शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘क्लोज’ भर्सेस ‘केजीएफ २’ : चलचित्र हेर्ने दुई दृष्टि

मङ्गलबार, १२ पुस २०७९, १३ : ५६
मङ्गलबार, १२ पुस २०७९

कान्स फेस्टिभल । विश्वका उत्कृष्ट र प्रभावशाली चलचित्र देखाउने 'कुम्भ मेला' । सन् १९४६ देखि वर्षेनी आयोजना हुँदै आएको यो ‘फिल्म फेस्टिभल’ हलिउड र अन्य चलचित्र उद्योगले समेत उच्च चासो राख्ने महोत्सव हो ।  

विश्वभरीबाट हजारौ चलचित्रहरुमध्ये केवल सीमित ‘रजतपट छायाँ’ मनोनित हुन्छन् र मुख्य प्रतियोगितामा २० चलचित्र मात्र भिड्छन् । यो चलचित्र महोत्सवमा हरेक चलचित्र उत्तिकै अब्बल हुन्छन् । तैपनि उत्कृष्टहरुबिचको उत्कृष्टको बेग्लै फेम हुन्छ । 

अब्बलमध्येका केही ‘आउट स्टान्डिङ’ चलचित्रले मात्र सम्मान प्राप्त गर्छन् । कान्सको सर्वोत्कृस्ट र उच्च ओहोदाको पुरस्कार भनेको ‘पाम ओ डोर’  हो । ‘पाम ओ डोर’ २० जना ज्युरी सदस्यले भोट गरेर चुन्छन् । यस्तै ‘ग्रान्ड पृक्स’, ‘पृक्स दि ज्युरी’, ‘बेस्ट डाइरेक्टर’, ‘बेस्ट एक्टर’, ‘बेस्ट एक्ट्रेस’, ‘बेस्ट स्क्रीन प्ले’ आदि  अवार्डबाट पनि सम्मान गर्ने गरिन्छ । 

कस्ता चलचित्रले यो अवार्ड जित्दा रहेछन् त भन्नेबारे चर्चा गरौं । 

हलिउडका निर्देशक जेम्स क्यामरुनको ‘अवतार, द वे अफ वाटर’ र दक्षिण भारतका निर्देशक÷अभिनेता रिशभ सेठ्ठीको ‘कान्तारा’जस्ता चलचित्रले बक्स अफिस पिटिरहँदा हामी कुन धरातलमा छौं र कान्स चलचित्र महोत्सवको महत्ता कहाँनेर छ भनी हामीले ठम्याउन सक्छौं । 

सन् २०२२ को कान्समा ‘ट्रयाङ्ल अफ स्याडनेस’ नामक स्वीडिस चलचित्रले ‘पाम ओ डोर’ जितेको थियो । 

यो चलचित्रमा केही सभ्रान्त धनीहरु जहाज डुबेपछि समुद्री तटमा फँस्छन् । अनि कथा धनको खेलमा परिणत हुन्छ । ‘काला’, ‘याया’, ‘पोला’ र वृद्धा ‘टेरेसा’मार्फत् जहाज र टापुमा हुने चलखेल र कथानक रुपान्तरण यसमा बडा बेजोड ढंगले प्रस्तु्त गरिएको छ । 

प्रतियोगितामा अर्को एक उत्कृष्ट चलचित्रले ‘ग्रान्ड प्रिक्स’ जितेर दर्शक, ज्युरी र आलोचकको मन पनि जित्न सफल भएको छ । र, यो अद्भूत चलचित्रको नाम हो ‘क्लोज’ । 

यो आलेखमा ‘क्लोज’ तथा ‘केजीएफ २’ को विशेष चर्चा गरिनेछ । 

ल्युका दोनद्वारा निर्देशित फ्रेन्च र डच भासिक चलचित्र हो, ‘क्लोज’ । सन् २०२२ मे २६ मा कान्समा प्रथम प्रदर्शन भएसँगै सकारात्मक आलोचना बटुलेर अहिले यो चलचित्र अस्कर अवार्डको ‘बेस्ट इन्टरन्यासनल फिचर’ क्याटेगोरीको सर्ट लिस्टमा परेको छ । 

विश्वका कैयौं रजतपटमा प्रदर्शित भए पनि नेपाली दर्शकले भने अनलाइनमा सशुल्क या अनधिकृत वेबसाइटहरुमार्फत् यो चलचित्रको मजा लिने गरेको पाइन्छ ।  

‘ल्यु का दोन’ को यो दोस्रो कथानक चलचित्र हो । उनले यसअघि बनाएको चलचित्र ‘गल’ ले पनि सकारात्मक आलोचना बटुलेको थियो । दोस्रो चलचित्र ‘क्लोज’ले भने अलि धेरै नै ख्याती कमाएको देखियो । 

‘क्लोज’को विषययबस्तु दुइ साना बालकहरुको भावना, मित्रता, दुःख, शोक, समवेदना, पुरुषार्थ र बाल मनोविज्ञानबारे केन्द्रीत छ । यस चलचित्रले तेस्रो लिङ्गी समूहको बिषयमा पनि कथा बोकेको छ । 

एकदमै मिल्ने दुइ साना बालकहरु आफ्नो घर नजिकैको विद्यालयमा अध्ययन गर्छन् तर उनीहरुको बढ्दो निकटता (क्लोजनेस) देखेर सहपाठीहरुले उनीहरुलाई साथी नै हुन् कि प्रेमिल जोडी हुन् भनेर प्रश्न गर्दा एक बालक सशंकित हुन्छ । उसमा डर, त्रास र संशय उत्पन्न हुन्छ । अब यी बालसखाको सम्बन्ध कसरी अगाडि बढ्छ वा बढ्दैन, यही नै चलचित्रको मुख्य प्लट हो । 

चलचित्रले उठाउन खोजेको गुरु गम्भीर थिम हो ‘पुरुषार्थ’ । 

‘पुरुषार्थ’ प्रदर्शन गर्ने ‘सिने दृष्य’ प्रायः एउटै हुन्छ । बलिउडमा कुनैबेला अमिताभ बच्चनको ‘एंग्री योङ म्यान’को छवि थियो । उनले एक ‘ढिशुम’ मारेपछि अमजद खानजस्ता मोटाघाटा खलनायकहरु पनि ढल्थे । 

अचेल दक्षिण भारतीय चलचित्रमा दर्जनौं बलिया तिघ्रे गुण्डाहरुलाई एउटा पातलो चकलेटी हिरो (महेशबाबु टाइपको)ले हान्नासाथ तीन मिटर माथि उचालिएर बलियो कंक्रिटको भित्ता फुटेर भिलेन कक्रिने दृष्य देखाइन्छ । 

चीनियाँ चलचित्र उद्योगमा यस्तो अतिरञ्जना हुँदैन, जहाँ कोङ्फु कराँतेको कलात्मक दृष्य देखाइन्छ । भौतिक द्वन्द्वमा अतिरञ्जना पनि दर्शकका लागि दर्शनीय नहुन सक्छ भन्नेतर्फ दक्षिण एशियाली चलचित्र निर्माताले ध्यान दिएको पाइँदैन । 

नायकलाई रक्षक, निडर, रिसाहा, क्रोधित, संरक्षक र खलनायकलाई शोषक, पीडक र स्त्री शोषक देखाउने । नायक होस् या खलनायक, दुबै बोल्ड । अनि नायिकाको काम भने आकर्षक गीतमा सौन्दर्यमय काया कस्टयूम लगाएर नाच्ने मात्र । चलचित्रको यो परिभाषा पनि अबको जेनरेशनले मन पराउँदैनन् । 

अमिताभ बच्चनका पालाको ‘दिवार’, ‘सोले’, ‘त्रिशुल’, ‘जञ्जीर’ होस् या अहिले सफल भएका ‘केजीएफ २’, ‘कबिर सिङ’ नै किन नहोस् । चलचित्रमा पुरुषार्थ देखाउनु भनेको उही पितृसत्तात्मक समाजको धङधङी मात्र हो । 

एउटा पुरुषमा केन्द्रीत ‘हिरोइज्म’को अवधारणा अब यो उत्तरआधुनिक युगमा काम नलाग्ने भइसक्यो भन्नेतर्फ हाम्रा नेपाली चलचित्रकर्मीहरुले कहिले बुझ्ने ? 

जस्तै ‘केजीएफ २’ मा समग्र चलचित्रभरी मुख्य पात्र रकी भाइ निडर, शक्तिशाली, रक्षक, स्त्री प्रेमिल देखिन्छ, जसमा दर्शकले पनि खुब रमाएर ताली पड्काउँछन् । यो खासमा हाम्रो सामाजिक यथार्थ हो । पितृसत्तात्मक समाजमा पुरुषलाई एक संरक्षक, रिसाहा, हिम्मतिलो देखाउनु पनि हाम्रै समाजले पुरुषका बारेमा निर्दिष्ट गरेको परम्परागत रुढी दृष्टिकोणको उपज न हो । 

आखिर ‘केजीएफ २’ बक्स अफिसमा यति सफल र दर्शकबिच चर्चित हुनुको पछाडि यही मूलभूत कारण छ । खास गरी २० देखि ३० उमेरका युवा दर्शकले आफूभित्र अन्तर्निहित पितृसत्तात्मक अहंकार, यौन आवेगको कुण्ठा अनि पुरुषार्थको हुटहुटीलाई निकास दिएको मात्र हो ।  

चलचित्रको दृश्यमा देखिएका पात्रप्रति आफ्नो कुण्ठा र लगाव दुबै सम्मिश्रित पनि हो । स्त्री दर्शकमा पनि यही भाव सन्निहित छ कि उनीहरु पनि यस्तै बाहुबली पुरुषको खोजीमा छन्, जसले उनीहरुको रक्षा गरोस् । यो उनीहरुको हीनभाव हो । समाज मात्र हैन, चलचित्रले जगाएको हीनभाव । 

सिग्मण्ड फ्रायडको ‘सब कन्सियस माइन्ड’को थ्योरी अन्तर्गतको समवेदना यस्ता चलचित्रहरुले स्वैरकल्पनाको माध्यमबाट भए पनि मजाले भजाइरहेका छन् ।  

चलचित्र एक मनोरन्जनात्मक माध्यम हो । यसलाई मनोरन्जनका रुपमा मात्र लिउँ भन्ने दर्शकहरु पनि धेरै  देखिन्छन् । तर, मेरो बुझाइमा चलचित्र समाजको ऐना मात्र हैन, टर्च लाइट पनि हो । 

समाजमा देखिएका समस्या, कुरिती, कुण्ठालाई कलाको माध्यमबाट प्रस्तुत गरेर सामाजिक दर्पण बन्नुका साथै दर्शक र समाजलाई सही दिग्दर्शन गर्ने र चेतनशील भएर सही बाटोमा पथ प्रदर्शन गर्ने टर्च लाइट पनि हो । 

बहुआयाममध्ये साहित्य, चित्रकला, संगीतभन्दा पनि उन्नत श्रव्य÷दृश्य माध्यम चलचित्र आफैमा कलाको उच्च श्रेणी मानिन्छ । 

चलचित्र नै यस्तो विधा हो, जसले धेरैको सत्ता डगमगाएको छ । भर्सटायल एक्टर मनोज बाजपेयीको ‘अलिगढ’ चलचित्रले तेश्रोलिंगी (एलजीबिटीआई) समुदायको हितको पक्षमा आवाज उठायो । नभन्दै ‘एलजीबिटीआई’ समुदायले कानूनी मान्यता पाउनुपर्छ भन्ने आवाज घनिभूत हुँदै जाँदा भारतको उच्च अदालतले मान्यता पनि दियो । चलचित्र आफैमा शक्तिपुञ्ज पनि हो भन्ने यसबाट स्पष्ट हुन्छ । 

अतः चलचित्रलाई केवल ‘इन्टरटेनमेन्ट’का रुपमा मात्र नहेरौं । समाज बदल्न चलचित्रको पनि सार्थक भूमिका रहन्छ । यस्तोमा हामीले छनौट गर्नुपर्छ कि ‘केजीएफ २’ जस्ता हिंसात्मक र विषाक्त हिरोइज्म आदर्शलाई छनौट गर्ने कि चलचित्र ‘मिमी’की नायिका कृति सेननको सरोगेट मदर भूमिकाको पीडाबाट उत्पन्न सामाजिक विकृतितर्फ नियाल्ने ? 

कान्स फेम चलचित्र ‘क्लोज’ले यस बिषयमा गम्भीर र निकै कलात्मक शैलीमा बहस सिर्जना गरेको छ । यस चलचित्रका मुख्य पात्र पुरुषार्थी हुन चाहन्छन् । 

उनी ‘आइस हकी’का पारंगत । पुरुष हावी हुने खेल र पुरुषार्थ देखाउनुपर्ने खेल । बल, बर्कत, श्रम, लडाई र शक्ति अधिकतम मात्रामा प्रयोग गरी खेलिने खेल । 

यस्तो खेल खेल्ने खेलाडी, रोएर समवेदना प्रकट गर्नुलाई पुरुषार्थ मान्दैन र अन्तिम प्रहरसम्म नरोइ बस्छ । अडिग रहन्छ । 

चलचित्रमा यस बाहेक पात्र र परिवेशको पनि निकै सुक्ष्म र कलात्मक शैली प्रस्तुत गरिएको छ । चलचित्रमा देखाइएको फुलको बगैचा र फुल रोप्ने प्रक्रियामा पात्रको समग्र भावभंगीमा झल्काउन पूर्ण कलात्मक शैली अपनाइएको छ

भावनात्मक अनि मार्मिक  र प्रभावशाली । अन्तिमसम्म हेरुँ हेरुँ लाग्ने । 

हो, आमदर्शकले सहजै बुझ्ने सरल मनोरन्जन नभए पनि चलचित्र ‘क्लोज’ सामाजिक चेतना र स्वच्छ भावनामा डुब्नका निम्ति हेरिनुपर्ने ‘फिल्म’ हो । ‘केजीएफ २’ जस्ता दिग्भ्रमित ‘हिरोइज्म’ अनि समस्याग्रस्त चलचित्रले हामीमाथि थोपरेको बुझाइबाट पार हुँदै ‘आइ अन लर्न’गर्न पनि ‘क्लोज’ हेर्न जरुरी छ । र, म प्रायः साथीहरुलाई भन्ने गर्छु, ‘केजीएफ मन पराउने दर्शकले भने यो फिल्म मन पराउँदैनन्’ । 

लेखक इमेज वातावरण विज्ञान विषयमा स्नातक अध्ययनरत छन्   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया