बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले शून्यमा झर्दा यी हुन् गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरु

गठबन्धनले कांग्रेस र समाजवादीलाई फलिफाप, बागीले माओवादीलाई घाटा
शनिबार, १० मङ्सिर २०७९, १४ : ३५
शनिबार, १० मङ्सिर २०७९

 प्रतिनिधिसभा अन्तर्गत कर्णालीका सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । यहाँ ०७४ को निर्वाचनमा ६ सिट जितेको नेकपा एमाले अहिले शून्यमा झरेको छ । गठबन्धनको बलमा नेपाली कांग्रेसलाई भने फलिफाप भएको छ ।

गठबन्धनकै बलमा नेकपा एकृकीत समाजवादीले ३ सिट सुरक्षित राख्न सफल भएको छ भने नेकपा माओवादी केन्द्रलाई घाटा लागेको छ । गठबन्धनको भागबण्डामा परेका ५ वटा निर्वाचन क्षेत्रमध्ये माओवादीले एक सिट गुमाएको छ । ०७४ मा ५ वटा सिटमा वर्चश्व जमाएको माओवादीले यो पटक अन्तरघातका कारण एक सिट गुमाएको हो ।

कालिकोटमा माओवादीको विरासत कायमै

कालिकोटमा माओवादीले आफ्नो विरासत कायम राख्न सफल भएको छ । माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ८ हजार ६४ मतान्तरले एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गरे ।

शाही २४ हजार ४७४ मतसहित निर्वाचित हुँदा नगीन्द्रले  १६  हजार ४१० मत पाए । यहाँ शान्तिप्रक्रियापछि माओवादीले लगातार आफ्नो वर्चश्व जमाउँदै आएको छ । यहाँ ०६४ मा माओवादीबाट खड्ग विश्वकर्माले जितेका थिए भने ०७० मा महेन्द्र र ०७४ मा दुर्ग रावतले जितेका थिए ।

०७४ मा प्रदेशमा झरेर मुख्यमन्त्री बनेका महेन्द्र शाही यस पटक भने प्रतिनिधिसभातर्फ गएका हुन् । क्रान्तिको मैदानबाट उदाएका शाहीले आफ्नो प्रभाव माओवादीभित्र बलियो बनाउँदै लगिरहेका छन् ।

जुम्लामा अन्तरघातका कारण माओवादीलाई घाटा, राप्रपाको जित

जुम्लामा गठबन्धनभित्र र स्वयं माओवादीभित्रको द्वन्द्वका कारण माओवादीले आफ्नो वर्चश्व गुमाएको छ । ०७४ मा वर्चश्व जमाएको माओवादीले यो पटक उम्मेदवार चयन र आफ्नै आन्तरिक समस्याका कारण पराजय भोगेको हो । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादीका उम्मेदवार गोमा कुँवरलाई पराजित गरे ।

शाही २२ हजार ८१९ मतसहित विजयी भएका हुन् । पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका उनले भारी मतान्तरले निर्वाचित भए । यहाँ माओवादीका कुँवरले ११ हजार ९५९ मत पाइन् ।

सल्यानमा गठबन्धनले समाजवादीको सहज जित

कांग्रेस र माओवादीकै बलियो जनाधार रहेको सल्यानमा समाजवादीका उपमहासचिव प्रकाश ज्वाला निर्वाचित भएका छन् । कमजोर जनधार रहेको ठाउँमा उनले गठबन्धनको बलमा भारी मतान्तरले सहज जित निकाले ।

१ लाख ५७ हजार ७०१ मतदाता संख्या रहेको यस जिल्लामा ८४ हजार २२ मत खसेको थियो । ज्वालाको पक्षमा ३५ हजार ७०० मत आएको छ । यहाँ एमाले तेस्रो र स्वतन्त्र उम्मेदवारले दोस्रो स्थानमा मत ल्याएका छन् ।

ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिएका छन् । जसमा ०५६, ०७९ र ०७४ मा सफल भए भने ०५१ सालमा असफल भएका थिए ।

दैलेखमा गठबन्धनले कांग्रेस–समाजवादीलाई फाइदा

नेकपा एमालेको बलियो बिरासत रहेको दैलेखमा गठबन्धनको सहयोगमा समाजवादी र कांग्रेसलाई फाइदा मिलेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको यहाँ १ मा समाजवादीका अम्मरबहादुर थापा र २ मा कांग्रेसका दीक्पाल कुमार शाही निर्वाचित भएका छन् ।

कमजोर जनाधारका बिचमा मैदानमा होमिएका थापाले आफ्ना पूर्व सहकर्मी एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई पराजित गरे । थापा १८ हजार २५६ मतसहित विजयी भएका हुन् । शर्माले १७ हजार ४०७ मत पाउँदा राप्रपाका महामन्त्री कुन्ती शाहीले तेस्रो स्थानमा भोट पाइन् ।

विजयी अम्मर ०६४, ०७० र ०७४ को संसदीय निर्वाचन भाग लिइसकेका छन् । ०६४ मा पराजित भए भने दुई वटा संसदीय निर्वाचनमा उनी सफल भए । ०७४ मा उनी दैलेख १ (ख) बाट प्रदेशसभामा चुनाव जितेका थिए ।

क्षेत्र नम्बर २ मा गठबन्धनको बलमा कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ । यहाँ प्रतिनिधिसभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही १५३ मतान्तरसहित विजयी भएका छन् ।

उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए । यो क्षेत्र एमालेको गढ हो । पोखरेल ०७० मा संविधानसभा सदस्य बनेका थिए । विजयी शाही ०७४ मा २ (ख) मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए । ०७४ मा प्रदेशमा पराजित शाहीले यो पटक गठबन्धनको बलमा चुनाव जिते ।

०७४ मा शून्य भएको कांग्रेसले यो पटक गठबन्धनको बलमा पुनरागमन गरेको हो ।

सुर्खेतमा गठबन्धनको बलमा एमालेसँग कांग्रेसको बदला

०७४ मा माओवादीसँगको सहकार्यमा कांग्रेसलाई पराजय गरेको एमालेलाई यो चुनावमा गठबन्धनकै बलमा कांग्रेसले बदला लिएको छ । दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारले सहज जित निकालेका छन् ।

क्षेत्र १ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले ०७४ मा आफैलाई पराजित गरेका एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरे । खड्का ४२ हजार ६०७  मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे ।

०७४ मा ३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए । पाँच वर्ष अघि ३ हजार ३८२ मतले पराजित भएका खड्काले यो पटक त्यसको बदला लिएका हुन् । त्यसअघि सोही क्षेत्रबाट २०४८, ०५१, २०५६ मा जितेर खड्काले ह्याट्रिक गरेका थिए ।

२ नम्बर क्षेत्रमा कांग्रेसका हृदयराम थानीले हारको बदला लिएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग पराजित थानी ३४ हजार ६२५ मतसहित निर्वाचित भएका हुन् । एमालेका अमृत कुमार विसीले २९ हजार ५५८ मत प्राप्त गरे । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

रुकुम पश्चिममा माओवादीको वर्चश्व यथावत

रुकुम पश्चिममा माओवादीले आफ्नो वर्चश्व यथावत राख्न सफल भएको छ । खसेकोमध्ये ६९.०३ प्रतिशत मत आफ्नो पक्षमा पारेका माओवादीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ पुनः निर्वाचित भएका हुन् ।

उनले एमालेबाट उम्मेदवार बनेका एमालेका नन्दराम देवकोटालाई २६ हजार ५८८ मतान्तरले पराजित गरे । शर्मालाई ३९ हजार ५४९ मत आउँदा एमालेको पक्षमा १२ हजार ९६१ मत छ ।  

०६४, ०७०, ०७४ मा पनि भारी मतान्तरसहित शर्मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

डोल्पामा धनबहादुरको दबदबा

हिमाली जिल्ला डोल्पामा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढाले आफ्नो प्रभावलाई कायम राख्न सफल भएका छन् । ०७४ मा एमालेबाट प्रतिनिधिसभा चुनाव जितेका उनी यो पटक नेकपा एकीकृत समाजवादीबाट लडेर पनि पुनः निर्वाचित भए ।

बुढाले आफ्ना प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ५ हजार ४९८ मत पाए । बुढाले योसमेत तीन पटक संसदीय निर्वाचनमा जित हासिल गरेका छन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए भने ०७४ मा नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए ।

जाजरकोटमा शक्तिको ‘ह्याट्रिक’

जाजरकोटमा माओवादीले आफ्नो सिट सुरक्षित राखेको छ ।  माओवादीका उपमहासचिव शक्ति बहादुर बस्नेतले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरे । बस्नेतले ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए ।

बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए ।

मुगुमा एमालेको विरासत उल्टियो

मुगुमा एमालेले वर्चश्व गुमाएको छ । यहाँ गठबन्धनको बलमा कांग्रेका ऐनबहादुर शाहीले आफ्ना प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गरे ।

०७४ मा यस जिल्लामा एमालेबाट गोपाल बमले चुनाव जितेका थिए । शाहीले १४ हजार ७०२ मत पाउँदा कार्कीले १० हजार ७०८ मत पाए ।

हुम्लामा माओवादीको विजय

यस जिल्लामा माओवादीबाट उम्मेदवार छिरिङ डम्डुल (कार्चेन) लामा निर्वाचित भएका छन् । उनी ४ हजार ८२८ मतान्तरसहित निर्वाचित भएका हुन् ।

लामाले १४ हजार ३७१ मत ल्याउँदा नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याए । राप्रपाका तेज बहादुर रावत ३७९ मतमा सीमित भए । हुम्लामा ५२८ मत बदर भएको थियो । ०७४ मा माओवादीले उठाएका उम्मेदवारलाई माओवादीकै छक्कबहादुर लामाले स्वतन्त्र उम्मेदवारका रुपमा पराजित गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप