शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘म जुन स्कुलको शिक्षक थिएँ, प्रचण्डले पनि त्यहाँ पढाउँथे’

एक पटक देश हाँक्ने इच्छा छ, अवसर पाए गरेर देखाउँछु : भुवन पाठक
शनिबार, ०२ पुस २०७९, १२ : ३१
शनिबार, ०२ पुस २०७९

मङ्सिर २४ गते राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठकको कार्यादेशअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई समानुपातिक सूची सिफारिस गर्दासम्म राप्रपा महामन्त्री भुवन पाठक समानुपातिकमा परे/नपरेको अन्योलमा थिए । पार्टीभित्र समानुपातिक सांसद बन्न हानथाप भएपछि पाठकसहितका सबै सदस्यको सिफारिस अध्यक्षले परामर्शका आधारमा गर्ने भनेर सोहीअनुसार सूची पठाइयो । पछि पाठकको नाम बन्दसूचीअनुसार नै बागमती प्रदेश सभा सदस्यमा सिफारिस भएको सार्वजनिक भयो ।

नुवाकोट पुर्ख्यौली थातथलो भएर राष्ट्रवादी आन्दोलनमा सक्रिय पाठक आफूले पद प्राप्तिका लागि राजनीति नगरेको बताउँछन् । तर आएको जिम्मेवारी ठीक ढङ्गले फत्ते गर्न तयार रहेको बताउने उनी पार्टीले बागमती प्रदेश सभा सदस्य बनाएसँगै पार्टीका एजेन्डा र नीतिलाई सदनमा सशक्त ढङ्गले अघि बढाउने योजनामा छन् । पञ्चायतकालमा तत्कालीन विद्यार्थी मण्डलबाट राजनीतिमा सक्रिय उनी राप्रपाको स्थापनाकालदेखि नै आबद्ध भएका हुन् । राजदरबारसँग निकट मानिने पाठक पार्टीभित्र शालीन, सहकर्मीहरूसँग मिलनसार र स्पष्ट वक्ताका रूपमा समेत परिचित छन् । हाल पार्टीको निर्वाचित महामन्त्रीको भूमिकामा रहेका पाठक शाहीकालमा शिक्षा सहायक मन्त्रीसमेत बनेका थिए । उनै पाठकसँग जीवनका अनेक आरोह–अवरोहका साथै उनीसँग जोडिएका विविध पाटालाई रातोपाटीको नियमित स्तम्भ ‘मेरो जीवन’मा खोतल्ने प्रयास गरिएको छ ।

फेरेर खान रुचाउँछु

दाल, भात र तरकारी मनपर्ने खाना हो । बिहान नियमित लसुन, ड्राइफुट्स (सिजल फलफूल) हट लेमन हनी राखेर खान्छु । बिहानको खाना १२ बजेपछि खान्छु । बेलुका कहिल्यै डिनर गर्दिनँ । हल्का फलफूल, बिस्कुट लिन्छु । मासुमा बढी माछा मनपर्छ । परिवारसँग कम्तीमा पनि महिनाको एक पटक कुनै नयाँ रेस्टुरेन्टमा खाना खान जान्छु ।

रेस्टुरेन्ट जान्छु । स्वदेशी रेस्टुरेन्टमा जाँदा म फेरेर खान रुचाउँछु । विदेशका पनि त्यही देशका फरक फरक खाना खान मनपर्छ । मम मेरो मनपर्ने खाना हो । केटाकेटीदेखि नै खाने भएकाले ममको विषयमा मलाई जति जानकारी शायद कसैलाई नहोला । मलाई पकाउन होइन, खानामा रुचि छ । आफूलाई अनुशासनमा राख्न म मङ्गलबार कहिल्यै माछामासु खान्न ।

फिट्नेसमा सजग

फिट्नेसमा सजग छु । पहिले दैनिक नियमित एक्सरसाइज गर्थे । अहिले भने वाक मात्र गर्छु । फुर्सद भयो कि बिहान, दिउँसो, बेलुका वाक गर्छुु ।

एक्सरसाइजका सामान घरमै धेरै छन् । पहिले त्यो पनि प्रयोग गर्थें । उमेर बढेसँगै बिस्तारै कम गर्नुपर्छ भनेर एक्सरसाइजका सामान प्रयोग गर्न छोडेँ । 

पहिरन सौखिन

म पहिलेदेखि नै पोसाकमा सौखिन थिएँ । त्यसैले जहिले पनि टिपटप भएर हिँड्न मनपर्छ । समय सन्दर्भअनुसारको पहिरन लगाउँछु । ट्राउजर, जिन्स, टिसर्टलगायत क्याजुअल पहिरन बढी प्रयोग गर्छु ।

फर्मल कार्यक्रम, विवाहलगायतका विषेश कार्यक्रममा दौरा सुरुवाल, कोटपाइन्ट प्रयोग गर्छु । टाई भने कहिल्यै मनपर्दैन । चस्मा पनि लगाउँछु । पहिरनमा मनपर्ने रङ नेबी ब्लु हो । पहिरनमा ब्रान्ड हेर्दिनँ । राम्रो, मनपर्ने किन्छु । ब्रान्ड भनेको बढी पैसा खर्च गर्ने माध्यम हो जस्तो लाग्छ । मनपरेको पहिरन लिनुपर्छ ।

करिब विश्व घुमिसकेँ

घुमघाम एकदमै मनपर्छ । ज्योतिषीले पनि धेरै भ्रमणको योग छ भनेर भनेका थिए । भाग्यले पनि साथ दिएकाले होला  घुमघामको अवसर मिलिरहन्छ । अहिलेसम्म करिब विश्व सबै घुमिसकँे ।

दक्षिण अमेरिकाको देश भने पुग्न भ्याएको छैन । त्यहाँको भेनेजुयला, बोलिभयालगायत जुन अन्य भन्दा फरक देश हुन् । अहिले त्यो हेर्न मन छ ।

मेरो लक नै भन्नुपर्छ महिनाको एक पटक कुनै न कुनै कारणले घुमघाम परेकै हुन्छ । देशको पनि प्रायः ठाउँहरू घुमेको छु । नयाँ ठाउँ, जुन पहिले पुगेको हुँदिनँ, त्यस्ता ठाउँ घुम्न मनपर्छ । कहिल्यै नगएको ठाउँमा पुगेँ भने हिँडेरै ठाउँहरू हेर्छु । देशको पहाडी भूभाग हिँडेर घुम्दा मलाई सबैभन्दा आनन्द लाग्छ ।

नियमित अध्यायन

मेरो नियमित अध्ययन गर्ने बानी छ । रातको ९ देखि ११ बजेसम्म नियमित पुस्तक अध्ययन नगरी मलाई निन्द्रा लाग्दैन । नेपालका महत्त्वपूर्ण र धेरै पुस्तक मैले पढेको छु ।

पहिले म साहित्यिक पुस्तक बढी पढ्थेँ । त्यसपछि सबै प्रकारका र राजनीतिक पढँे । भर्खर सूर्यबहादुर थापाको नयाँ पुस्तक पढेर सकेँ । पछिल्लो समय बायोग्राफी पढ्न मनपर्छ । 

साहित्यकार पनि हुँ

म साहित्यकार पनि हुँ । राजनीतिमा नआएको भए साहित्यकार हुन्थँे । किनभने म पहिले गीत, कविता, कथा धेरै लेख्थँे । स्कुल पढ्दा अन्तर स्कुल कविता गोष्ठीमा पहिलो भएर पुरस्कार समेत जितेको छु ।

मेरा गीत, कथा, कविता पहिले धेरै पत्रपत्रिकामा नियमित छापिन्थ्यो । म पहिलेका र नयाँ केही कविता समेटर कविता सङ्ग्रह, गीतहरू समेटेर गीत सङ्ग्रह र  कथा समेटेर कथा सङ्ग्रह ल्याउने सोचमा छु ।

‘नेपाली युवा र प्रजातन्त्र’ र त्यसपछि ट्रेनिङसम्बन्धी, एउटा अङ्ग्रेजीलगायतका पुस्तक सम्पादन गर्दै छु । 

केको फुर्सद ?

फुर्सद कमै हुन्छ । परिवार, आफन्त र साथीभाइलाई समय दिन पर्यो भने फुर्सद मिलाउन सक्छु । अन्य समय म व्यस्तै हुन्छु ।

खेलाडी पनि हो

म खेलाडी पनि हो । सानैदेखि खेल्न थालेको फुटबल मैले ठूलो भएसम्म खेले । ए डिभिजनमा म अन्तिम डिफेन्स भएर खेलाडीको रूपमा समेत फुटबल खेल्थे । टेबुल टेनिस, ब्याडबेन्टिन, बक्सिङ र कराँते पनि खेल्थे । फुटबलबाट ट्रफी, पुरस्कारहरू समेत जितेको छु ।

अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय चर्चित फुटबल खेलहरू नियमित हेर्छु ।

आइफोन बोक्छु

मसँग आइफोन ब्रान्डको एउटा मोबाइल छ । त्यसमा एउटा सिम, त्यो पनि पुरानै छ । नयाँ नयाँ मोबाइल फेर्न सौख लाग्दैन । त्यसैले नबिग्रिए, नहराएसम्म फेर्दिनँ ।

मोबाइलमा फोन गर्नुको अलवा फोटो खिच्न, फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल चलाउने र समाचार पढ्नसमेत प्रयोग गर्छु । मोबाइल छोराले उपहार दिएको छ ।

टीभी र फिल्म नियमित

–टीभी हेर्छु । टीभीमा हेर्ने भनेको समाचार हो । पहिले बीबीसी, सीएनएन बढी हेर्थें । अहिले अलजजिरा हेर्छु । टीभीमा खेलकुद पनि हेर्नेगरेको छु ।

फिल्म पनि हेर्छु । विद्यार्थी जीवनमा फिल्म हलमै गएर फस्ट दिन, फस्ट सो हेर्थे । त्यो समय जुनै पनि फिल्म हेरिन्थ्यो । अहिले भने नेपाली फिल्म हलमै गएर हेर्छु । फिल्म हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारको हेर्न मनपर्छ । नियमित बन्ने गरेका फर्मुल टाइपका भन्दा फरक फरक विषयवस्तुका केही सिक्न र जान्न मिल्ने फिल्म मनपर्छ ।

राजनीतिमा म विद्यार्थी जीवनदेखि होमिएको हो । स्कुले जीवनमा रेडक्रसको चुनाव लडेर त्यसको अध्यक्ष भएको थिए । २०३१ मा जब पाटन क्याम्पस भर्ना भएँ त्यहाँको साथीभाइको लहलहैमा युनियनको सहसचिवमा लडेको थिएँ । तर थोरै भोटले पराजित भए । 

त्यसपछि त्रिचन्द्र अध्ययनको समय पनि सक्रिय रहेँ । त्यहाँबाट म राष्ट्रवादी स्वतन्त्र विद्यार्थी युनियनमा लागेँ ।

२०३६ सालमा एनटीएस (राष्ट्रिय विकास सेवा कार्यक्रम भन्ने एक कार्यक्रम थियो । त्यो कार्यक्रमअन्तर्गत एमए पढ्ने सबैले एक वर्ष गाउँमा गएर पढाउनुपथ्र्योे । त्यो समय म पढाउनँ, भिमोदय माध्यमिक विद्यालय आरुघाट गोर्खा पुगेको थिए । अहिलेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस नेता चिनकाजी श्रेष्ठ त्यहीका शिक्षक थिए ।

२०३६ को जनमत सङ्ग्रहपछि म पञ्चायत पक्षीय विद्यार्थीहरूको  सङ्गठन नेपाल राष्ट्रिय छात्रा सङ्गठनको केन्द्रीय अध्यक्ष भए । त्यसपछि राजा वीरेन्द्रबाट युनिभर्सिटी सिनेटमा मनोनीत हुँदै काठमाडौँ नगरपञ्चायतको सभापति भए ।

२०४६ को परिवर्तनपछि राष्ट्रिय प्रजातान्त्रिक पार्टीको संस्थापक सदस्य करिब एक दर्जन मात्र थिए । तीमध्येको एक म हो । २०४८ मा राष्ट्रिय प्रजातान्त्रिक युथ सङ्गठनको अध्यक्ष भएको थिए । उक्त समय अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी सङ्गठको अध्यक्ष हुनुहुन्थ्यो ।

राप्रपाको अध्यक्ष सूर्यबहादुर थापा हुँदा म केन्द्रीय सदस्य भए । राप्रपाको २०६० सालको पोखरा महाधिवेशनमा जम्मा २० जना (१७ पुरुष र ३ महिला) देशभरबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए । त्यो समय म राप्रपाको केन्द्रीय समितिमा निर्वाचित भए । त्यसपछि हरेक महाधिवेशनमा निकै पपुलरमतका साथ केन्द्रीय सदस्य रहँदै आएको छु । एक पटक राप्रपाका सह महामन्त्री भएको म, त्यसपछि  प्रवक्तासमेत भएको थिए । राप्रपाको गत वर्षको महाधिवेशनबाट म महामन्त्रीमा चुनिएको छु ।

राजनीतिमा लामो समयदेखि रहेपछि संसदीय निर्वाचन म कहिल्यै लड्न पाइनँ । यो वर्ष चुनाव लड्ने सारै इच्छा, तयारी पनि गरेको थिए । यो पटक हाम्रो पार्टीमा नेतृत्व परिवर्तन भएकाले राप्रपाको पक्षमा जनलहर छ भन्ने मेरो बुझाइ थियो । तर साथीहरूका कारणले अन्तिम समय प्रत्यक्ष उम्मेदवारी छोड्नुपर्यो । अहिले बागमती प्रदेश सभाको समानुपातिकको संसदमा चुनिएको छु ।

२०६२/६३ मा तत्कालीन राज ज्ञानेन्द्र शाहको साशनकालमा म शिक्षा सहायक मन्त्री भएको थिएँ । त्यसअगाडि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकसमेत रहेको म खेलकुदको विभिन्न सङ्घ संस्थामा रहेर विभिन्न जिम्मेवारी पनि निर्वाह गरेको छु । बागमती प्रदेश सदस्य भए पनि अहिले मलाई राज्यको कुनै पदको लोभ छैन । प्रतिपक्षमा बसेर सरकारलाई खबरदार गर्ने  सोच छ । राजनीतिमा म लामो समयदेखि छु । त्यसैले एक पटक यो देशको उच्च पदमा अर्थात् प्रधानमन्त्री बन्ने इच्छा छ । त्यो अवसर पाए भने शानदार ढङ्गले देश हाँकेर देखाउँछु । मैले अहिलेसम्म जहाँ जहाँ अवसर पाए राम्रै काम गरेको छु । यो गलत मानिस हो भनेर कसैले औँलो उठाउन सक्दैन ।

मेरो सपना

हाम्रो देश भौगोलिक दृष्टिकोणले विश्वकै उत्कृष्ट छ । यो देशमा हरेक सम्भावन छन् । तर यो देशलाई हामीले व्यवस्थित गर्न सकेनौँ । यो मुलक विश्वको उत्कृष्ट मुलकको रूपमा हेर्ने र बनाउने मेरो सपना छ ।

त्यसरी विवाह

२०३८ सालमा मैले मागी विवाह गरेको हो । मेरा लागि श्रीमती परिवारले जुराएका थिएँ । मेरो घरबाट श्रीमतीको माइती तीन मिनेटको दूरीमा रहेको थियो । जोडले करायो भने उनले सुन्न सक्थिन् । तर पनि मैले विवाहअगाडि कहिल्यै देखेको थिइनँ । पहिलो पटक देखेको विवाहमै हो ।

विवाहअगाडि, पछाडि कहिलै कसैसँग प्रेम भएन । कलेज, स्कुलको समय लेटर लेख्ने, कसैलाई मनपराउने भयो होला । प्रेम भने विवाहपछि श्रीमतीसँगै बस्यो । त्यो प्रेम अहिले पनि जारी छ ।

–के भूल गरेँ र ?

मानिस भएपछि सानातिना भूल त हुन्छ नै । त्यो स्वाभाविक हो । जानीजानी कसैलाई दुःख दिने गरेर केही भूल गरेजस्तो लाग्दैन । सबैलाई सकेसम्म सहयोग गर्ने, आफ्नो कारणले कसैलाई नोक्सान नपुगोस् भन्नेमा म सजग रहन्छु । राजनीतिमा आउनु भूल कहिल्यै मान्दिनँ ।

यो मेरो खराबी

जुन कुरो चित्त बुझ्दैन, त्यसमा म आपत्ति प्रकट गरिहाल्छु । त्यसको कडा प्रतिकारसमेत गर्छु । यो बानी कतिपयलाई मन नपर्ने रहेछ ।

राजनीतिमा कतिपय कुरा थाहा नपाए झैँ गर्नुपर्दाे रहेछ । प्रतिकार गर्ने बानी धेरै हानिकारक हुँदोरहेछ । प्रतिकार गर्ने बानीले धेरै मानिस मसँग चिढिन्छन् ।

गीत नरुचाउने को ?

गीतसङ्गीतको नरुचाउने को होला र ? पनि रुचाउँछु । मेलोडियस, राष्ट्रवादी गीतहरू मनपर्छ । गोपाल योञ्जनका गीतहरू एकदमै मनपर्छ, मन छुन्छ पनि । म भावकु मानिस भएकाले हिन्दी, नेपाली र अङ्ग्रेजी सबै प्रकारका भावुक खालका गीतहरू नियमित सुन्छु ।

रोग छैन

भगवानको कृपाले अहिलेसम्म कुनै रोग छैन । कहिलेकाहीँ ज्वरो आउनु, रुघाखोकी लाग्नु स्वाभाविक हो । 

हल्का मापसे

मापसे पार्टी, साथीभाइको जमघटमा कहिलेकाहीँ हल्का लिन्छु । नियमित गर्दिनँ । खाएको समय पनि लिमिटले खान्छु । मापसेमा लिने भनेको बियर र वाइन हो । घरमा होस् वा बाहिर एक्लै मापसे कहिल्यै गर्दिनँ ।

मेरो घरमा रक्सीको कलेक्सन छ । विदेश भ्रमणको बेला ल्याएको रक्सी कलेक्सन गरेको हो । घर होस् वा बाहिर  कहिल्यै एक्लै मापसे गर्दिनँ ।

राशि ‘धनु’

राशि ‘धनु’ हो । ग्रहदशाका लागि ज्योतिष हेराउने, जुराउने गर्दिनँ । आफ्नो जीवनलाई हेर्दा कतिपय कुरा स्वाभाविक रूपले प्राप्त भएको देख्छु । कतिपय धेरै मिहिनेत गर्दा पनि प्राप्त नभएका छन् । त्यसैले भाग्यमा पनि विश्वास लाग्छ । धेरै कुरो म कर्ममा विश्वास गर्छु ।

पूजापाठमा पनि विश्वास छ । त्यसैले घरमा एक घन्टा नियमित पूजापाठ गर्छु ।

मृत्यु फिक्स

एउटा कुरो निश्चित छ, त्यो मृत्यु हो । जन्मिएपछि मृत्यु अनिवार्य छ । तर मृत्य कहिले, कसरी हुन्छ भन्ने हामी कसैलाई थाहा छैन । मृत्यु फिक्स भएकाले मलाई डर लाग्दैन ।

मानिस अन्तिमसम्म पनि सक्रिय रहनुपर्छ, भोलि पनि सम्झने कर्म गर्नुपर्छ भन्ने मेरो धारणा हो । हिँडडुल गर्दागर्दै सहज मृत्यु होस् भन्ने मेरो चाहना हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप