शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, १४ : ३७
मङ्गलबार, ०६ मङ्सिर २०७९

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।  एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछि परेको छ ।

रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विक २३३८ मतसहित अग्रपंक्तिमा रहेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी १८३७ मतसहित दोस्रो र  पाँच दलीय गठबन्धनको साथ पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल १८०२ मतसहित तेस्रो स्थानमा छन् ।

रुपन्देही २ मा ४१३४ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अग्रपंक्तिमा छन् । एमालेका विष्णु पौडेल ४०६९ मतसहित दोस्रो स्थानमा छन् भने पाँच दलीय गठबन्धनबाट जनमुक्तिका केशव थापा ३१४२ मतका साथ तेस्रो स्थानमा छन् । 

रुपन्देही ३ मा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका दीपक बोहोरा ६३७३ मतसहित पहिलो स्थानमा छन् भने पाँच दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण ५१२४ मत ल्याएर बोहोरालाई पछ्याइरहेका छन् ।

रुपन्देही ४ मा भारी मतान्तरसहित लोकतान्त्रिक समाजावादीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला अघि छन् । शुक्लाले ८८४३ मत पाउँदा उनका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट कांग्रेसका प्रमोद यादवले २७६१ मत हासिल गरेर दोस्रो स्थानमा छन् भने ३६१५ मतसहित जनमत पार्टीका भोपेन्द्रप्रसाद यादव तेस्रो स्थानमा छन् ।

त्यस्तै रुपन्देही ५ मा एमाले–राप्रपा गठबन्धनबाट एमालेका वासुदेव घिमिरे १०२५५ मतसहित अग्रपङ्क्तिमा छन् भने प्रतिस्पर्धामा रहेका पाँच दलीय गठबन्धनबाट भरत शाह ८२२२ मतसहित दोस्रो स्थानमा छन् ।  यी पाँच क्षेत्रमा मत संख्या ५० देखि ८० हजारसम्म रहेकोले कसको जित हुन्छ भन्ने अवस्थाको अझै अनुमान गर्न सकिँदैन । हालसम्म यी क्षेत्रमा १० देखि १५ हजारसम्म मत गणना भएको निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप