बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : १२ मन्त्री, सभामुख र उपसभामुख को होलान् ?

बुधबार, १३ पुस २०७९, १४ : ४३
बुधबार, १३ पुस २०७९

संघमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश १ मा पनि नेकपा एमाले र माओवादी केन्द्रसहितको सरकार बन्ने निश्चित भएको छ । सरकारको नेतृत्वका लागि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दुवैले दाबी गरेका छन् ।

यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरुले नै टुंगो लगाउने छन् । मुख्यमन्त्रीमा दुई नेताको दाबी रहँदा प्रदेशको सभामुख, उपसभामुख र मन्त्रीहरु को बन्छन् भन्नेबारे पनि चर्चा सुरु भएको छ ।

प्रदेशको मुख्यमन्त्री एमालेले पाएको खण्डमा सभामुख माओवादीले र मुख्यमन्त्री माओवादीले पाएको खण्डमा सभामुख एमालेले पाउने नेताहरुले बताएका छन् । एमालेले सभामुख पाएको अवस्थामा सुनसरीका रेवतीरमण भण्डारी र ताप्लेजुङका तिलकुमार मेन्याङ्बो मुख्य दाबेदार मानिएका छन् । माओवादीको भागमा सभामुख परे संखुवासभाका राजेन्द्र कार्की र ओखलढुंगाको बाबुराम गौतममध्ये एक जनाको सम्भावना छ ।

उपसभामुख पदमा भने माओवादीको भागमा पर्दा मोरङकी गीता तिम्सिना र एमालेको भागमा पर्दा उदयपुरकी सिर्जना दनुवार वा भोजपुरकी सिर्जना राईको सम्भावना रहने नेताहरु बताउँछन् ।

प्रदेश १ मा मुख्यमन्त्रीसहित अहिले १३ मन्त्रालय छन् । मुख्यमन्त्रीको दाबेदार दुवै नेताले आफू मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या घटाउने बताउँदै आएका छन् । संख्या घटेको अवस्थामा मन्त्रालयको संख्या ९ देखि १० हुन सक्छ । यद्यपि पार्टीभित्र मन्त्रीका दाबेदारको संख्या धेरै रहेकाले मन्त्रालय संख्या घटाउन सहज भने देखिँदैन ।

१३ वटा मन्त्रालय कायम रहेको अवस्थामा माओवादी केन्द्रले ५ र एमालेले ८ वटा मन्त्रालय पाउन सक्छ । राप्रपासहित अन्य दल पनि सरकारमा सहभागी भएको अवस्थामा सो संख्या घट्न सक्छ । मन्त्रालय संख्या घटेको अवस्थामा भने माओवादी ४ र एमाले ६ हुन सक्छ ।

एमालेबाट सभामुख नपाएको अवस्थामा सुनसरीका भण्डारी र ताप्लेजुङका मेन्याङ्बो दुवै मन्त्री हुने निश्चित छ । यस्तै सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, इलामका राम राना मगर, मोरङका लिलाबल्लभ अधिकारी, खोटाङका पाँचकर्ण राई, उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई मन्त्रीका दाबेदार छन् । दोस्रो कार्यकालका लागि प्रदेशसभामा निर्वाचित भएका धनकुटाका इन्द्रमणि पराजुली र निरन राई पनि मन्त्रीका दाबेदार हुन् ।

यता, माओवादी केन्द्रबाट भने तेह्रथुमका दुर्गा चापागाईं, संखुवासभाका राजेन्द्र कार्की, उदयपुरका नारायण बहादुर मगर र मोरङका गणेश उप्रेतीलाई मुख्य दाबेदार मानिएको छ । माओवादी केन्द्रभित्र साबिकको तीनवटा राज्य (लिम्बुवान, किराँत र कोचिला) बाट सन्तुलन मिलाएर सरकारमा पठाउने गरी गृहकार्य भइरहेको नेताहरुले बताएका छन् । त्यसअनुसार लिम्बुवानबाट चापागाईं, किराँतबाट कार्की वा मगर तथा कोचिलाबाट उप्रेती मन्त्री हुने सम्भावना छ । उपसभामुख नभएको अवस्थामा गीता तिम्सिना पनि मन्त्रीको दाबेदार हुन् । यस्तै जनजातिबाट सोलुखुम्बुका गोम्बु शेर्पा पनि मन्त्री बन्ने लाइनमा छन् ।

सरकारमा राप्रपा समेत सहभागी भएको अवस्थामा झापाका भक्ति सिटौला मन्त्री बन्ने सम्भावना छ । यस्तै जसपाबाट एकमात्र सांसद बनेकी ताप्लेजुङकी निर्मला लिम्बू राज्यमन्त्री बन्ने सम्भावना छ ।

प्रदेश १ मा सत्तापक्षका दलहरू एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद छन् । यस्तै विपक्षी दल नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ जना सांसद छन् । अन्तिम समयमा नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने सम्भावना छ । उक्त पार्टी सरकारमा सहभागी भए इलामकी खिनु लङ्वा लिम्बू र पाँचथरका कमल जबेगु मन्त्री बन्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप