शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राउण्ड ह्याण्डलिङ खोसिएपछि कानुनी उपचारमा जाने हिमालय एयरलाइन्सको चेतावनी

पूर्वाधारमा ५० करोड खर्च भएको दाबी
शनिबार, ०९ पुस २०७९, १२ : २८
शनिबार, ०९ पुस २०७९

हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डलिङको मुद्दा थप पेचिलो बन्ने भएको छ । दुई वर्षअघि नै निर्णय भएर पूर्वाधार तयारी समेत अन्तिम चरणमा पुर्‍याइसकेको एयरलाइन्सबाट एकाएक ग्राउण्ड ह्याण्डलिङको सुविधा खोसिएपछि  विवाद सतहमा आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना जारी गर्दै हिमालय एयरलाइन्सलाई तत्काल ग्राउण्ड ह्याण्डलिङको सुविधा दिन नसकिने जनाएको हो । जबकि २०७७ असोज ४ गतेको मन्त्रिपरिषदको निर्णय लगत्तै प्राधिकरणले त्रिभुवन विमानस्थलको सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा हिमालय एयरलाइन्सलाई प्रदान गरिएको पत्र पठाएको थियो ।

२६ महिनापछि एकाएक प्राविधिक पक्षलाई कारण देखाउँदै प्राधिकरणले आफ्नै निर्णय विरुद्ध हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा खोसेको हो । एकाएक निर्णय उल्टाइएपछि प्राधिकरणसँग हिमालय एयरलाइन्स आक्रोशित बन्न पुगेको छ ।

‘के कारणले हिमालय एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङ सुविधा खोसियो ? कुन चाहिँ तयारी पुगेन र मापदण्ड पूरा भएन ? पहिला निर्णय गर्ने अनि सम्पूर्ण तयारी पूरा गरिसकेपछि अधिकार खोस्ने ? यस्तो गर्न पाइन्छ ?’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले प्रश्न गरे ।

ग्राउण्ड ह्याण्डलिङकै लागि कम्पनीले ठूलो मेहनत र लगानी गरिसकेपछि कसैको स्वार्थमा परेर अधिकार खोस्ने काम भएको उनको भनाइ छ । आवश्यक जनशक्ति तयार गर्नेदेखि मेसिनरी उपकरण पूर्वाधारमा कम्पनीले ५० करोड रुपैयाँ बराबरको खर्च गरिसकेको भन्दै उनले यसको भरपाई अब कसले गर्छ भन्ने प्रश्नसमेत गरे ।

उनले प्राधिकरणसँग संवाद गरेर समस्या सुल्झाउन प्रयास गर्ने तर त्यहाँबाट पनि कुनै समाधान निस्किएन भने कानुनी लडाइँमा जान बाध्य हुने बताए ।

तर नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई सबल बनाउनका लागि ग्राउण्ड ह्याण्डलिङको सुविधा नेपाल एयरलाइन्सलाई नै दिनेगरी यस्तो निर्णय गरेको जनाएको छ ।

सेल्फ ग्राउण्ड ह्याण्डलिङले एयर फेयर घट्ने दाबी

‘हामीले अरू व्यावसायिक ग्राउड ह्याण्डलिङको सुविधा माग गरेका थिएनौँ । आफ्नै एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङ आफैले गर्छौँ भनेका मात्र थियौँ । तर, त्यो खोसियो । यसको भार अन्ततः एयर फेयरमै पर्ने हो,’ उपाध्यक्ष श्रेष्ठले भने । सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा दिएबापत एजेन्ट कम्पनीले प्रतिफ्लाइट ३ हजार डलरसम्म लिने गरेको बताउँदै उनले आफूहरूलाई त्यो सुविधा दिए शुल्क आधा घट्ने दाबी गरे ।

‘अहिले एनएसीले पाएको ग्राउण्ड ह्याण्डलिङ जिम्मेवारी स्वयं हिमालय एयरलाइन्सले पाए लागत करिब १५ सय डलरमै झर्छ । यसो हुँदा एयर फेयर स्वतः घट्छ । अन्ततः यसले विदेसिँदै गरेका र विदेशबाट फर्किँदै गरेका नेपाली दाजुभाइलाई नै सहयोग पुग्ने हो,’ श्रेष्ठले भने । तर, अहिले हिमालय एयरलाइन्सले नेपाल एयरलाइन्सको व्यवसाय नै हत्याउन लागिपरेको जसरी प्रचार गरिएको भन्दै उनले दुखेसो गरे ।

‘मैले पहिलेदेखि नै भन्दै आएको छु, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स एकअर्काको प्रतिस्पर्धी होइन, सहयात्री हौँ । दुई एयरलाइन्स मिलेर संसार जित्नुछ,’ उनले भने, ‘४÷४ वटा जहाज लिएर अन्तर्राष्ट्रिय उडान भर्दै आएका दुई साना कम्पनी मिलेर ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ ।’

हाल हिमालय एयरलाइन्सले ४ वटा जहाजबाट झण्डै १ दर्जन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । एयरबस ३२० फेमिलीमा ‘एयर बस ३१८’, ‘एयरबस ३१९’, ‘एयर बस ३२०’ र ‘एयर बस ३२१’ बाट दम्माम, रियाद, दोहा, दुबई, क्वालालम्पुर र ढाका गरी ६ गन्तव्यमा प्यासेन्जर फ्लाइट गरिरहेको कम्पनीले चाइनाको कोम्नेम र नानिमामा कार्गो फ्लाइट समेत सञ्चालन गरिरहेको छ । कम्पनीले थप अर्को जहाज ल्याउने तयारी गरिरहेको छ । जसका लागि सरकारको नीति पर्खिरहेको उपाध्यक्ष श्रेष्ठले रातोपाटीसँग बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप