शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

६ घण्टामा कति खस्यो भोट ? आयोगले केहीबेरमा जानकारी दिँदै

आइतबार, ०४ मङ्सिर २०७९, १२ : ३७
आइतबार, ०४ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशैभर मतदान भइरहेको छ । केही स्थानमा भएका छिटपुट घट्नाबाहेक बाँकी स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता रहेको देखिन्छ । 

बिहान ७ बजेबाट सुरु भएको मतदानमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदैछन् । तर बितेको झन्डै ६ घण्टामा कति प्रतिशत मत खस्यो भन्ने जानकारी आयोगले दिएको छैन ।  आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आयोगले मतदानबारे जानकारी दिने भएको छ । 

यसैबीच केही मतदान केन्द्रमा भएको सामान्य विवादको कारण स्थगन भएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिन पनि आयोगले निर्देशन दिएको छ ।

१० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग भइरहेको छ ।  यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दैछन् ।

यो निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवार अन्तिम बन्द सूचीमा कायम छन् ।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ ।

निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप