बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तल्लो मोदी एक जलविद्युत् आयोजना चार महिनापछि सञ्चालन

सोमबार, २८ मङ्सिर २०७२, १० : २९
सोमबार, २८ मङ्सिर २०७२
पर्वत– मोदीखोलामा आएको बाढीले क्षति पु¥याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनाबाट चार महिनापछि विद्युत् उत्पादन सुरु भएको छ । साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत गरिएपछि आइतबार साँझदेखि विद्युत् उत्पादन सञ्चालन भएको हो । मुलुकभर इन्धन अभाव र विद्युत्भार कटौतीको मार खेपिरहेको अवस्थामा आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा थपिएको छ । मोदीखोलाको बाढी विद्युत्गृहमा पसेपछि त्यहाँ रहेका सबै उपकरण र सामानमा क्षति पुगेको थियो । क्षतिग्रस्त विद्युत्गृह र अन्य संरचना मर्मत गरी एउटा टर्वाइनबाट विद्युत् उत्पादन सञ्चालन गरिएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिए । “आयोजनाको मर्मतकार्य सम्पन्न गर्न चार महिना लाग्यो”, निर्देशक गौतमले भने– “परीक्षण सकेर विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारणमा पठाउन सकेका छौँ” आयोजनाले एक नम्बर टर्वाइनको मर्मत सकेकाले तत्काल एउटा टर्वाइनबाट पाँच मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा पठाउने तयारी गरेको छ । दुई नम्बर टर्वाइनसमेत सञ्चालन गर्न अझै दुई हप्ता लाग्ने निर्देशक गौतमले बताए । मोदीखोलामा ६० वर्षपछि आएको ठूलो बाढीले आयोजनाको विद्युत्गृह, सडक र नहरमा गरी रु ३० करोडभन्दा बढी क्षति पु¥याएको थियो । विद्युत्गृहको सुरक्षाका लागि लगाइएको पर्खाल भत्काएर मोदीखोलाको बाढी विद्युत्गृहमा पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको थियो । विद्युत्गृह पानीले भरिएपछि इलेक्ट्रिक र इलेक्ट्रोमेकानिकल सबै सामान काम नलाग्ने अवस्थामा पुगेका थिए । विद्युत्गृहमा दुई मिटरभन्दा बढी पानीको सतह पुगेपछि जेनेरेटर, टर्वाइन, प्यानलबोर्डमा समेत पानीले भरिएको थियो । निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले तीन वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप