शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी घोषणापत्रको ध्येय

बिहीबार, १७ कात्तिक २०७९, १० : २१
बिहीबार, १७ कात्तिक २०७९

देश विकासको कुरा गर्दा मूलतः चरवटा पक्ष निर्णायक हुन्छ । पहिलो, नागरिक जागरुकता, दोस्रो राजनीतिक भिजन र संकल्प, तेस्रो कर्मचारीतन्त्र तथा प्रणाली, चौथो नीति । यी चारवटा पक्षको सामूहिक र एकीकृत पहलबाट मात्र निश्चित समयमा समृद्ध हासिल गर्न सकिन्छ ।

परन्तु, समृद्धिका यी चारवटा सूचकमध्ये सबैभन्दा जिम्मेवार र निर्णायक पक्ष राजनीतिक भिजन तथा संकल्प नै हो । किनकि, नेपालजस्तो बहुदलीय लोकतान्त्रिक व्यवस्थामा राजनीति मियोको रुपमा रहेको हुन्छ । त्यसैले, राजनीतिक ठिक हुँदा सबै ठिक हुने र राजनीतिले ठीक दिशा नपक्रिँदा सबै भद्रगोल हुन पुग्छ ।

ठिक राजनीति कस्तो हो ? पहिले यो विषयमा थोरै बहस जरुरी हुन्छ । ठिक राजनीतिको अनिवार्य सर्त हो, अग्रगामी नीति, सापेक्षित भिजन र दृढ संकल्प । यो प्यारामिटरले नेपालका वर्तमान राजनीतिक दललाई नाप्दा तुलनात्मक रुपमा नेकपा (माओवादी केन्द्र) अग्रणी स्थानमा देखिन्छ ।

किनकि, नेकपा (माओवादी केन्द्र) अग्रगामी सोचबाट निर्देशित भई रुपान्तरणकारी आन्दोलनको अगुवाइ गरेको र गरिरहेको पार्टी हो । तुलनात्मक रुपमा यो पार्टीका नेता कार्यकर्तामा रुपान्तरण र विकासको हुट्हुटी पनि बढी देखिन्छ । यो तथ्यलाई नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि यही कार्तिक १४ गते जारी गरेको प्रतिबद्धता पत्र (घोषणापत्र) ले पनि उजागर गरेको छ ।

माओवादीको घोषणापत्रले माथि भनिएको विकासका मूलतः चारवटा पूर्वसर्तको स्पष्ट पहिचान गरी त्यसलाई वैज्ञानिक ढंगले सम्बोधन गर्न खोजेको देखिन्छ । माओवादीको घोषणापत्रले नागरिकलाई जागरुक बनाई देश विकासमा उनीहरुको सहभागिता सुनिश्चत गर्नुपर्नेमा जोड दिएको छ । नागरिकको स्वामित्व र सहभागिताले मात्र रुपान्तरण र विकास हासिल गर्न सकिन्छ भन्नेमा माओवादी प्रष्ट देखिन्छ ।

राजनीतिक भिजन र संकल्पका सवालमा पनि माओवादी तुलनात्मक रुपमा अगाडि देखिन्छ । नेपालको विकासका लागि राजनीतिक स्थायित्व प्रमुख सर्त भएकाले त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक समावेशितामा जोड दिएको छ । सरसर्ती हेर्दा यो माओवादीले उठाएको वासी एजेण्डा लाग्न सक्छ । तर, पुनः जोड दिएर माओवादीले यो एजेण्डा अगाडि सार्नुको दूरगामी महत्व छ ।

किनकि, नेपाल विभिन्न जातजाति र भाषाभाषीको वसोवास रहेको देश हो । अन्याय महसुस गरेको जातजाति, क्षेत्र, वर्ग र लिंगलाई जहाँको त्यही छोडेर अपवादबाहेक न त आज विकसित भनिएको कुनै देश विकास भएका हुन्, न त नेपालको नै विकास हुन्छ ।

त्यसकारण, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नेपालको विकासका लागि अनिवार्य पूर्वसर्त भएको माओवादीको निश्कर्ष देखिन्छ । समस्यालाई ज्यूँका त्यूँ राखेर कसैले विकास र समृद्धिको कुरा गर्छ भने त्यो राजनीतिक ठगी र वेइमानी हो, जुन कुरा माओवादी केन्द्रले राम्रोसँग बुझेको देखिन्छ ।

माओवादी केन्द्रले घोषणापत्रमार्फत् अगाडि सारेका कतिपय विषय सामाजिक रुपान्तरण, आधुनिक समाज निर्माण र मुलुकको समृद्धिका कोणबाट हेर्दा निकै वैज्ञानिक देखिन्छ । माओवादीले शिक्षालाई रुपान्तरण र आधुनिक समाज निर्माणको मुख्य औजारका रुपमा अगाडि सारेको छ । रुढिवादी शैक्षिक पाठ्यक्रमलाई निषेध गरी आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिएको छ । मानिसको ज्ञान र चेतना निर्माणको मुख्य स्रोत शिक्षा भएकाले समाज रुपान्तरण र समृद्धिका लागि शिक्षा क्षेत्रमा व्यापक रचनात्मक हस्तक्षेप उसको मुख्य ध्येय देखिन्छ ।

देश विकासको महत्वपूर्ण पाटो सुशासनका विषयमा माओवादीले कुशासनको स्रोतमा पुगेर हस्तक्षेप गर्न चाहेको छ । नीति एवम् संस्थागत पुनर्संरचनासहित २०४७ साल पछिकासरकारी जिम्मेवारीमा रहेकाको सबैको सम्पत्ति छानबिन गर्ने ऐतिहासिक कार्यक्रम आफैमा चानचुने महत्वको विषय हैन, जुन कुरा माओवादीले आफ्नो प्रतिबद्धतापत्रमार्फत् सार्वजनिक गरेको छ । सेवा प्रवाहमा सूचना प्रविधिको विकास र प्रयोगलाई अनिवार्य गर्दै विकासका लागि सुशासनको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएको छ ।

वर्तमान विश्वमा विज्ञान तथा सूचना–प्रविधि सामाजिक, आर्थिक र राजनीतिक सबै कुराको निर्विकल्प साधन बनेको तथ्यलाई आत्मसाथ गर्दै विज्ञान तथा सूचना–प्रविधिको विकासमा माओवादीको घोषणापत्र अन्यको तुलनामा निकै अगाडि देखिन्छ । केन्द्रदेखि हरेक प्रदेशमा रिसर्च एण्ड डेभलप्मेन्ट सेन्टर (आरएण्डी सेन्टर) स्थापना गर्ने, वैज्ञानिक उत्पादनमा पर्याप्त लगानी गर्ने, विज्ञान तथा सूचना–प्रविधिको विकासका लागि प्रारम्भमा एक अर्बको कोष निर्माण गर्ने लगायत डिजिटल क्रान्तिमा जोड दिएको छ ।

त्यस्तै, विश्वमा बढ्दो उर्जा संकट र भविष्यमा उर्जाको मुख्य स्रोत हाइड्रोजन बन्ने विश्लेषण गर्दै माओवादीले नेपालमै पाँच वर्षभित्र हाइड्रोजन प्लान्ट स्थापनाको लक्ष्य राखेको छ ।

देशको विकास र समृद्धिका लागि कर्मचारीतन्त्र र प्रणालीको पुनर्संरचनालाई पनि माओवादीले प्राथमिकताका साथ अगाडि सारेको देखिन्छ । माथि भनिएजस्तै देश विकासको मुख्य जिम्मेवार पक्षमध्ये कर्मचारीतन्त्र र प्रणाली निर्णायक पक्ष हो । कर्मचारीतन्त्रको वर्तमान मनोविज्ञान, ढिलासुस्ती, गुजाराको मानसिकता आदिलाई परिष्कृत नगरेसम्म विकास र समृद्धि हासिल गर्न सकिँदैन भन्ने बुझाई माओवादीको रहेको देखिन्छ । यस्ता सवाललाई सम्बोधन गर्न उसले आफ्नो घोषणापत्रमा कर्मचारीलाई साँचो अर्थमा राष्ट्रसेवक बनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिएको छ ।

माओवादीको घोषणापत्रले दह्रोसँग पक्रिएको अर्को पाटो हो, नीतिगत पुनर्संरचना । आज हामी जुन अवस्थाको बहस र छलफलमा केन्द्रित छौं, यो सबैको स्रोत नीति नै हो । नीतिकै उपउत्पादन हो, हाम्रो राजनीति, कर्मचारीतन्त्र, प्रणाली र गरिबी । त्यसैले, माओवादीले सापेक्षित नीति निर्माण गरी वेथिती र गरिबीमा क्रमभंगता ल्याउने उद्घोष गरेको छ, जुन अपरिहार्य मात्र हैन, वस्तुगत पहल पनि हो ।

माओवादीले घोषणापत्रमार्फत् दूरगामी महत्वका नीति कार्यक्रम अगाडि सार्नुमा माओवादीको विकास र समृद्धि प्रतिको हुट्हुटी नै हो । देशमा सामाजिक न्याय र समृद्धिको सबैभन्दा ठूलो जिम्मेवारी र दायित्व माओवादीकै काँधमा छ । किनकि, यसैका लागि हजारौं नागरिकले वलिदानी गर्नुका साथै हजारौंको संख्यामा घाइते अपांग भएका छन् । आज देशको राजनीतिको केन्द्रमा रहेका सबै अग्रगामी मुद्दाको जन्मदाता माओवादी नै हो ।

प्रतिबद्धतापत्रमा माओवादीले अगाडि सारेका नाराले पनि यिनै कुरामा जोड दिएको देखिन्छ । ‘बलिदानको कदर, समृद्धिको आधार’ भनेर माओवादीले निकै मनन्योग्य नारा अगाडि सारेको छ । मानव जातिको विकासक्रम र विकसित देशलाई हेर्दा माओवादीको यो नाराको महत्व स्पष्ट हुन्छ ।

आज विश्वमा जति पनि विकसित देश छन्, ती सबैमा कुनै न कुनै समय सानो ठूलो क्रान्ति र बलिदान भएकै थियो । जुन देशमा क्रान्ति र बलिदानको कदर भयो, देश आज विकसितको सूचीमा छन् । जुन देशमा बलिदान र क्रान्तिको अवमूल्यन भएको छ, ती देशमा आज पनि युद्ध र आन्दोलन जारी छ । यसको एक बलियो प्रमाण एसियाकै विकसितमध्येको देश जापान पनि हो ।

आजको जापान निर्माण हुनुमा मेजी क्रान्तिको ठूलो योगदान छ । मेजी क्रान्तिमा भएको वलिदान र संघर्षको कदर गर्दा नै आजको जापान निर्माण हुन सकेको हो । परिवर्तनकारी मेजी क्रान्तिको अवमुल्यन हुँदो हो त आजको जापान निर्माण नै हुने थिएन ।

हामीलाई समृद्धि चाहिएको छ । तर, समृद्धिका अवरोध तत्व के के हुन् ? हामी त्यसलाई अनदेखा गर्छौ । समस्या हल गर्ने कुरामा राष्ट्रिय सहमति बन्न सक्दैन । परिवर्तनकारी राजनीतिक शक्तिको योगदानको कदर गर्ने हैन, उल्टै हत्यारो र आतंककारीको विल्ला लगाउँछौं । लोकतान्त्रिक व्यवस्थामा मतदाताको चेतना ठिक नभएसम्म देश विकास हुँदैहुँदैन । देशको विकासका लागि नागरिकको मानसिकतामा समृद्धिको सपना अंकुराउनु पर्दछ ।

एकपटक कल्पना गरौ त, अमेरिकामा अश्वेतहरुको आन्दोलन र मुद्दालाई स्वायत्त समाज र राज्यले समयमै सम्बोधन नगरेको भए आजको भौतिक र आर्थिक रुपले समृद्ध अमेरिका निर्माण हुन सक्थ्यो होला ? हुँदैनथ्यो नि ! आज पनि त्यहाँ आन्दोलन र दमनको श्रृंखला चलिरहेको हुन्थ्यो । यति कुरा धु्रवसत्य हो, वर्तमान विश्व समाजमा कोही पनि मानिसले असमानता स्वीकार्नेवाला छैन । अतः माओवादीले अगाडि सारेको नाराको अर्थ हो, बलिदानको कदर नभएसम्म समृद्धिको कुरा भुसमाथिको लिऊन मात्र हुन जान्छ ।  

उज्यालो नेपाल स्पष्ट प्रमाण, समृद्धिका लागि माओवादीलाई मतदान’ नारा अगाडि सारेर अठार घण्टासम्मको अन्धकार हटाई माओवादी सरकारले उज्यालो नेपाल बनाएको उपलब्धिलाई माओवादीले विकास निर्माणको ग्यारेन्टीको प्रमाणका रुपमा अगाडि सारेको छ । उसको यो नारा केवल नारा मात्र नभएर देशमा जति पनि विकास निर्माण र सामाजिक न्यायको काम भएको छ, त्यो माओवादी र माओवादी नेतृत्वको सरकारका पालामै भएको तथ्य स्पष्ट पार्न खोजेको छ ।

राष्ट्रिय गौरवका आयोजना, देशव्यापी सडक विस्तार, सात प्रतिशतको आर्थिक बृद्धि, पछाडि पारिएको क्षेत्र, वर्ग, लिंग र जातको नीति निर्माण तहमा समावेशी प्रतिनिधित्व आदि माओवादीकै योगदानले भएको तर्फ आम मतदाताको ध्यानाकर्षण गरेको छ ।

यो सबै कुरा गर्दै गर्दा माओवादी मात्र देशको त्यस्तो शक्ति हो, जो सबै कोणबाट उत्कृष्ट छ भन्ने हैन । माओवादी पार्टीलाई एक चुस्त, गतिशील र सशक्त पार्टी बनाउन अझै धेरै गर्नुपर्ने देखिन्छ । तर, यति भने स्पष्ट हो कि, अन्यको तुलनामा माओवादी नै अग्रगामी र समृद्धिको बढी हुट्हुटी भएको पार्टी हो, जुन कुरा उसको घोषणापत्र पढ्दा पनि छर्लङ्ग हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश विकल्प
प्रकाश विकल्प
लेखकबाट थप