बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उडेको ५ मिनेटमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जब विमान अवतरण भयो..

बिहीबार, ०७ पुस २०७९, २१ : १९
बिहीबार, ०७ पुस २०७९

नागरिक उडड्यन प्राधिकरणले पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्राधिकरणको सहयोगमा यती र बुद्ध एयरलाइन्सको विमानले डेमो उडान सफलतापूर्वक गरेका छन् ।

दुवै कम्पनीका विमान पुरानो विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । पुरानो विमानस्थलबाट उडेको ५ मिनेटमै पोखरा–१४ स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ती विमान अवतरण गरेका हुन् ।

विमानमा सवार पत्रकार अनिष भट्टराईका अनुसार २ बजे भनिएको उडान २५ मिनेट ढिला उडाइएको थियो । ‘डेमो उडान भनेपछि हामीहरू १ बजे नै पुरानो विमानस्थल पुगेका थियौं । हामी पुग्दा यती एयरलाइन्सको विमान उड्ने तयारी गरेको थियो । म बुद्ध एयरलाइन्समा चढेको थिएँ,’ उनले भने, ‘बुद्ध एयरले टेक अफ गरेको ५ मिनेटमै सफलताको साथ टेक इन गर्यो ।’

बुद्ध एयरले टेक अफ भएको पाँच मिनेटमा विमानस्थलको पश्चिमतर्फबाट सफल अवतरण गरेको भट्टराईले बताए । भट्टराईसँगै दुवै विमानमा पोखरेली पत्रकार, पर्यटन व्यवसायी र सरोकारवाल निकाय सवार थिए । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार दुवै जहाजमा गरी १ सय ७० जना यात्रु थिए ।

‘डकुमेन्टेसन, यन्त्र उपकरण र मानव संसाधन लगायत सम्पूर्ण कामको हामी अन्तिम चरणमा छौं । मेन कुरा हाम्रो सेफ्टी, सेक्युरिटी र फ्यासिलिटी हो । यसमध्ये मुख्य समस्या चराको देखिएको छ,’ प्रमुख गौतमले भने । 

अन्तर्राष्ट्रिय विमानस्थल आसपास अझै चराचुरुंगीको फ्लो घटेको छैन । डेमो उडानका क्रममा  विमानस्थल आसपासमा चरा उडिरहेका थिए । विमानस्थलबाट २ किलोमिटरको दुरीमा रहेको ल्यान्डफिल साइट नहट्दा जहाजमा पन्छी ठोक्किने खतरा छ ।

तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अब पोखरामा फोहोर व्यवस्थापनको समस्या नरहेको बताए । उनले पोखरा–१४ मा व्यवस्थापन हुँदै आएको फोहोर अहिले ६ ठाउँमा अल्पकालीन व्यवस्थापन गरिएको सुनाए । त्यसमध्ये एउटा ठाउँमा अलि लामो समयसम्म व्यवस्थापन गर्ने सम्झौता भइरहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा नयाँ एयरपोर्ट राम्रो प्रोडक्ट भएको गौतम सुनाउँछन् ।  ‘इन्टरनेसनल कम्युनिटीले यहाँको बिजनेस के हो ? कसरी अगाडि बढ्न सकिन्छ ? यहाँको लोड र कार्गोको कुरा अध्ययन गरेर बिजनेस अगाडि बढाउँछ,’ उनले भने,  ‘हामीहरूले यहाँ यात्रुको लोड छ भनेर अन्तर्राष्ट्रिय मार्केटमा देखाउनुपर्यो । यसका लागि नेपालमा आएका पर्यटकको ४० प्रतिशत पर्यटकहरू पोखरा आउँछन् । त्यो ४० प्रतिशतलाई डाइरेक्ट पोखरा ल्याएर बिजनेस दिनसक्नुपर्छ ।’

चासोको हिसाबले जजिरा, कतार, थाइ स्माइल, हिमालयन, फ्लाइ दुबई एयरले उडानको चासो देखाएको गौतमले सुनाए । बुद्ध एयरलाइन्सले  भारतसम्म उडान भर्ने यसअघि नै जानकारी गराइसकेको छ । 

भारतका धेरै ठाउँमा रुटको समस्या छ । ‘हामीले दिल्ली, दोहा, उडाउन चाहिरहेका छौं । यसका लागि रुटको समस्या छ । भारतको अनुमति कुरिरहेका छौं,’ उनले भने ।  

बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले पुस १७ गते पोखरा–बनारस उडान गर्न पत्र पठाइसकेको र भारतको जवाफी पत्र कुरिरहेको सुनाए । ‘हामी पहिलो दिननै डेमो फ्लाइट गर्ने प्लान छौं । यसका लागि भारतको अनुमति पत्र कुरिरहेका छौं,’ उनले भने, ‘पोखरा–बनारसलाई रुटको समस्या छैन । देहरादुनमा रुटको समस्या छ । हाम्रो पोखरा–बनारस उडान गर्ने योजना छ ।’

जोशीले बुद्ध एयरले अब पोखराबाट दैनिक पोखरा–काठमाडौं १५ वटा फ्लाइट गर्ने सुनाए ।  उनले पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टमा भाडा सम्बन्धमा कुनै फरक नपर्ने बताए । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दा कम्पनीलाई उल्टो १ सय रुपैयाँ महँगो पर्ने उनको भनाइ छ ।

पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकका लागि  बेडहरु प्रशस्त रहेको सुनाए । उनले भने, ‘पोखरामा दैनिक २० हजार पर्यटक राख्न सक्ने होटल छन् । सरोकारवाला निकायले समन्वय गरेर जति सक्दो अन्तर्राष्ट्रिय फ्लाइट गराएर पर्यटकको फ्लो बढाउन सहयोग गर्नुपर्छ । यो विमानस्थल हामी सबैको गौरवको विमानस्थल हो ।’ 

विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टीबाट मात्रै उडान र अवतरण गर्नेछ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको हो ।

चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा विमानस्थल बनेको हो । गत चैत १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनबाट नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ । चीन सरकारका विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर हस्तान्तरण गरेका थिए ।

भर्चुअल माध्यमबाटै चीनका विदेश मन्त्री यीले चाबी हस्तान्तरण गरे पनि पोखरामा तामझामका साथ कार्यक्रम भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप