मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार बनाउन गठबन्धन दललाई अप्ठ्यारो परे मुलुकलाई निकास दिन एमाले तयार छ : प्रदीप ज्ञवाली

शुक्रबार, ०१ पुस २०७९, १६ : ५४
शुक्रबार, ०१ पुस २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम सम्पन्न गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको ढोका खुलेको छ । नयाँ सरकार बनाउने दौडमा हालको सत्ता गठबन्धन दल खुलेर लागेका छन् भने संसद्को दोस्रो ठूलो दल बन्न सफल भएको एमाले गठबन्धन दलको गतिविधिलाई नियालेर बसेको छ । वर्तमान सन्दर्भमा एमाले के गर्ने रणनीतिमा छ त ? प्रस्तुत छ यिनै समसामयिक विषयमा रातोपाटी संवाददाता शम्भु दंगालले एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग गरेको सङ्क्षिप्त कुराकानी :

–सरकार गठनको प्रक्रिया सुरु हुन लाग्यो, एमालेले अब कस्तो भूमिका खेल्छ ?

अहिलेको निर्वाचनले कुनै पनि दललाई सरकार बनाउनका लागि स्पष्ट जनादेश दिएन । गठबन्धन दलको पक्षमा सामान्य बहुमत पनि पुगेन । अपेक्षा गरेअनुसारको परिणाम नेकपा एमालेको पक्षमा पनि आएन । त्यसकारण पनि सरकार गठन अलि ढिलो हुने देखेको छु ।

एमालेले अहिले सरकार बनाउने कुरामा भन्दा पनि दुई तीनवटा कुरामा बढी सरोकार राखेको छ । अस्पष्ट र द्विविधाग्रस्त जुन जनादेश आयो, बहुमत नभएको जुन संसद् बनेको छ यसभित्र राजनीतिक अस्थिरताहरू धेरै बढ्ने छन् । यो अस्थिरताभित्र राष्ट्रिय हितमाथि झन चुनौती थपिने, विकास निर्माण र सम्बृद्धिको यात्रा झन बढी अवरुद्ध हुने र राजनीतिक विकृतिहरू चरम रूपमा बढ्ने कुराप्रति हामी बढी चिन्तित छौँ । अहिले हामी केही प्रश्नमा जिम्मेवार दलहरूसँग गम्भीरतापूर्वक छलफल होस् र एउटा साझा बुझाइ बनोस् भन्ने चाहन्छौं । त्यसपछि मात्रै सरकारको कुरा हो ।

अहिले हामी सरकार बनाउने दौडमा छैनौँ । जबसम्म गठबन्धन दलले हामीले सकेनौँ भनेर छोड्दैन वा गठबन्धन दलभित्रका कुनै दलले यो गलत भयो, यसरी अगाडि बढ्न सकिँदैन भन्न सक्दैनन् वा नयाँ विकल्प खोज्न लाग्दैनन् तबसम्म एमाले अगाडि बढ्दैन । 

सरकार बनाउने कुरा त पछाडिको कुरा भयो । सबैभन्दा महत्त्वपूर्ण कुरा त देशका राजनीतिक शक्तिहरूबीच आधारभूत सहमति हुन आवश्यक छ भन्ने कुरामा हाम्रो चिन्ता छ । यो बारेमा हामी अनौपचारिक कुरा पनि गरिरहेका छौँ । यो विषयमा हामी कुरा पनि गर्न चाहन्छौँ । अन्यथा यो ५ वर्षमा हामीले धेरै मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ भन्ने कुराबाट हामी चिन्तित छौँ ।

–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलाबेला एमालेसँग पनि सरकार बनाउने विकल्प रहेको बताएका छन् । सरकार बनाउने साँचो माओवादी केन्द्रको हातमा रहेको बताएका छन् । माओवादीसँग तपाईंहरूको केही कुराकानी भएको छ कि छैन ?

केही कुरा भएको छैन । कांग्रेससँग बार्गेनिङ पावर बढाउनका लागि भनिएको अस्त्र हो जस्तो लाग्छ । धेरैचोटि उहाँहरूले यस्तो भन्नुभएको छ । स्थानीय चुनावको बेला पनि यस्तो भन्नुभएको थियो । अस्ति चुनावअगाडि सिट बाँडफाँटमा पनि त्यो कुरा आएको थियो । अहिले उहाँहरूले के अनुभूति गरिरहनुभएको जस्तो लाग्छ भने कांग्रेसले पहिलो राउन्डमा प्रधानमन्त्री पनि छोड्दैन र राष्ट्रपति पनि छोड्ेदैन । यसो भइसकेपछि उहाँहरू केही झस्कनुभएको जस्तो लाग्छ । कांग्रेसमा दबाब बढाउने उहाँहरूको रणनीति होला तर उहाँहरू गठबन्धनबाट बाहिरिने सम्भावना भने देखिँदैन ।

–प्रचण्ड इमानदार भएर एमालेसँग मिलेर सरकार बनाऔँ भनेर आएमा एमालेले सरकार बनाउने बारेमा सोच्छ कि सोच्दैन ?

यो त अनुमानको कुरा भयो । पहिला उहाँलाई इमानदार हुन दिनुहोस् । त्यसपछि बसेर छलफल गरौँला । अहिले त यो एउटा काल्पनिक कुरा मात्र हो । गठबन्धनलाई टिकाएर अगाडि लैजाने भन्ने त माओवादीको संस्थागत निर्णय नै रहेको छ । उहाँहरूको पदाधिकारी बैठकमा कृष्णबहादुर महराले एमालेसँग छलफलका लागि ढोका खुला गर्ने बताउनुभयो तर भोलिपल्ट त त्यो निर्णयलाई खारेज गरियो । हामीले त्यस्तो निर्णय नै गरेका छैनौँ । गठबन्धनबाहेक हामी दायाँबायाँ केही गर्दैनौँ भनेर उहाँहरूले संस्थागत रूपमै भन्नुभएको छ । तसर्थ जवसम्म त्यो संस्थागत निर्णयमा परिवर्तन हुँदैन तबसम्म माओवादी इमानदार भएर सरकार बनाउनका लागि आउला भन्ने कुरा काल्पनिक मात्र हुनेभयो । सकारात्मक ढङ्गले उहाँहरूले सोच्नुभयो भने त एमालेले त्यसलाई सकारात्मक रूपमा लिन्छ ।

–गठबन्धन दलबाट सरकार बनाउन सम्भव देखिएन, गठबन्धनमा अप्ठ्यारो अवस्था आयो भने एमालेले  कस्तो भूमिका खेल्छ ? त्यस्तो अवस्थामा एमालेले के गर्छ ?

गठबन्धन दलले सरकार बनाउन अप्ठ्यारो प¥यो भने मुलुकलाई निकास दिन एमाले तयार छ । यद्यपि हामीले पनि धेरै दलसँग कुराकानी गर्नुपर्ने हुन्छ । सरकार बनाउनुपूर्व अघि मैले भनेका विषयहरूमा सबै राजनीतिक दलको सकारात्मक साझा बुझाइ चाहिन्छ । अहिले यो चरणमा गठबन्धन दल प्रवेश नै नगरेको हुनाले अहिले हामीले त्यस विषयमा सोचिरहेका छैनौँ ।

फेरि दोहो¥याएर भन्दा हामीलाई सरकार बन्ने बनाउने भन्दा पनि राजनीतिक अस्थिरताभित्र धेरै कुरा जोखिममा पर्ने विषयमा हाम्रो बढी सरोकार रहेको छ ।

–तपाईंका पार्टी अध्यक्ष केपी शर्मा ओलीको केही साना दलका नेताहरू सीके राउतलगायतसँग भेटघाट पनि भइरहेको छ, त्यसको अर्थ के हो ?

त्यो त केवल शिष्टाचार भेटघाट मात्र हो । त्यसमा तत्कालै कुनै राजनीतिक  निष्कर्ष निकाल्ने गरी कुनै एजेन्डामा आधारित भएर छलफल भएको छैन । शुभकामना आदान प्रदान, उहाँहरूको आगामी राजनीतिक रणनीतिहरू केके हुन्छन् भन्नेबारेमा धारणाहरू लिने दिने कुरा मात्र हो ।

–संसद्मा अहिले चौथो शक्तिका रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ, त्यो पार्टीलाई एमालेले कसरी हेर्छ ? त्यो पार्टीसँग सहकार्य गर्नेबारेमा एमालेले केही सोचेको छ कि छैन ?

राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमा प्रगति गर्यो । उहाँहरूलाई शुभकामना छ । राजनीतिक दलहरूलाई एक पटक उदाउन गाह्रो छैन, मुख्य कुरा कसरी टिक्छन् भन्ने हो । नयाँ नामको विगतमा पनि धेरै पटक प्रयोग भएको हो । माओवादी आफैँ पनि नयाँ शक्ति भनेर उदाएर आएको थियो तर १५ वर्षको अवधिमा अहिले कुन रूपमा छ हामी देख्न सक्छौँ । बाबुराम भट्टराईको नयाँ शक्ति, विवेकशील साझा जुन ढङ्गले उदाएका थिए, उनीहरूको उदय र अस्तबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाठ सिक्नुपर्छ र राष्ट्रिय राजनीतिक मुद्दामा कहाँ कहाँ कुन ढङ्गले उभिन्छ, प्रश्न त्यो हो ।

अहिले हेर्दा उहाँहरू कैयौँ प्रश्नहरूमा द्विविधामा देखिनुहुन्छ । उहाँहरूकै नेताहरूको कुरा सुन्दाखेरी पनि कोही केन्द्रीकृत शासन प्रणाली, कोही विकेन्द्रीकृत शासन प्रणालीको पक्षमा बोलिरहनुभएको छ । सरकारमा जाने वा नजानेबारे पनि एउटै धारणा आएको देखिँदैन । त्यसकारण उहाँहरूको विचारले ठोस आकार लिऊन् । त्यसपछि मात्रै उहाँहरूका बारेमा टिप्पणी गर्न राम्रो हुन्छ । मुद्दामा उहाँहरू कहाँनिर उभिने हो भन्ने नै प्रष्ट छैन । हिजोसम्म त उहाँहरूलाई पुरानाले गरेनन् भनेर आलोचना गरे पुग्थ्यो, अहिले उहाँहरू त्यही ठाउँमा आइसकेपछि उहाँहरूलाई त्यही प्रश्न गर्दा उहाँहरूको जवाफ के हुन्छ त ? यी प्रश्नमा उहाँहरू खुल्दै जानुभयो भने सहकार्यको स्वरूप त्यसले निर्धारण गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप