शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आम निर्वाचन : ११ जिल्लामा गोली चल्यो

आइतबार, ०४ मङ्सिर २०७९, १७ : ००
आइतबार, ०४ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभातर्फ चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए ।
ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको छ ।

चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ । राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।

दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाउनुपरेको दोलखाका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ नम्बर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १ मा प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका–९ मा पनि गोली चलेको छ ।

तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलाउनु परेको बागमती प्रदेशकी डीआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । कालापनीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा गोली चलेको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ । त्यस्तै मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ ।

बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ ।  डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दार्चुलाको  मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप