शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘जनताले तपाईं मुख्यमन्त्री हुनुपर्छ भनेर माया र स्नेह गर्दैछन्’ (भिडियोसहित)

कांग्रेससहितको गठबन्धनसँग हाम्रो निकटता र सामीप्यता थियो : सोनल
सोमबार, २१ कात्तिक २०७९, १७ : ३७
सोमबार, २१ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले बारा–४ को प्रदेशसभा निर्वाचन ‘ख’ मा उम्मेदवारी दिएका छन् । एमालेको समर्थनमा चुनावी मैदानमा खडा भएका उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का आत्मराम प्रसाद साहसँग हुने देखिन्छ ।

सोही क्षेत्रबाट ५ स्वतन्त्रसहित जनमत पार्टी, हाम्रो नेपाली पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र विवेकशील साझा पार्टी समेत चुनावी मैदानमा छन् । यस्तो पृष्ठभूमिमा रातोपाटीले लोसपाका उम्मेदवार सोनलसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

तपाईंले प्रदेशमा उम्मेदवारी दिएर दोहोर्‍याएर कक्षा लिन खोज्नु भयो है ? 

मैले चौथो पटक प्रतिस्पर्धा गर्दैछु ।

कमजोर विद्यार्थी पो दोहोर्‍याइ तेहेर्‍याइ पढ्छ त ?

 मैले तेस्रो पटक निर्वाचन लडिसकेको छु । यो चौथो पटक प्रतिस्पर्धा गर्दैछु । मैले यस क्षेत्रका जनताबाट अपार माया र प्रेम पाएको छु । दुई पटक चुनाव जितिसकेको छु । चौथो पटक चुनावी प्रतिस्पर्धामा छु ।

तपाईं संघमै लड्नुपर्ने हो नि । किन प्रदेशमा दोहोर्‍याएर चुनाव लड्नु भएको हो ?

मैले पहिलो पटक निर्वाचन पहिलो संविधान सभा निर्वाचनमा लडेको हो । यहाँका जनताले माया गरेर जिताएर पठाए । निर्वाचित भएर गएपछि संघीयता र मधेसको बारेमा शोषित–पीडित जनताको पक्षमा राम्रोसँग वकालत गरेँ । संघीयता कार्यान्वयनमा गएपछि पार्टीले संघीयतालाई संस्थागत गर्न प्रदेशमा जानुपर्‍यो भनेर भनेपछि म  प्रदेशमा आएँ । अझै धेरै काम गर्न बाँकी छ भन्ने भएपछि अहिले पनि प्रदेशमा आएँ ।

यस क्षेत्रका जनताले तपाईंलाई किन भोट हाल्ने ?

यस क्षेत्रका आमजनताको  भौतिक विकास, संस्कृतिक र मानवीय विकास गर्न जति एउटा जनप्रतिनिधिले गर्नुपर्छ  त्यो भन्दा बढी अहोरातत्र खटेर मैले  जनताको दुःख सुखमा साथ दिएर काम गरेको छु । प्रदेशको भौतिकमन्त्री भएपछि मैले धेरै काम गरेँ । म मन्त्री हुनुभन्दा पहिले वीरगन्ज र हाइवे वरपरको अवस्था साह्रै खराब थियो । त्यसपछि एउटा अवधारणा ल्याएर जनताको जनजीवन सुगम बनाएँ । मेरो अपेक्षाकृत बमोजिम ईश्वरले साथ दिनुभयो । अहिले आएर जनताले आफ्नै आँखा अगाडि सुख भोग्दै छन् ।

२०६४ सालमा चुनाव जितेर केन्द्रमा जानुभयो, प्रदेशमा लडिसक्नुभयो । अब मुख्यमन्त्री बन्न चुनाव लड्दै हुनुहुन्छ ?

म पार्टीको कार्यकर्ता र सिपाही हुँ । पार्टीले जे निर्णय गर्छ त्यो मान्छु । पार्टीले मुख्यमन्त्री बन भन्यो भने मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्छु । पार्टीले प्रदेश सदस्य मात्रै भएर जनताको सेवा गर भन्यो भने त्यहीँ गर्छु । म पार्टीका लागि काम गर्ने नेता हुँ । यहाँका जनताले तपाईं मुख्यमन्त्री हुनुपर्छ भनेर माया र स्नेह गर्दैछन् । मैले गरेका कामबाट जनताले सुख सुविधा पाएका छन् । जसरी विकटताबाट सुगमता भएको छ त्यसबाट जनता काफी खुसी छन् भन्ने मलाई लाग्छ ।  मेरो उम्मेदवारीले मैले जनतामा उत्साह र उमङ्ग देखेको छु ।

अहिले यसअघिको भन्दा निर्वाचन प्रतिकूल छ भन्ने लाग्दैन ?

अर्को क्षेत्रका के होला भन्न सक्दिँन । बाराको क्षेत्र नम्बर ४ त्यसमा पनि प्रदेश सभा ‘ख’ मा कुनै प्रतिकूल परिस्थिति छैन । वैशाखको स्थानीय चुनावमा हाम्रो पार्टीको लिडिङ भोट छ । अझ पाँच दलीय गठबन्धन बनेपछि जनधार बलियो बनेको छ । त्यसकारण यस क्षेत्रमा कुनै प्रतिकूलता छैन । बरु हामी पाँच दलीय गठबन्धनमा गएपछि प्रदेश सभाका दुई क्षेत्र सहज भएको छ । मतको डाटा हेर्नुभयो भने प्रतिस्पर्धा नै छैन । एकातिर ५० हजार भन्दा बढी छ मत अर्कोतिर ३० हजार भन्दा कम मत छ । यस्तो अवस्थामा कसरी प्रतिस्पर्धा हुन्छ ?

भनेपछि जित हुनेमा सतप्रतिशत ढुक्क हुनुहुन्छ ?

हामी जनताको सर्वोच्चतालाई स्वीकार गर्छौँ । जनताको जनादेशलाई स्वीकार गर्छौँ । त्यो आउन बाँकी छ । जसरी जनतामा गएर स्नेह र मायाको रुझान पाएका छौँ ती सबै अवस्थालाई हेर्दा हामी जितको अवस्थामा पुगेका छौँ भन्ने लाग्छ ।

लोसपाले केन्द्रमा डबल डिजिटमा चुनाव जित्ने अवस्था छैन । यसो हुँदा लोसपाको इज्जत जितेन्द्र सोनलले धान्छन् भन्दा हुन्छ ?

लोसपा एउटा परिपक्व लिडरसिपको जमात भएको पार्टी हो । लोकतन्त्रमा स्वाभाविक रुपमा पार्टी फुट्ने, जुट्ने र ठुलोसानो हुने भइरहन्छ । हामीले मूल्यमान्यतासहितको दुई आधार बोकेका छौँ । लोकतान्त्रिक मूल्यमान्यता र संघीयतालाई संस्थागत गर्दै शोषित पीडित जनताको मुद्दालाई सम्बोधन गर्ने भनेका छौँ । ती मुद्दा सम्बोधन गर्ने सवालमा पार्टी सानोठुलो जे जस्तोसुकै भएपनि यो जीवन्त पार्टीको रुपमा रहन्छ ।

महन्थ ठाकुरको लिडरसीपमा परिपक्वता र विश्वसनीयता छ । त्यसैले म जस्ता हजारौँ नेता कार्यकर्ता पार्टीमा छन् । पार्टी टू डिजिटमा जान्छ जाँदैन भन्दा पनि मधेस प्रदेशमा सानदार रुपमा उपस्थित हुन्छ । हामी १६ सिटमा चुनाव लडेका छौँ । त्यसमध्ये प्रदेश सभामा १२ सिटमा चुनाव जित्छौँ । प्रतिनिधिसभामा पनि ८ सिटमा उल्लेख्य मात्रामा जित्दैछौँ । अरु ठाउँमा पनि हाम्रा उम्मेदवार छन् । हाम्रो पार्टी मुद्दाका साथ अघि बढेको छ ।

तपाईंहरु अन्तिममा सत्ता गठबन्धनमा गएपछि मधेसका जनताले मन पराएनन् भन्ने छ नि ?

सिट बाँडफाडको अवस्थालाई हेर्दा तपाईंले भनेको सत्य हो । कांग्रेससहितको गठबन्धनसँग हाम्रो निकटता र सामीप्यता थियो । विगतलाई हेर्नुहुन्छ भने हामी यो सरकारसँगै थियौँ । हामीले सरकार निर्माणमा भोट हाल्यौँ, सरकारका हरेक विधामा भोट हालेका छौँ । उपसभामुखको चुनाव हुँदा सत्ता गठबन्धनलाई भोट हालेकै हो । हामी सरकारमा नभएको हुन सक्ला । तर, गठबन्धन दलका पार्टीसँग सामीप्यतामा थियौँ ।

फोटो/भिडियो : रोशन पोखरेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप