सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यो चुनावी गठबन्धनमात्र हो : राजकिशोर यादव

‘मधेसलाई मुख्य रुपमा बर्बाद पार्ने पार्टी नेपाली कांग्रेस हो’
शनिबार, १९ कात्तिक २०७९, १२ : ४२
शनिबार, १९ कात्तिक २०७९

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका राजकिशोर २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।

उनको घर सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत भए पनि यो पटक उनी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा जसपालाई एमालेले सघाउने भएको छ । क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनले चित्रलेखा यादवलाई उम्मेदवार बनाएको छ ।

सिरहा–२ का लागि राजकिशोर यादव नयाँ उम्मेदवार हुन् । अर्कोतिर चित्रलेखाका लागि यो क्षेत्र पुरानै हो । चुनावी माहोल तातिरहेको समयमा चुनावसँग सम्बन्धित विषयमै केन्द्रित रहेर रातोपाटीले जसपा नेता राजकिशोर यादवसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

सिरहा क्षेत्र नम्बर ४ छाडेर तपाईं क्षेत्र नम्बर २ बाट चुनाव लड्दै हुनुहुन्छ, किन आफ्नो क्षेत्र छाड्नुभयो ?

–नेकपा एमालेसँग गठबन्धन बनिसकेपछि हाम्रो पार्टीले मलाई सिरहा क्षेत्र नम्बर २ को जिम्मेवारी दियो । त्यही भएर ४ नम्बर छाडेर २ नम्बरमा जानु परेको हो । मेरो इच्छा त ४ नम्बरबाटै चुनाव लड्ने थियो । तर पार्टीले २ नम्बरका लागि खटाएपछि त्यहाँ गएको हुँ ।

मेरो लागि क्षेत्र नयाँ भए पनि म व्यक्तिगत रुपमा नयाँ होइन, यही जिल्लामा राजनीति गरेका कारण त्यहाँ आउजाउ भइरहन्थ्यो । नेता तथा कार्यकर्ताहरूसँग भेटघाट भइरहन्थ्यो । त्यही भएर मलाई त्यहाँ केही नौलो लाग्दैन ।

सिरहा–२ मा के–कस्ता एजेण्डामा मत माग्दै हुनुहुन्छ ?

म त्यहाँ मतदाताहरूको घरमा जाँदा विगतका जनप्रतिनिधिबाट ठगिएको गुनासो धेरै सुनेँ । जनप्रतिनिधिहरू चुनाव जितेर गएपछि जनताको घरदैलोमा फर्केर गएका छैनन् । विकास निर्माणका कामहरू सो क्षेत्रमा भएकै छैनन् । क्षेत्र जनप्रतिनिधिविहीनजस्तै भएको गुनासो मतदाताले गरेका छन् । क्षेत्रमा घुम्दा जनताको थुप्रै पीडाहरू मैले महसुस गर्न पाएँ । ती पीडाहरू कम गर्ने प्रयास गर्नेछु ।

वरियारपट्टीमा सानो (छोटी) भन्सार छ । त्यसलाई ठूलो भन्सारमा रुपान्तरित गर्दै आर्थिक रुपमा विकसित क्षेत्र बनाउने मेरो लक्ष्य छ । वरियारपट्टीदेखि महेन्द्रराजमार्गमा जोडिएको जिरोमाइल सडकलाई स्तारोन्नति गरी भारतीय सीमासँग जोडेर व्यापार विस्तार गर्ने, सुखीपुर नगरपालिकालाई स्मार्ट सिटी बनाउनुका साथै बसहादेखि औरहीसम्मको सडक र सलहेस मार्गलाई स्तरोन्नति गर्ने योजना छ ।

किसानका लागि सिंचाईको व्यवस्था गरी कृषि सडक बनाउनुको साथै किसानका लागि बजारको व्यवस्था गर्ने एजेण्डाका साथ जनतामाझ गएको छु । कृषिलाई आधुनिकीकरण तथा व्यावसायिकरण गर्दै त्यसलाई रोजगारसँग जोड्ने काम गर्नुपर्छ । तराई मधेसमा सबैभन्दा बढी बेरोजगार महिला देखिन्छन् । उनीहरू घरबाट निस्किदैनन् । त्यस्ता महिलाका लागि रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने काम गर्छु ।

क्षेत्र नम्बर ४ छाडेर २ नम्बर क्षेत्रबाट चुनाव लड्दा कस्ता चुनौती सामना गरिरहनु भएको छ ?

–मैले यसलाई चुनौतीका रुपमा होइन, अवसरका रुपमा लिएको छु । यही जिल्लाको भएको कारण क्षेत्र नयाँजस्तो लाग्दैन । जनताको सोच, परिवेस, चेतना, रहनसहन सबै उस्तै भएका कारण मलाई त्यहाँ कुनै कुराको चुनौती छैन ।

मलाई त्यहाँका जनताको मनोविज्ञान, चाहना र सोचको बारेमा त्यति थाहा थिएन । अहिले केही दिनदेखि घरघर पुगिरहेको छु । विस्तारै सबैको चाहना, आवश्यकता, मनोविज्ञान बुझ्दैछु ।

तपाईंलाई त्यहाँ ‘टुरिस्ट उम्मेदवार’ भन्ने गरिएको छ नि ?

–म बहिरिया हुँदै होइन । विपक्षीहरूले हल्ला फिँजाएर भ्रम सिर्जना गरिरहेका छन् । एउटा जिल्लाको नेता एक क्षेत्रबाट अर्को क्षेत्रमा चुनाव लड्दा कुनै समस्या हुँदैन । जिल्ला नै फरक भएको भए त्यसलाई बाहिरिया वा अरु कुनै आरोप लगाउन मिल्थ्यो तर जिल्लाभित्रकै नेतालाई बाहिरिया भन्न मिल्दैन ।

सुरु सुरुमा विपक्षीहरूले मलाई बाहिरिया भनेर खुब हल्ला गरे । विभिन्न आरोप लगाउने प्रयास गरे । तर अहिले त्यो मत्थर भइसकेको छ । राष्ट्रिय एजेण्डा, विकासको एजेण्डा, राजनीतिक मुद्दा लगायतका विषयमा मसँग बहस गर्न नसक्ने नेताजीहरूले विभिन्न आरोप लगाइरहेका छन् । को बाहिरिया र को भित्रिया भनेर जनताले सबै थाहा पाइसके । जसले मलाई बहिरियाको आरोप लगाइरहनु भएको छ, उहाँ यो क्षेत्रका लागि कस्तो नेता हुनुहुन्छ भन्ने कुरा यहाँका जनताले थाहा पाइसकेका छन् ।

चुनाव जितेर गइसकेपछि एकपटक पनि जनतालाई भेट्न नआउने नेता बहिरिया कि अरु क्षेत्रको भएर पनि जनताको दुःख सुख बुझ्न बेलाबेलामा आउने नेता बहिरिया ? जनताले राम्ररी बुझिसकेका छन् ।

सिरहा–२ मा ‘हेभी वेट’ नेताहरू प्रतिस्पर्धामा छन् भनेर भनिन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

–उहाँ (चित्रलेखा यादव) जनताबाट ‘हेभी वेट’ बन्नु भएको होइन । केन्द्रीय नेतालाई खुसी पारेर उहाँ ‘हेभी वेट’ बन्नुभएको हो । जनताको मतबाट हेभी भए पो ‘हेभी वेट’ नेता भन्न मिल्छ । केन्द्रमा एक दुईजना नेतालाई खुसी पारेर समानुपातिक सांसद भएर केन्द्रबाटै जनतामाथि शासन गर्नेलाई ‘हेभी वेट’ भन्न मिल्दैन ।

म मधेस आन्दोलनको भट्टीबाट जन्मेको नेता हुँ । जनताले पटकपटक मलाई अनुमोदन गरेका छन् । आफ्नो मतको टीका लगाएर केन्द्रसम्म पु¥याएका छन् । म हरहमेसा जनताको माझ हुन्छु । यद्यपि म आफूलाई ‘हेभी वेट’ नेता भन्दिनँ । यो आमजनताले मान्ने या नमान्ने कुरा हो । म जनताको छोरा हुँ, जनताकै बीचमा छु र जीवनभर जनताकै बीचमा रहन्छु । म ठूला कुरा पनि गर्दिनँ । गरिब, किसान, मजदुरको कुरा गर्छु । जनताबाट चुनिएको कारण जनपक्षीय कुरा गर्छु ।

चित्रलेखाजी एकपटक २०५६ सालमा मात्र चुनाव जित्नु भयो । त्यसपछि कहिल्यै चुनाव नै लड्नु भएन । जतिपटक सांसद हुनुभयो, समानुपातिकबाट हुनुभएको छ । २०५६ मा चुनाव जितेर गएपछि एक पटक पनि जनताको घरदैलोमा उहाँ जानु भएको छैन । यो कुरा अहिले त्यहीँका मतदाताले भनिरहेका छन् ।

केही दिन अघि तपाईं र चित्रलेखा यादवबीच यही विषयलाई लिएर झडप भएको हो त ?

–त्यो झडप होइन । चित्रलेखाजीले कुरा नबुझेर बाझ्न खोज्नु भएको मात्र हो । संघीय सांसदका उम्मेदवारको स्तर कस्तो हुनुपर्छ भनेर मैले कार्यक्रममा बुझाउन खोजेको थिएँ । तर उहाँले मेरो कुरा नै सुन्न चाहनु भएन । उहाँका सबै कुरा शान्तपूर्वक सुनेँ तर जब मेरो बोल्ने पालो आयो, अनि उहाँले जानीजानी विवाद खडा गर्नुभयो । उहाँलाई थाहा थियो कि जनताको सामु मेरो पोल खोल्छन् । जनतालाई आफ्ना सबै गतिविधि भनिदिन्छन् कि भन्ने उहाँलाई डर थियो । त्यही भएर उहाँले जबर्जस्ती त्यो कार्यक्रमलाई भाँड्ने प्रयास गर्नुभयो । उहाँले गलत हरकत त्यहाँ गर्नुभयो ।

तपाईंको कुन कुरामा उहाँको चित्त बुझेन ?

–उहाँले बोलिसकेपछि मैले काउन्टर जवाफ दिन थालेपछि उहाँलाई चित्त बुझेन । उहाँले जनतालाई गलत सूचना, राजनीतिका गलत तथ्यांकहरू दिनुभयो । भए नभएका कुरा जनतालाई भन्नुभएको थियो । त्यसको काउन्टरमा मैले पनि आफ्नो कुरा राख्न थालेपछि उहाँ उत्तेजित भएर त्यसलाई भाँड्ने काम गर्नुभयो । उहाँले त्यहाँ के हरकत गर्नुभयो भन्ने कुरा जनताले थाहा पाइसकेका छन् ।

एमाले मधेस विरोधी हो भन्ने एउटा मनोवैज्ञानिक छाप छ । यस्तो अवस्थामा तपाईंको पार्टीले एमालेसँग गठबन्धन गरेको छ । त्यसले यो चुनावमा कति प्रभाव पार्छ ?

–कुनै प्रभाव पारेको छैन । जनता खुसी छन् । यो चुनावी गठबन्धनमात्र हो । चुनावपछि एमालेसँगको गठबन्धनलाई निरन्तरता दिने कि नदिने भनेर छलफल हुन्छ । तर वर्तमान अवस्थामा जसपा र एमालेबीच चुनावी एजेण्डा मिल्यो, चुनावी रणनीति मिल्यो, त्यही भएर गठबन्धन भएको हो । एमाले पनि एउटा अग्रगामी विचार लिएर राजनीति गरिरहेको छ भने जसपा पनि एउटा अग्रगामी विचारमा राजनीति गरिरहेको छ ।

वर्तमान अवस्थामा एमालेसँग हाम्रो चुनाव लाइन मिल्यो र हामीले गठबन्धन ग¥यौं । अहिले सँगै चुनावमा छौं । दुवै पार्टीका नेता तथा कार्यकर्ताहरू एक अर्कासँग घुलमिल गरिसकेका छन् । एक अर्काको झण्डा बोकेर हिँड्न थालेका छन् । एक अर्काको चुनाव चिह्नलाई प्रचार प्रचार गरिरहेका छन् । मुख्य कुरा मतदाताले पनि जसपा–एमाले गठबन्धनलाई अनुमोदन गरिसकेको छ ।

एमाले मधेस विरोधी हो, नागरिकता समस्या समाधान हुन दिएन भन्नेजस्ता आरोप लागिरहेको होइन र ?

–यो आरोप विपक्षीहरूले लगाइरहेका छन् । विपक्षीको काम नै आरोप लगाउनु हो । विपक्षीहरूलाई पनि चुनावी मुद्दा चाहियो । जबर्जस्ती अफवाह फैलाउने काम गरिरहेका छन् । जनतामा भ्रम सिर्जना गर्ने काम गरिरहेका छन् । मधेसले एमालेलाई स्वीकारीसकेको छ, एमालेले मधेसलाई स्वीकार गरिसकेको छ भने यसमा अरुले टाउको दुखाउनु हुँदैन । चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ । त्यसपछि थाहा हुन्छ कि मधेस विरोधी को हुन् !

मधेसलाई मुख्य रुपमा बर्बाद पार्ने पार्टी नेपाली कांग्रेस हो । कांग्रेस पार्टीले मधेसलाई कहिल्यै अगाडि बढ्न दिएन । कांग्रेस पटकपटक सत्तामा आयो तर मधेसका लागि केही गरेन । बरु मधेसका लागि कांग्रेसभन्दा एमालेले धेरै काम गरेको छ । त्यो कुरा जनताले पनि थाहा पाइसकेका छन् ।

एकातिर पाँच दलको गठबन्धन अर्कोतिर जसपा–एमालेको दुई दलीय गठबन्धन । यस अवस्थामा तपाईंले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई कसरी चुनौती दिन सक्नु हुन्छ ?

–नामले मात्र पाँच दल भनिएको छ, ताकत छैन । मतदाताले पाँच दलीय गठबन्धनको पछि नलाग्ने संकेत गरिसकेका छन् । पाँच दलीय गठबन्धन भनिए पनि तराई मधेसमा संगठनको हिसाबले कांग्रेस मात्र हो । कांग्रेसको अलिअलि संगठन देखिन्छ, माओवादी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको कुनै संगठन छैन । त्यस हिसाबले हाम्रो गठबन्धन नै बलियो छ ।

पछिल्लो समय एमालेले पनि मधेसमा राम्रो संगठन बनाएको छ । त्यसको प्रमाण स्थानीय तहको चुनावले दिइसकेको छ । मधेसमा जसपाको सबभन्दा बलियो संगठन छ । त्यसैले पाँच दलको गठबन्धनलाई दुई दलको गठबन्धनले परास्त गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप