बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष समाचार

बिहीबार, ०७ पुस २०७९, २१ : ०३
बिहीबार, ०७ पुस २०७९

 आज मिति २०७९ साल पुस महिनाको ७ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।

सांसदहरुको शपथ

प्रतिनिधि सभाका सदस्यहरूले बिहीबार शपथग्रहण गरेका छन् । प्रतिनिधि सभाका सबै सदस्यहरूले संसदका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराबाट शपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य जबराले भने बुधबार राष्ट्रपतिबाट शपथ लिनुभएको थियो । संसदमा ८९ जना सांसदसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल र नेकपा (माओवादी केन्द्र) बाट ३२ जना सांसदसहित तेस्रो ठूलो दल बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा (एकीकृत समाजवादी) का १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन् । २ सय ७५ सांसदहरूमध्ये २५ जना सांसदले १४ मातृभाषामा शपथ लिनुभएको छ भने अन्यले नेपाली भाषामा शपथ लिएका छन् ।

​शपथ ग्रहणपछिको प्रतिक्रिया

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले जनताको अपेक्षानुसारको सभामुखको भुमिका निर्वाह गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले असल र इमान्दारिताका साथ सभामुखको भुमिका निर्वाह गर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन् ।  अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिए । शपथ लिएलगत्तै उनलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि गरेको प्रश्नको जवाफ दिँदै उनले सो सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने बताए ।

​माओवादीको संसदीय दलको नेता चयन

यस्तै, नेकपा माओवादी संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

 माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको सांसद सुदन किरातीले जानकारी दिए ।

​यसैगरि, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् ।  २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए ।

यता, अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले भने आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताए । उनले  प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताए ।  बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि उनले यस अघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरूले पनि छलफलमा सहभागी बन्ने बताए ।

​सरकारबारे लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन् ।  बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अहिलेको गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरू गर्न तयार रहेको बताए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकताको विषयमा अधिकारप्राप्त निकायले अनुसन्धान गरिरहेको बताए ।

नवनिर्वाचित सांसदको स्वागतमा जलपान

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद सचिवालयले जलपान समारोहको आयोजना गरेको थियो ।

नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो । यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

​शोभराजलाई जेलमुक्त गर्न भक्तपुर जिल्ला अदालतले पठायो पत्र

‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई रिहा गर्न भक्तपुर जिल्ला अदालतले कारागारलाई पत्र पठाएको छ ।

केन्द्रीय कारागार सुन्धारामा शोभराजलाई रिहा गर्न पत्राचार गरिएको भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामी मगरले  जानकारी दिए ।

सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक आज ०.०१ अंकले घटेर बन्द भएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक १८ सय ६७ अंकमा आइपुगेको छ ।

यसक्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ३ लाख सेयर किनबेच हुँदा उक्त मूल्यको कारोबार भएको हो । बजार सामान्य अंकले घट्दा ७६ वटा कम्पनीको सेयर बढेको छ भने १ सय २४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ ।

​हिमालय एयरलायन्सको पाउँदै आएको ग्राउन्ड ह्यान्डलिङको अधिकार खोसिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले एयरलाइन्सलाई एक पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्यूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेको जनाएको छ ।

​परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेबाट समानुपातिक सांसद चुनिएपछि एमालेका नेता कार्यकर्ताले चरम असन्तुष्टि जनाउँदै आलोचना गर्न थालेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप