राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
सारांश
- राष्ट्रिय सभामा दुई सदस्य पद रिक्त रहेको छ, जसमा एक पद मनोनीत र अर्को निर्वाचनबाट पूर्ति गर्नुपर्नेछ ।
- गृहमन्त्री ओमप्रकाश अर्यालको राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने सिफारिस राष्ट्रपति कार्यालयमा होल्डमा राखिएको छ ।
- सुदूरपश्चिम प्रदेशबाट निर्वाचित बलदेव बोहराको निधनपछि रिक्त भएको पदमा निर्वाचन आयोगले अहिलेसम्म कार्यतालिका सार्वजनिक गरेको छैन ।
काठमाडौँ । ५९ सदस्यीय राष्ट्रिय सभामा अहिले २ पद रिक्त छ । सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका वामदेव गौतमको कार्यकाल गत फागुन २० मै सकिएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट निर्वाचित बलदेव बोहरा (नेपाली कांग्रेस)को गत पुस ३० गते निधन भएको भएको थियो ।
यी दुई रिक्त सदस्य पदमा अहिलेसम्म पदपूर्ति भएको छैन ।
जुन प्रक्रियाबाट राष्ट्रिय सभा सदस्य भएकाको पद रिक्त हुन्छ, सोही प्रक्रियामार्फत नयाँ नियुक्त गर्नुपर्ने प्रावधान छ । त्यसैले रिक्त दुई सिटमध्ये एउटा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्नुपर्ने र अर्को निर्वाचनका माध्यमबाट पदपूर्ति गर्नुपर्ने अवस्था छ ।
त्यसो त, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यका लागि सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले त्यतिबेलाका गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गरेको थियो । गत चैत १ गते अर्यालयको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरिएको थियो । त्यो सिफारिस होल्डमा रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले जानकारी दिए ।
‘अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्य पदका लागि सिफारिस गरेको विषय अहिले सम्माननीय राष्ट्रपतिज्यूले होल्डमा राख्नुभएको छ,’ प्रवक्ता शाक्यले रातोपाटीसँग भने, ‘बहालवाला गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले बहालवाला लाभको पदमा रहेको व्यक्तिालाई अर्को लाभको पदमा सिफारिस गर्ने कि नगर्ने ? नयाँ सरकार बन्न लागेको अवस्थामा अन्तरिम सरकारले गरेको सिफारिसलाई समर्थन गर्छ कि गर्दैन भनेर प्रश्न सोधिएको थियो ।’
प्रवक्ता शाक्यका अनुसार त्यो प्रश्नको जबाफ न कार्की नेतृत्वको सरकारले दियो, न त वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले दियो । शाह नेतृत्वको सरकारले अर्याललाई नै मनोनीत गर्न पनि नभनेको र नयाँ नाम पनि सिफारिस नगरेकाले अहिले अघिल्लो सरकारको सिफारिस होल्डमै रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बलदेव बोहराको गत पुस ३० गते निधन भएको भएको थियो । बोहोराको निधन भएपछिको रिक्त स्थान पदपूर्तिका लागि भने निर्वाचन नै गराउनुपर्ने हुन्छ । निर्वाचन आयोगले रिक्त पदमा निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छैन ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सदस्य रिक्त भएको औपचारिक जानकारी आयोगमा आएको तर निर्वाचन प्रक्रिया भने सुरु नभएको बताए । कहिले सुरु गर्ने भन्ने विषय छलफलमै रहेको उनले बताए ।
राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐन २०७५ मा सदस्य रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न हुनेगरी कार्यतालिका तोक्नु पर्ने व्यवस्था भए पनि अहिलेसम्म निर्वाचनको तालिका सार्वजनिक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकालाई कसरी नाइँ भन्ने हामीलाई थाहा छ – इजरायली मन्त्री
-
३ वर्षमा ४ अर्ब ३३ करोडको क्रिप्टो कारोबार, साथीलाई किनिदिए ट्याक्सी
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण