शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ आज

बिहीबार, १४ पुस २०७९, ०८ : ३०
बिहीबार, १४ पुस २०७९

बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको जनाएको छ । 

आज प्रदेशसभाका बाँकी १०९ सदस्यहरूको शपथको कार्यक्रम रहेको र उनीहरूलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचीव कृष्णहरि खड्काले जानकारी दिए । 

यसअघि बुधबार प्रदेश सभाका ज्येष्ठ सदस्य ढुंगानालाई शपथ गराइएको थियो । प्रदेश सचिवालयका सचिव खड्काका अनुसार शपथ ग्रहणका लागि आइतबार नै सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन सूचित गरिसकेको छ । 

यस्तै बागमती प्रदेश सभाका सदस्यहरुले आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसअनुसार प्रदेश सभाले आफूले शपथ खान चाहेको भाषामा शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी सचिवालयमा बुझाउन यसअघिनै सूचित गरिसकेको थियो ।  

१५ जना सांसदले मातृभाषामा शपथ लिने
बागमती प्रदेश सभाका नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन् । प्रदेशसभाका कुल ११० सांसद मध्ये १५ जनाले मातृभाषामा शपथ लिने भएका हुन् । जसमा ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ। 

मातृभाषामा शपथ लिने प्रदेश सभा सदस्यहरूमा कांग्रेसका ३, एमालेका ४, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका १ र हाम्रो नेपाली पार्टीका २ जना रहेका छन्  । सचिवालयका अनुसार कांग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित हरिप्रभा खड्गी, समिता खड्गी र रामचन्द्र महर्जनले नेवारी भाषामा शपथ लिने भएका छन् । 

यस्तै, एमालेका प्रेमभक्त महर्जन, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन र प्रकाश श्रेष्ठले पनि नेवारी भाषामा शपथ लिने सचिवालयले जनाएको छ। यसैगरी, माओवादी केन्द्रका ५ मध्ये ३ जनाले नेवारी र २ जनाले तामाङ भाषामा शपथ लिने भएका छन् । 

माओवादीका गङ्गानारायण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठले नेवारी तथा राधिका तामाङ र उर्मिलाकुमारी तामाङले तामाङ भाषामा शपथ लिने सचिवालयले जनाएको छ । 

एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर तथा हाम्रो नेपाल पार्टीका २ जना सदस्यहरू शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले नेवारी भाषामा शपथ लिने सचिवालयले जनाएको छ । 

एक ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप