बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाको गुणस्तर सुधारमा अभिषेकको छलाङ

सोमबार, २६ मङ्सिर २०७९, ०६ : ४४
सोमबार, २६ मङ्सिर २०७९

हालै अमेरिकाबाट प्रकाशित हुने ‘द इन्साइड सक्सेस’को विशेषाङ्कमा ‘द मस्ट इन्फ्ल्युन्सियल थट लिडर २०२२’ शीर्षकमा विश्वभरिका प्रभावशाली शिक्षा क्षेत्रको व्यक्तित्वमध्ये २० जनामा छानिए विराटनगरका अभिषेक घिमिरे । 

उनलाई गत वर्ष बेलायतबाट प्रकाशित ‘द एक्सेलिजेण्ट’ नामक पत्रिकाले विश्वभरिका ‘उत्कृष्ट १०० शिक्षाकर्मी’को सूचीमा पनि समावेश गरेको थियो । ‘आतङ्कवादको अन्त्य बन्दुकले होइन, शिक्षाले हुनुपर्छ ।’ यही नाराका साथ विश्वका अविकसित र अल्पविकसित मुलुकको शिक्षा क्षेत्रमा व्यापक सुधारको बहस गरिरहेका छन् घिमिरे । 

हालसम्म उनले नेपालमा ५० हजार बढी शिक्षकलाई शिक्षण सिकाइबारे तालिम दिएका छन् भने डेढ लाख अभिभावकसँग अन्तरक्रिया गरेका छन् । विराटनगर स्थायी घर भएका घिमिरे नेपालमा मात्रै होइन, विश्वका धेरै मुलुकहरूको शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने वकालत गरिरहेका छन् । उनी अन्तर्राष्ट्रिय फोरमहरूमा पनि व्यापक सहभागी भएका छन् । 

घिमिरे आफ्नो नेतृत्वमा विश्वका २० हजार बढी शिक्षा सुधार अभियन्ताहरूको भेला नेपालमा गर्न चाहन्छन् । धनी राष्ट्रहरूको शिक्षा नीति कपि गरेर नहुने तर उनीहरूले सुरुवाती फेजमा गरिएको सङ्घर्ष र त्यसपछिको प्रक्रियालाई अंगाल्नुपर्नेमा उनको जोड छ । 

‘कर्णालीमा शिक्षाको स्टाटस जहाँको त्यहीँ छ । तर, एनजिओ, आइएनजिओहरुले सुधार गरेको रिपोर्ट सरकारलाई दिएर खाइरहेका छन्,’ उनी भन्छन्, ‘मधेस प्रदेशमा पनि अहिले त्यही अवस्था आएको छ ।’ यो परिपाटीलाई अन्त्य गर्नु आवश्यक रहेको उनको भनाइ छ । 

उनका अनुसार सिरिया, अफ्रिकाका कतिपय देशहरु, छिमेकी ंगलादेश, श्रीलङ्कामा पनि शिक्षा क्षेत्र नेपालकै जस्तै समस्याग्रस्त छ ।  भन्छन्, ‘जहाँ आतङ्कवादको समस्या छ, आतङ्कवादको अन्त्य बन्दुकले गर्न खोजिन्छ । तर, मेरो विचारमा शिक्षा क्षेत्रमा हुने सुधारबाट मात्रै आतङ्कवादको अन्त्य हुन्छ ।’

०४१ सालमा खोटाङको दिप्रुङ चुइचुम्मामा जन्मिएका घिमिरे स्थानीय विद्यालयमा ५ कक्षासम्म अध्ययन गरे । त्यसपछि मोरङको डाँगीहाट आएका उनले बेलबारीको एक निजी विद्यालयबाट एसएलसी गरे । सुन्दरहरैंचाको सुकुना क्याम्पसबाट आइए गरेका उनले अङ्ग्रेजी विषय लिएर विराटनगरको मेट्रोपोलिस कलेजबाट स्नातक गरेका हुन् । काठमाडौँको आरआर क्याम्पसबाट स्नातकोत्तर गरेका उनी पिएचडी अध्ययनका लागि अन्तिम तयारीमा छन् । 

अध्ययनसँगसँगै विद्यालयको पढाइको विषयमा उनले अध्ययनका लागि झण्डै १२ वर्ष शिक्षण पेशा अँगाले । यस क्रममा उनले विद्यालयको परीक्षा प्रणाली र शिक्षण सिकाई प्रणालीमा समस्या रहेको महसुस गरे । त्यसपछि शिक्षकहरूलाई तालिम दिनुपर्छ भन्ने लागेर विभिन्न तालिम सुरु गरे । 

रिजल्टका लागि विद्यार्थीसँग ३ घण्टे परीक्षा प्रणालीमा नै समस्या रहेको देखे उनले । त्यसपछि नीतिगत परिवर्तनको आवश्यकता महसुस गर्दै ०७४ सालबाट वृहत राष्ट्रिय शिक्षा अभियान चलाए । सोही अभियानमार्फत् देशभरका सयौँ सामुदायिक विद्यालयमा शिक्षामा सुधारको वकालत गर्दै हिँडे । 

‘अहिले हामीले बोकेको मोबाइल, हामीले हेर्ने टेलिभिजन, भूगोल तथा विभिन्न क्षेत्र प्रविधिको विकासले १० वर्ष अगाडिभन्दा धेरै भिन्न भइसकेको छ । तर, शिक्षण सिकाइको तरिका भने दशकौँदेखि एउटै छ । शिक्षा क्षेत्रको विकास यो तरिकाले कसरी हुन्छ ?,’ घिमिरेको प्रतिप्रश्न छ । 

उनले स्थापना गरेको इन्टरनेसनल एसोसिएसन अफ इजुकेसनल लिडर नामक संस्थामा संसारभरका शिक्षा क्षेत्रका २० हजार बढी अभियन्ता जोडिएका छन् । त्यहाँ जोडिएकाहरुबीच जुममार्फत् हालको शिक्षा क्षेत्रमा भइरहेको नयाँ–नयाँ विकास र शिक्षण सिकाइको विषयमा छलफल हुन्छ । 

अब उनले संयुक्त राष्ट्र संघमा गएर गरीब तथा विपन्न मुलुकहरूको शिक्षा क्षेत्रको परिवर्तनको मुद्दा उठाउने लक्ष्य लिएका छन् । भन्छन्, ‘म शिक्षाबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर बोल्नेछु ।’ गरीब राष्ट्रहरूलाई अनुदानमा झुलाएर तिनलाई लुट्ने काम धनी र शक्तिशाली भनिएका राष्ट्रले गरेको भन्दै त्यसलाई बन्द गर्नुपर्नेमा जोड दिन राष्ट्रसंघमा कुरा उठाउने उनको जिकिर छ ।

त्यसबाहेक उनले हतियार र युद्धमा लाग्ने खर्च निःशर्त अल्पविकसित राष्ट्रको शिक्षामा खर्च गर्नुपर्ने, आतङ्कवादको अन्त्य बन्दुकले होइन, शिक्षाले हुनुपर्ने, आतंकवाद र युद्धको जन्म भनेकै भोकमरी, गरिबी र आत्मसम्मान भएकोले यसको समाधान शिक्षाबाट मात्रै हुनेमा जोड दिने योजना बनाएका छन् ।

उनी आफ्नो अभियानमार्फत् शिक्षा क्षेत्रमा लागेका विश्वका अभियन्ताहरूलाई नेपालमै भेला गराएर सामुदायिक विद्यालय सुधारको लागि संसारलाई सन्देश दिने सोच बनाएका छन् । इन्टरनेसनल एसोसिएसन अफ इजुकेसनल लिडर अभियानमा सो विषयमा छलफल भइरहेको बताए । 

अहिलेको पाठ्यक्रम ठिक भए पनि त्यो पाठ्यक्रमअनुसार पढाउने शिक्षकहरूलाई तालिमको व्यवस्था नगरिएको उनको भनाइ छ । ‘३ घण्टे परीक्षाको तरिका बदल्नु पर्छ । विद्यार्थीको गतिविधि हेरेर तिनको मूल्याङ्कन गर्नुपर्छ’ भन्ने मान्यता राख्छन् घिमिरे । 

विद्यालय सफल बनाउन विद्यालयमा शतप्रतिशत विद्यार्थी उपस्थिति गराउनुपर्नेमा जोड दिन्छन् उनी । यस्तै शिक्षक समयमै विद्यालयमा गएको छ वा छैन, विद्यालयमा गएको भए पुरा घण्टी पढाएको छ वा छैन । पढाएको छ भने त्यो सिकाई प्रभावकारी भयो कि भएन भन्ने विषयमा हरेक महिना अनुगमन हुनुपर्ने उनको भनाइ छ । त्यसका लागि समुदायले नै खबरदारी गर्नुपर्ने र समुदायले नै सामुदायिक विद्यालयको अपनत्व लिनुपर्ने घिमिरे बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप