शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली : मुख्यमन्त्रीका आकाङ्क्षी ८ मध्ये ६ जना निर्वाचित !

मुख्यमन्त्रीका दाबेदार एमालेका शाह र कांग्रेसका शाही पराजित, निर्वाचित को कस्तो ?
शनिबार, १० मङ्सिर २०७९, ०९ : ५२
शनिबार, १० मङ्सिर २०७९

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएका छन् ।   निर्वाचन तोकिएसँगै मुख्यमन्त्रीको आकाङ्क्षी स्वरूप चुनावी मैदानमा होमिएका ८ जना नेताहरू मध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। 

भावी मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसबाट ३, नेकपा एमालेबाट २ र नेकपा (माओवादी केन्द्र) बाट दुई जनाको नाम चर्चामा थियो । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाह र नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन् । 

सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिएका थिए । यद्यपि उनको निर्वाचन क्षेत्र जुम्ला (क) मा उनीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले चुनाव जिते । 

सभापति शाही कांग्रेसको संस्थापन पक्षधर नेता हुन् भने देवेन्द्रइत्तर पक्षधर नेता हुन् । उनी ०७४ मा प्रतिनिधि सभामा पराजित भएका थिए । यद्यपि उनको जुम्लामा व्यक्तिगत प्रभाव राम्रै भएकाले उनको विजयी भएको बताइन्छ । 

देवेन्द्रले १ हजार ८९९ मतान्तरसहित ललितजंगलाई पराजित गरेका हुन् । यो क्षेत्रमा खसेका २४ हजार ७८८ मतमध्ये देवेन्द्रको पक्षमा ९ हजार ६५४ मत आउँदा पराजित शाहीको पक्षमा ७ हजार ७५५ मत मात्रै आयो ।

प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ भएपनि पराजित भएका हुन् । मुख्यमन्त्रीका आकाङ्क्षी मध्ये पराजित हुनेमा एमाले सह–इञ्चार्ज गुलाबजंग शाह पनि हुन् । उनी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश अधिकारीसँग पराजित भएका हुन् । 

०७४ मा सल्यान (क) बाट निर्वाचित भएर प्रदेश सभामा एमाले सचेतक भइसकेका शाह यो पटक यामलाल कँडेलको विकल्पमा आफुलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा उभ्याउँदै आएका थिए । पराजित हुने डरले निर्वाचन क्षेत्र बदलेर (ख) मा चुनाव लडेका उनी पराजित भए । 

उनी कांग्रेसका अधिकारीसँग ३ हजार ७८० मतान्तरले पराजित भएका हुन् । निर्वाचित हुनेमा माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट, कांग्रेसबाट राजीबबिक्रम शाह, जीवनबहादुर शाही एमालेबाट यामलाल कँडेल छन् । 

रुकुम पश्चिम प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका माओवादी नेता शर्मा १२ हजार ८२ मतान्तरसहित निर्वाचित भए । खसेको ३० हजार ४२९ मतमध्ये शर्माले २० हजार १६०  मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्णबहादुर घर्तीले ८ हजार ७८ मत पाएका छन् ।

शर्मा माओवादीभित्र सिनियर नेता भएपनि अहिलेसम्म संसदीय निर्वाचनमा भाग लिएका थिएनन् । स्कुल पढ्दा–पढ्दै ०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका शर्माले जनयुद्धताका साविक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गरिसकेका छन्। 

यसअघि नै प्रदेशको नेतृत्वमा आफ्नो दाबेदारी रहने बताइसकेका उनी सशस्त्र द्धन्द्धको क्रान्तिबाट खारिएका नेताको रुपमा चिनिन्छन् ।

शर्मा यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए । ०२८ सालमा रुकुमको चौरजहारी नगरपालिका–१४ नुवाकोटमा जन्मिएका शर्मा सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्दथे । ०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि जहानिया राजतन्त्रको विरुद्धमा वकालत गर्दै एकाएक कम्युनिष्ट राजनीतिमा उदाए ।

०४६ मोटो मसालको पार्टी सदस्यता प्राप्त गरेका उनी ०४७ सालदेखि पूर्णकालिन राजनीतिमा होमिएका थिए । उतिबेला संसदीय व्यवस्था भनेकै ‘खसीको टाउको झुण्ड्यायर कुकुरको मासु घिच्ने’ थलो हो भन्ने बुझेको शर्माले पहिलो पटक आफ्नो संसदको यात्रा सुरु गरेका छन् ।

जनयुद्धको समयमा संगठनमा आफ्नो भूमिकालाई सहज रुपमा निर्वाह गर्नसक्ने भएकाले ०५४ साविक कर्णालीका जिल्लाहरुमा विभिन्न कमाण्डको नेतृत्व सम्हाले ।  ०५८ पछि मुगु र डोल्पाको नेतृत्व गरे ।

शान्तिप्रक्रियापछि थारुवाङ राज्यको प्रमुख भएर काम गरे । त्यो भनेको दाङ–कञ्चनपुर राज्य । ०६७ सालपछि नेवा राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभागमा रहेर काम गरिसकेका छन्। 

शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् । उनी आफू नेतृत्वमा पुगेपछि कर्णालीलाई सम्बृद्ध बनाउने आफुसँग प्रष्ट भिजन भएको बताउँछन् । 

जनपरीचालन बीना सम्बृद्धि नआउने तर्क राख्ने शर्मा कर्णालीको साधान स्रोत परिचालन गर्न सक्ने दक्ष जनशक्ति उत्पादनसहितको ‘एकीकृत कर्णाली विकास मोडेल’ बनाएर अघि बढ्नु पर्ने बताउँछन् । शर्मा संघीयतालाई बलियो बनाउनका लागि अझै संघर्ष गर्नुपर्ने तर्क राख्छन्  । 

माओवादीबाट मुख्यमन्त्रीका अर्को दाबेदार हुन्, विन्दमान विष्ट । सुर्खेन निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका उनी यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका व्यक्ति हुन् ।  त्यो भएकाले अब उनी मुख्यमन्त्री बन्ने उद्देश्यसहित आन्तरिक तयारी गरिरहेका छन् ।  उनले एमालेका ताराकेश्वर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरे ।

खसेको ३१ हजार ६८२ मत मध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ भने गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ ।  विष्टको क्षेत्रमा दुई दलिय गठबन्धन थियो । यहाँ समाजवादीले उम्मेदवारी दिएका थिए । बडुवालले ७ हजार पनि मत कटाउन सकेनन् ।

०५८ सालमा भएको सुर्खेतको जेलब्रेकको घटना निकै चर्चित र रोचक थियो । उनी त्यही घटनाका एक कमाण्डर हुन् भने माओवादीभित्र युवा र ‘भिजनेवल’ छवी भएका नेता हुन् । ०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए । ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् ।

क्रान्तिकारीको महासचिव हुँदै केन्द्रीय  सदस्य समेत भएका उनी ०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भए । माओवादीबाट शर्मा र विष्ट मुख्यमन्त्रीको आकाङ्क्षी हुँदा कांग्रेसबाट राजिबबीक्रम शाह र वहालवाला मुख्यमन्त्री पुनः मुख्यमन्त्रीकै दाबेदार हुन् । 

समाजसेवा हुँदै राष्ट्रिय राजनीतिमा समेत आफ्नो राम्रो पकड बनाएका शाह प्रतिनिधि सभामा जान चाहेका थिए । तर सत्तारुढ गठबन्धनमा जाजरकोटमा माओवादीका उपमहासचिव शक्ति बस्नेतलाई छाड्नुपर्ने बाध्यता भएपछि मुख्यमन्त्री बन्ने तयारी स्वरुप प्रदेश झरेका हुन् । उनले एक पटक प्रतिनिधि सभा चुनाव लड्ने भनेर घोषणा गरिसकेका थिए । उनी जाजरकोट (ख) बाट १६ हजार ४० मतसहित निर्वाचित भएका छन् । 

शाहले एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् ।

शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँगै पराजित भएका थिए । कांग्रेसबाट अहिलेका वहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पनि पुनः मुख्यमन्त्रीका दाबेदार हुन् । हुम्ला (ख) बाट ४ हजार ७७  मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका शाही आफुले अयघि सारेको ‘छ’ ब को नीतिलाई कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।

शाहीले ७ हजार ५६ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी लामाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । 

एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् यामलाल कँडेल । संघीय पर्यटन मन्त्री भइसकेका व्यक्ति हुन् । ०७४ मै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश झरेका कँडेल त्यतिबेला बाम गठबन्धनको भागवण्डा अनुसार माओवादीको भागमा परेपछि व्याक भएका थिए । बाम गठबन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । 

त्यसका बावजृुतपनि कँडेलले मुख्यमन्त्री बन्ने हरप्रयास गर्दा पनि सकेनन् । बरु एक सीट जितेको कांग्रेसले सरकारको नेतृत्व गरिरहँदा बहुमतमा रहेको एमाले प्रतिपक्षको भूमिका पुगे ।

अहिले पुनः उनी मुख्यमन्त्री बन्ने आकाँक्षासहित आफुभन्दा जुनियर नेतालाई प्रतिनिधि सभामा पठाएर प्रदेशमै लडे । सुर्खेत  २ (क)  बाट लडेका उनी  १८ हजार ५६१ मतसहित विजयी भएका छन् । 

उनले गठबन्धन (काग्रेस–माओवादी) का साझा उम्मेदवार कांग्रेसका कालिप्रसाद शाक्यलाई पराजित गरे । शाक्यले १८ हजार ४ सय मत पाए ।

गुलाबजंश शाह पराजित भएकाले कँडेलको विकल्पमा एमालेबाट मुख्यमन्त्रीको दाबेदार छन्, दैलेखका विनोद कुमार शाह । एमाले प्रदेश अध्यक्ष शाहले चुनावताका भोट माग्ने क्रममा पनि आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा चिनाएका थिए ।  

दैलेख २ (ख) मा बाट उनी ९ हजार ४ सय ६४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी माओवादीका योगेन्द्र शाहीले ९ हजार ३ सय ८१ मत पाए । शाह–शाहीबीचको मतान्तर ८४  मात्रै थियो ।  ०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका विनोद राजाको पालामा राज्यमन्त्री भएका थिए । त्यसपछि कुनै लाभको पदमा नपुगेका उनी झण्डै २३ बर्षपछि चुनावमा भाग लिएर निर्वाचित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप