शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा प्रचण्डको तेस्रो इन्ट्री

आइतबार, १० पुस २०७९, १८ : ५०
आइतबार, १० पुस २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साह लगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

नेपाली कांग्रेस माओवादी सहितको सत्ता गठबन्धनबाट स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनाव सहभागी भएका थिए । चुनाव लगतै बन्ने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस र माओवादीबीच भद्र सहमति भएको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर  देउवाले भद्र सहमति उल्लंघन गरेपछि प्रचण्ड एमाले सहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुन सफल भएका हुन् । देउवाले प्रचण्डलाई शनिवारसम्म सरकार गठनका विषयमा अल्टिमेटम अल्टिमेटम दिएका थिए । शुक्रबारको छलफलमा देउवाले पार्टीभित्रकै नेताहरू पहिलो चरणमा प्रधानमन्त्री दिन नमानेको जवाफ प्रचण्डलाई दिएका थिए । तर, पार्टीका नेताहरुसँगको छलफलमा भएकाले मिलाउने बचन समेत दिएका थिए । शनिवार बेलुका पुनः देउवा र प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित शीर्ष नेताबीच छलफल सहभागी भएका थिए ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिने अडानमा यथावत् राखे । राष्ट्रपति कांग्रेसकै भए पनि प्रधानमन्त्रीको पहिलो कार्य आफूले पाउनुपर्ने प्रचण्डले पूर्ववत् भद्र सहमति समेत सम्झाए ।  गत शनिवारको बालुवाटार छलफलबाट कुनै निष्कर्ष निस्कन नसकेपछि आइतबार बिहान टुङ्ग्याउने समझदारी भएको थियो । 

आइतबारको छलफलमा समेत देउवाले पुरानै अडान दोहोर्‍याएपछि प्रचण्डले गठबन्धन टुटेको भन्दै खुमलटार लागेका थिए । बालुवाटारबाट खुमलटारमा केही बेर विश्राम लिएका प्रचण्ड सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट प्रस्थान गरे ।  प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायत नेताहरू लाइन लागेर बालकोट पुगेका हुन् । बालकोटमा एमाले अध्यक्ष ओली सहित उपाध्यक्ष विष्णु पौडेल,महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायत नेताहरू सहभागी थिए । यस्तै ओली प्रचण्डसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत सहभागी भएका थिए । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डको नेतृत्वमा बहुमत पुर्‍याएर नयाँ सत्ता गठबन्धनका नेताहरू शीतलनिवास पुगेका थिए । 

तीन पटक प्रधानमन्त्री चार पटक  निर्वाचित 

प्रचण्ड पहिले पटक २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि  गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल काण्डमा प्रचण्डले नौ महिना पुग्दा नपुग्दै राजीनामा दिन बाध्य भए । वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भएका थिए । २०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए । पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए ।  २०७४ सालको चुनावमा चितवन ३ बाट र यस निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।  

यस्तो छ प्रचण्डको जीवनी     

प्रचण्डको जन्म  २०११ मंसिर २६ गते कास्की जिल्लाको तत्कालीन ढिकुरपोखरी गाविस–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका थिए । २०२६ चितवनको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । उच्च शिक्षा काठमाडौँको पाटन बहुमुखी क्याम्पसबाट आईएससी पुरा गरेपछि चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी पुरा गरे । प्रचण्डले एम.पी.ए.सम्मको अध्ययन पुरा गरेका छन् । प्रचण्डले नारायणी विद्या मन्दिर, मा.वि.नवलपरासी, भीमोदय मा.वि आरुघाट अध्यापन गराएका थिए । वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट  चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सरेका थिए ।  २०२६ वैशाखमा सीता पौडेलसँग विवाह गरेका प्रचण्डका तीन छोरी र एक छोरा छन् । हाल छोरा प्रकाश र जेठी छोरी ज्ञानुको निधन भइसकेको छ । 

प्रचण्डले २०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता लिएका थिए । २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता कार्यकर्ता भएका थिए । २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुन सफल भए । २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य, २०४२ सालमा पोलिटब्युरो सदस्य र  २०४६ सालमा महामन्त्री हुन सफल भए । २०४८ सालमा विभिन्न कम्युनिस्ट घटकहरुवीच एकता गरेर नेकपा (एकताकेन्द्र)को महामन्त्री हुन सफल भए ।

 यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम फेरेर नेकपा माओवादी बनाइयो । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड माओवादी अध्यक्ष हुन सफल भए । २०५८ साल जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६२÷२०६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियामा प्रवेश गरेका थिए । २०६९ सालको सातौँ महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्षमा निर्वाचित भएका थिए । प्रचण्डको नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरू लगायतका पुस्तक प्रकाशित छन् । २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप