै तैनाथ गरिसकेको छ ।
  • बीपी राजमार्गमा वैकल्पिक नयाँ ट्रयाकसहितको तयारी गरिएको छ भने अरनिको राजमार्गमा पनि हेभी इक्विपमेन्टसँगको समन्वयमा पूर्वतयारी अपनाइएको छ ।

काठमाडौँ । प्राकृतिक विपद्को समयमा सरकारी निकायहरूबिच समन्वय अभावका कारण समयमा उद्धार तथा राहतको पहल हुन नसक्दा नागरिकले निकै सास्ती भोग्न बाध्य छन् ।

एउटा निकायले सूचना जारी गर्ने र अर्को निकायले बेवास्ता गर्दा विगतमा नागरिकले ठुलो सास्ती खेप्नुपरेका उदाहरण प्रशस्त छन् । तर, यस वर्षको मनसुनमा भने नीतिगत तह (विपद् प्राधिकरण) र कार्यान्वयन तह (सडक विभाग र मातहतका कार्यालय) बिच पूर्वतयारी र विपद् व्यवस्थापनमा बलियो अन्तर–निकाय समन्वय देखिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र बाढीपहिरोको ‘रेड अलर्ट’ जारी गरेको छ भने सडक विभागले पनि केन्द्रदेखि स्थानीय डिभिजनसम्मको संयन्त्रलाई ‘हाइ अलर्ट’मा राख्दै सम्भावित विपद् पन्छाउने नमुना अभ्यास सुरु गरेको छ । 

प्राधिकरणको चेतावनीपछि सडक विभागको एक्सन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै असार मंगलबार र बुधबार लागि विशेष सतर्कता सूचना जारी गरेको छ । प्राधिकरणले मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने र यसले अकस्मात बाढी, पहिरो तथा सडक अवरोध निम्त्याउन सक्ने चेतावनी दिएको छ । 

bipad-2

प्राधिकरणले स्पष्ट निर्देशन दिएको छ,‘जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायत साधनहरू तयारी अवस्थामा राख्नू ।’

प्राधिकरणको उक्त निर्देशनलाई कार्यान्वयन गर्दै सडक विभागले तत्कालै देशभरका जोखिमयुक्त सडकखण्डहरूमा आफ्नो संयन्त्र परिचालन गरेको छ । विगतमा पहिरोले बाटो थुनेपछि मात्रै मेसिन खोज्न थाल्ने परिपाटीलाई अन्त्य गर्दै विभागले यसपटक पूर्वतयारी गरेको छ । 

सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक श्यामबहादुर खड्काका अनुसार प्राधिकरणको अलर्टपछि देशभरिका सम्भावित पहिरोको जोखिम रहेका स्थानहरूको पहिचान गरी त्यहाँ हेभी इक्विपमेन्टहरू (भारी उपकरण) र अपरेटरहरू पहिल्यै तैनाथ गरिसकिएको छ ।

‘यातायात अवरुद्ध हुनेबित्तिकै चाँडोभन्दा चाँडो सुचारु गराउन हामीले हेभी इक्विपमेन्टहरू ठ्याक्कै ती जोखिमयुक्त लोकेसनको आसपासमा राखिसकेका छौं,’ प्रवक्ता खड्काले भने, ‘ठुलो पहिरो गएर हाम्रा उपकरणले मात्र नभ्याएमा ब्याकअप मेसिन पठाउने र त्यतिले पनि नपुगेमा निजी क्षेत्रका उपकरणसमेत परिचालन गर्ने गरी हामीले तीन तहको योजना बनाएका छौँ ।’ यस वर्ष विभागले नागढुंगा–मुग्लिन सडकखण्डका ९ वटा उच्च जोखिमयुक्त स्थानलाई विशेष प्राथमिकतामा राखेर मेसिनहरू तैनाथ गरेको छ । 

२०८१ र २०८२ को असोजमा आएको बाढीले क्षति पुर्‍याएका राजमार्गहरूको मर्मत तथा सुधारको काम क्रमिक रूपमा अघि बढिरहेको सडक विभागले जनाएको छ । प्रवक्ता खड्काका अनुसार, इलामको मेची राजमार्गदेखि बीपी राजमार्गलगायत क्षतिग्रस्त क्षेत्रमा कतिपय ठाउँमा ठेक्का लागेर सुधारका काम अघि बढिसकेका छन् । कतिपय स्थानमा पहिरो रोकथाम र न्यूनीकरणका कामहरू भइरहेका छन् भने केही स्थानमा अध्ययन सकिएर यस वर्षको बजेट विनियोजन अनुसार काम अघि बढ्ने चरणमा छन् । 

badhi-photo

बीपी राजमार्गमा वैकल्पिक नयाँ ट्रयाकसहितको तयारी

सडक विभागले हाईअलर्टलाई सडक डिभिजन कार्यालयले विपद्पछिको पुर्नस्थापनका लागि पूर्वतयारी थालेको छ । गत वर्षको असोजमा आएको बाढीपहिरोले क्षतविक्षत बनाएको बीपी राजमार्गमा विपद्को सूचना पुग्नासाथ चौबीसै घण्टा प्राविधिक र मेसिनरी टोलीलाई अलर्ट अवस्थामा राखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले मौसम विभाग र प्राधिकरणको चेतावनीपछि आफूहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए । ‘पानी पर्न थालेपछि पहिरो खस्ने वा सडक अवरुद्ध हुने ज्यादै जोखिमपूर्ण अवस्था आएमा मात्र सुरक्षा संवेदनशीलता हेरेर सडक बन्द गरिनेछ, अन्यथा हामी सडक सुचारु राख्नेछौं,’ उनले भने । 

डिभिजन प्रमुख योगेशका अनुसार, सम्भावित विपद् पन्छाउन राजमार्गका ५ देखि ६ स्थानमा माथिल्लो खण्ड (वैकल्पिक ट्र्याक) बाट सवारी साधन चलाउन सकिने गरी सडकलाई तयारी अवस्थामा राखिएको छ । अहिले तलको खण्डमा पर्खाल उठाउनेलगायतका काम भइरहेकाले गाडीहरू त्यहीँबाट गुडे पनि, बाढीको आकस्मिक अवस्था आएमा तत्कालै माथिल्लो ट्र्याक प्रयोग गरिनेछ । २०८१ असोजमा बाढीले क्षति पुगेको यो राजमार्गमा मर्मतको भौतिक प्रगति ३३ प्रतिशत पुगेको  छ । नयाँ मनसुनले थप क्षति नगरोस् भनेर डिभिजनले उच्च सतर्कता अपनाएको जनाएको छ । 

अरनिको राजमार्गमा हेभी इक्विपमेन्टसँगको समन्वय

उता, चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने अरनिको राजमार्गमा पनि प्राधिकरणको अलर्टको प्रभाव प्रत्यक्ष देखिएको छ । सडक डिभिजन कार्यालय चरिकोटले हेभी इक्विपमेन्ट डिभिजनसँग प्रत्यक्ष समन्वय गरी संवेदनशील क्षेत्रहरूमा ट्रक, एक्साभेटर र लोडरहरू तयारी अवस्थामा राखेको छ । 

सडक डिभिजन चरिकोटका सूचना अधिकारी अर्जुन नेपालीका अनुसार विपद् प्राधिकरणले जारी गरेको भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिमसम्बन्धी चेतावनीलाई ध्यानमा राख्दै डिभिजन कार्यालयले विशेष पूर्वतयारी अपनाएको हो । ‘पहिरो गइहालेमा तत्काल सडक खुलाउनका लागि ठाउँ–ठाउँमा मेसिनरी साधनहरू परिचालन गरिसकेका छौँ,’ नेपालीले भने । 

चरिकोट डिभिजनले विपद् व्यवस्थापनसँगै क्षतिग्रस्त सडक मर्मतलाई पनि अघि बढाइरहेको छ । कोदारी क्षेत्रको चर्चित इको पहिरोको मर्मत चिनियाँ पक्षले गरिरहेको छ भने डाक्लाङ–१ खण्डमा मर्मत कार्य तीव्र छ । डाक्लाङ–२ र ३ मा ठेक्का सम्झौता अन्तिम चरणमा छ । कोठे खण्डमा प्रोटेक्सनको काम सकिएको र महाभीर तथा उपलाङ खण्डमा मर्मत कार्य निरन्तर भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप