शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

शनिबार, २४ जेठ २०८२, १० : ३७
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • खानेपानीमन्त्री प्रदीप यादवले साइकल यात्राको महत्त्वबारे प्रकाश पार्दै यसले स्वास्थ्य र सफाइको सन्देश दिने बताए।
  • मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्ने र साइकल प्रयोगलाई प्रोत्साहन गर्ने कुरामा जोड दिए।
  • कार्यक्रममा मारवाडी सेवा समाजले वातावरण जोगाउन पुर्‍याएको योगदानको प्रशंसा गरियो र जलवायु परिवर्तनका चुनौतीबारे छलफल भयो।

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबिच साइकल यात्राको महत्त्व झनै बढ्दै गएको बताएका छन् ।  आज काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिने बताए ।

उनले भने, “साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ सहरको सन्देश पनि पुर्‍याउँछ । हामी सबैले व्यक्तिगत तथा सामूहिक दुवै तहमा हरित भविष्यको कल्पना गर्नुपर्छ ।”

मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहहरूमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने समेत आग्रह गरे ।

उनले भने, “स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रवर्द्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ । साइकल प्रयोगलाई प्रोत्साहन गर्न हामी सबै लाग्नु पर्छ ।”

वातावरण जोगाउन र प्रदूषण मुक्त समाज बनाउन मारवाडी सेवा समाजले अगुवाइ गरी उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै मन्त्री यादवले वातावरण सफा कसरी गर्ने, हाम्रो वातावरण कसरी स्वच्छ राख्ने सो विषयमा लाग्नु पर्ने उनको भनाइ थियो । उनले भने “जलवायु परिवर्तनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिवर्तन हाम्रा लागि निकै चुनौतीको विषय बनेको छ । यो चुनौतीको समाधान गर्न आवश्यक छ ।”

cycle run sahavagi

साइकल यात्राले शारीरिक तन्दुरुस्ती सहित वातावरणीय चेतनाको प्रवाह पनि गर्ने भएकाले आजको युगमा यो अत्यन्त सान्दर्भिक रहेको मन्त्री यादवले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि एवं मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार चौधरीले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले सहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताए ।

कार्यक्रममा पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडिया, मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती रेखा खेतान, कार्यक्रम संयोजक अरुण गोयल, मारवाडी सेवा समितिका पदाधिकारीहरू, मारवाडी युवा मञ्चका पदाधिकारीहरू तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।

cycle run udghatan

आजको उक्त कार्यक्रममा दजनाैँ साइकल यात्रीहरूको सहभागिता रहेको थियो । काठमाडौँको बिवाईडी पार्किङ नक्सालबाट सुरु भएको उक्त यात्रा यहाँका विभिन्न क्षेत्र हुँदै ललितपुरको पाटन दरबार क्षेत्रमा गएर समापन गरिएको कार्यक्रम संयोजक अरुण गोयलले जानकारी दिए ।

cycle run2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप