शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्यो अकर्मण्य निर्णयविरुद्ध हाम्रो विद्रोह हो : मनोजकुमार मेयाङ्गबो

बिहीबार, ०१ मङ्सिर २०७९, ११ : ४६
बिहीबार, ०१ मङ्सिर २०७९

प्रतिनिधिसभा सदस्यका लागि सुनसरी–१ बाट स्वतन्त्र रूपमा उम्मेदवार रहेका मनोजकुमार मेयाङ्गबो धरानका पूर्व मेयर हुन् । २०४९ सालमा उपमेयर बनेका उनी २०५४ सालमा मेयरमा विजयी भए । पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी १ बाट एमालेका उम्मेदवार बनेका मेयाङ्बो माओवादीका उम्मेदवार किरण राईसँग पराजित भएका थिए । त्यसपछि धरानको विभिन्न सामाजिक विषयमा आवाज उठाउँदै उनी ५ वर्षसम्म नागरिक समाजको अध्यक्ष भएर नागरिक आन्दोलनमा सक्रिय रहे । 

यसपटकको चुनावमा उनले प्रमुख दललाई टक्कर दिने आङ्कलन गरिएको छ । अहिले उनी निर्वाचन प्रचारमा व्यस्त छन् । आसन्न निर्वाचनको सम्बन्धमा मेयाङ्गबोसँग रोहित दाहालले गरेको कुराकानी :

–गठबन्धनका ठूला उम्मेदवारसँग प्रतिस्पर्धामा हुनुहुन्छ, डर कतिको लागेको छ ?

डर लागेको छैन किनभने जनता मेरो साथमा हुनुहुन्छ । पार्टीहरूको गठबन्धन छ तर पार्टीका कार्यकर्ता र नेताहरूको गठबन्धन भने मसँग छ । त्यसकारण म उहाँहरूसँग डराएको छैन । उहाँहरू भने मसँग डराइरहनुभएको छ ।

–तपाईंलाई कसकसको सहयोग छ ?

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र जसपालगायत सबै पार्टीका नेता तथा कार्यकर्ताहरूले मलाई सहयोग गर्दै हुनुहुन्छ । त्यसको अलावा धरानका सबै खालका मतदाताहरू युवादेखि वृद्धसम्म मेरो पक्षमा छन् । यसमा खेलाडी, युवा, कलाकार, विभिन्न धर्मावलम्बीलगायत सबै तह र तप्का मानिससमेत मेरो पक्षमा उभिनुभएको छ । मत माग्ने क्रममा म जति ठाउँमा पुगेको छु । उहाँहरूको शुभकामना र शुभेच्छा मैले प्राप्त गर्दै आएको छु ।

–आफूले लामो समय योगदान गरेको पार्टी नेकपा एमालेको निर्णय लत्याएर किन उम्मेदवारी दिनुभयो ? पार्टीले त तपाईंलाई राम्रै सम्मान दिएको थियो होइन र ?

पार्टीले सम्मान दियो वा अपमान दियो, त्यो मलाई अनुभूति हुने कुरा हो । यो क्षेत्रका जनतालाई अनुभूति हुने कुरा हो । यहाँका राष्ट्रिय पार्टीहरूले हाम्रो सिङ्गो क्षेत्रलाई मात्र उपेक्षा गरेनन्, यो क्षेत्रका नेता र कार्यकर्तालाई पनि उपेक्षा गर्दै आए । पार्टीहरूले कहिल्यै पनि हाम्रो भावनाको कदर गरेनन् । हाम्रो भावनामाथि कुठाराघात गर्दै आए । हाम्रो नेता चुन्न पनि हाम्रो अधिकार नरहेको अवस्था आयो । विकास निर्माणको प्रथामिकता तोक्ने अधिकारसमेत हामीसँग रहेन । हाम्रा अनुरोध, अनुनयविनय र अपिललगायत केही कुराको पनि सुनुवाइ भएन ।

–के थियो त्यो अनुनयविनय ?

धरानको विकासको सवालमा हामीले जति पनि मागहरू गरेका छौँ, त्यो मागलाई न कांग्रेस, न एमालेका नेताहरूले  सुनुवाइ गरे । दुवै पार्टीको नेतृत्वमा धेरै पटक सरकार बने । हामीले उनीहरूलाई धेरै कुरा अपिल गर्यौँ । तर कुनै सुनुवाइ भएन । अहिले कस्तो अवस्था आयो भने हामीले भोट हाल्ने मानिस पनि उहाँहरूले पठाउने र हामीले भोट हालेर उहाँहरूलाई नेता बनाएर पठाउनुपर्ने स्थिति भयो । त्यसैले विद्रोहको खाँचो देखियो । त्यो विद्रोह गर्ने नेतृत्व मैले लिएँ । यस अर्थमा मेरो उम्मेदवारी यस क्षेत्रका नेता, कार्यकर्ता लागि मात्र नभएर यो क्षेत्रलाई उपेक्षा गर्ने राष्ट्रिय पार्टीका नेताहरूको निर्णयविरुद्ध र उनीहरूको मानसिकताविरुद्ध हो । 

–स्थानीय नेतालाई पार्टीले टिकट दिएन भन्ने हो कि, अहिले टिकट पाएका स्थानीय होइनन् भन्ने तपाईंको धारणा हो ?

अहिले टिकट पाएका नेतालाई हामी टुरिस्ट नेता भनिरहेका छौँ । उहाँहरू धरानका पनि होइनन् । उहाँहरूले धरानलाई समय पनि दिनुभएको छैन । यस्ता नेता छन् जो ५ वर्षअगाडि एउटा पार्टीसँग सहकार्य गरेर आउनुभयो, अहिले फेरि अर्को पार्टीसँग गठबन्धन गरेर आउनुभएको छ । हामीले सर्वसम्मत रूपमा चुनेर पठाएका नेतालाई भने लात हान्ने काम भयो । त्यो अकर्मण्य निर्णयविरुद्ध हाम्रो विद्रोह हो । 

–एमालेले टिकट नदिएकाले विद्रोह भन्न मिल्छ त ?

यो कुरो सत्य होइन । म टिकटको आकाङ्क्षी पनि थिइनँ ।  हामीले पूर्वमाननीय जयकुमार राईलाई नै सर्वसम्मतले उम्मेदवारका रूपमा एकल नाम पठाएका थियाँै । त्यो नाम लत्याएर अशोककुमार राईलाई पठाउने काम भएको छ । यसको विरुद्धमा मेरो कदम हो । प्रदेश तथा सङ्घीय कुनै पनि स्थानमा मेरो आकाङ्क्षा होइन । म समानुपातिकमा पनि लड्दिनँ, अप्पर हाउसको पनि इच्छा छैन । पार्टीलाई एकताबद्ध र एक ढिक्का गराएर लान चाहन्छु । पार्टी एक ढिक्का बनाएर अगाडि बढाउनुस्, मेरो आवाज त्यही हो । 

–एमालेको आफ्नै उम्मेदवार भएको भए तपाईंको यो विद्रोह हुँदैन थियो ?

जरुरी नै थिएन । हामीले सर्वसहमतीले जुन नाम पठाएका थियाैँ त्यो नाम आउनेबित्तिकै हामी सबै एक भएर अगाडि बढ्थ्यौँ । अहिलेसम्म गिरेको शाख पनि बचाउँथ्यौँ । यो क्षेत्र जसरी एमालेको अखडाका रूपमा लिइन्छ त्यो इतिहास जोगाइराख्न हामी सक्षम हुन्थ्यौँ । केन्द्रका नेताहरूको अकर्मण्य निर्णयको कारणले गर्दा अहिले विडम्बना भएको छ । 

–तपाईं हिजोसम्म नेकपा एमालेको नेता हो । अहिले केपी ओलीले तपाईंलाई ब्याकअपमा उठाउनुभएको भन्ने हल्ला पनि चलेको छ । केपी ओलीको भाषणले पनि तपाईंलाई सहयोग पुग्यो होला नि होइन ?

–भाषणले मलाई जितका नजिक लान सहयोग पुगेको छ । उहाँले कतिखेर टिकट दिनुभयो, कतिखेर आश्वासन दिनुभयो मलाई त थाहा छैन । वैशाख ३० को स्थानीय निर्वाचनमा म मेयरको प्रत्यासी थिएँ । पार्टीले पनि मलाई मेयर बनाउने निर्णय गरिसकेको अवस्थामा उहाँले आफ्नो नजिकका, गोजीका मानिस उम्मेदवार बनाएर पठाउनुभयो । हामीले सहजै जित्ने चुनावमा पनि नराम्रोसँग पराजय हुन पुग्यौँ । त्यस अर्थमा उहाँको आरोपमा कुनै दम छैन । त्यो कुरो यस क्षेत्रका कुनै पनि कार्यकर्ताले पत्याएका पनि छैनन् र पत्याउने कुरो पनि होइन ।

–एमाले अध्यक्ष केपी ओलीले उठ्न ग्रिन सिग्नल नदिएकै हो त ?

एमालेले ग्रिन सिग्नल दिएको भए अहिले स्थानीय सत्ता एमालेको हातमा हुन्थ्यो । मलाई मेयर दिलाउन यहाँका सारा कार्यकर्ता जगमगाएका थिए । कार्यकर्ता मात्र होइन, पूरै नगरवासी सक्षम र योग्य मेयर पाउने भयौँ भनेर जुर्मुराएका थिए । त्यो अवस्थामा उहाँले आफ्नो पकेटको मानिस ल्याएर उभ्याउनुभयो । त्यस्तो व्यक्तिको उम्मेदवारीसँगै हाम्रो हार निश्चित थियो । त्यसको प्रतिक्रिया पनि मैले त्यतिबेला दिएको थिएँ । त्यो हुँदाहुँदै पनि हामीले पार्टीको निर्णय शिरोधार्य गरेर गएका थियौँ । हामी नराम्रोसँग हार्यौँ ।

–तपाईं विजयी हुनुभयो भने एमालेमा फर्किनुहुन्छ होला हैन ?

थुकेको थुक चाट्ने खालको मानिस म परिनँ । म वचनमा पक्का मानिस हो । मैले जतिखेर विद्रोह गरेर उम्मेदवारी दिएँ त्यही क्षणबाट एमालेको साधारण सदस्य पनि नरहेको घोषणा गरिसकेको छु । पार्टीले मलाई कारबाहीसमेत गरेको छ । मैले पटक पटक सञ्चार माध्यमबाट भनेको छु, मेरो स्टाटस अब स्वतन्त्रका रूपमा  हुनेछ । म स्वतन्त्र नै रहन चाहन्छु । म विजय भएर सांसदमा गएँ भने पनि मेरो भूमिका स्वतन्त्र सांसदका रूपमा हुनेछ । सरकारको काम कारबाही, गुण र दोषका आधारमा मेरो विरोध वा समर्थन गर्ने भूमिका रहन्छ । 

–एउटा स्वतन्त्र सांसद संसद्मा गएर केही हुँदैन भन्ने छ नि ?

आँगो सल्काउन अगुल्टो नै चाहिँदैन, झिल्को भएपुग्छ । त्यो झिल्को बन्न सक्छु । अहिलेसम्म पार्टीबाट जति सांसद भए उनीहरूले संसद्मा राष्ट्रविरोधी निर्णय, सम्झौता हुँदा पार्टीका ह्विपका आधारमा मुकदर्शक भएर, मुख बन्द गरेर र विवेक बन्द गरेर बस्नुपर्ने अवस्था रह्यो । त्यो अवस्थामा स्वतन्त्र सांसदहरूको ठूलो भूमिका रहन्छ भन्ने मेलै विश्वास लिएको छु । स्वतन्त्र सिङ्गल सांसदले पनि जनताको आवाज बोल्यो भने त्यो महत्त्वपूर्ण कुरा हुनसक्छ ।

–तपाईंले विकासका मुद्दा के अगाडि सार्नुभएको छ ? किन  सुनसरी क्षेत्र नम्बर १ का जनताले तपाईंलाई भोट दिने ?

–यो क्षेत्रलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र, औद्योगिक  र व्यापारिक केन्द्र बनाउने लक्ष्य धरानले त राखेको छ । त्यो लक्ष्य र दूरदृष्टि निर्माण गर्ने व्यक्तिमै थिएँ नगर प्रमुखको हैसियतमा । यस क्षेत्रको विकासका लागि धार्मिक पर्यटन प्रवर्द्धन गर्न लागि हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण मठमन्दिर यहाँ छन् । जस्तै पिण्डेश्वर, बाबाधाम, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, विष्णुपादुका, बराहक्षेत्रलगायत धेरै छन् । ती धार्मिक क्षेत्रहरू राष्ट्रिय कार्यक्रमअन्तर्गत सडक सञ्जालबाट जोड्न सकियो भने यो क्षेत्र धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । अर्को कुरो प्राकृतिक हिसाबले धरान र १ नम्बर क्षेत्र अत्यान्तै सुन्दर छ । यहाँका पहाड, चारकोसे झाडी र खोलानालासम्म स्तरीय सडकको विस्तार गरेर जान सकिएको अवस्थामा लगानीकर्ताहरूलाई आकर्षण गरेर त्यो क्षेत्रको विकास सहज ढङ्गले गर्न सकिन्छ । त्यस अर्थमा विशेष गरेर यस क्षेत्रका सडक सञ्जालहरूको विकास ५ वर्षभित्र केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारका बजेटहरूको संंयोजन गरेर स्थानीय विकास र निर्माणको प्राथमिकताको आधारमा योजना बनाउने र त्यसलाई बजेट विनियोजन गर्दै कार्यान्वयन गर्ने हो भने ५ वर्षमा उल्लेख्य कामहरू गर्न सकिन्छ । त्यो संयोजनकारी भूमिका यहाँको सङ्घीय सांसदले गर्नुपर्दछ । त्यसको अभिभावकत्व म दिनसक्छु भन्ने मेरो विश्वास हो । 

–विजयको कति निकट हुनुहुन्छ ?

–सबै जना मेरो पक्षमा हुनुहुन्छ । गठबन्धनका पार्टीहरूले गरिरहेका छन् । ती पार्टीका नेता र कार्यकर्ता मेरो पक्षमा छन् । यहाँका सारा जनता मेरा पक्षमा छन् । त्यो अर्थमा मेरो जित सुनिश्चितताका साथ अगाडि बढिरहेको आभास मिलेको छ ।

–स्थानीय तहको निर्वाचनमा धरान नगरपालिकामा स्वतन्त्रले बाजी मारेकाले तपाईं स्वतन्त्र बन्न आकर्षित हुनुभएको हो कि ?

यो खालको आकर्षण होइन । मेरो उम्मेदवारी रहर होइन, बाध्यताको बोझ हो । सांसद बन्ने मेरो रहर होइन, हामीलाई सारै हेपे । एक पटक उनीहरूलाई चुनौती दिइहालौँ भनेर उठेको हो ।

–तपाईंको मुख्य प्रतिस्पर्धी को हो त ?

मेरा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनभन्दा पनि एमाले गठबन्धन हो । उहाँ तेस्रो वा चौथो हुने सम्भावना पो देख्छु म । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप