बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पोखराको पर्यटकीय सम्भावनालाई अधिकतम उपयोग गर्नुपर्ने

बिहीबार, ०९ पुस २०७२, २० : ५०
बिहीबार, ०९ पुस २०७२

पोखरा–अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले पोखराका प्रचुर पर्यटकीय सम्भाव्यतालाई अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् ।

पोखराका पर्यटकीय सम्भावना र विकासका सम्बन्धमा आज यहाँ आयोजित स्थानीय पर्यटन व्यवसायी, पर्यटन कार्यालय तथा नागरिक उड्डयन कार्यालयका पदाधिकारीसँगको छलफल एवम् अन्तक्र्रियामा उनले पोखराका आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्नसके यो स्वदेशी एवम् विदेशी पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्ने धारणा राखे ।

पोखरा क्षेत्रको पर्यटनसँग सम्बन्धित राष्ट्रिय गौरवको आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउनु आवश्यक भएकामा जोड दिँदै उनले यसलाई पर्यटकीय राजधानीका रुपमा अघि बढाउन सकिने उल्लेख गरे ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निर्देशक प्रदीप अधिकारीले विमानस्थल निर्माण प्रक्रिया अघि बढेको बताउँदै नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता गरी तत्काल निर्माण कार्य अघि बढाउनुपर्ने बताए ।

विमानस्थल निर्माणका लागि २०३३ सालमा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको र त्यसपछि थप नपुग जग्गा ६२९ रोपनी जग्गाको ६० प्रतिशत मुआब्जा वितरण गरिसकिएको बताउँदै अधिकारीले बाँकी वितरण प्रक्रियामा रहेको उनले बताउए ।

नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालयका प्रमुख श्रद्धा श्रेष्ठले पोखरामा पर्यटनका महत्वपूर्ण सम्भावना रहेको बताउँदै यहाँका अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने धारणा राखे ।

पोखरा विमानस्थलका प्रमुख दिपक बरालले दिवाकालीन समयमा मात्र विमानस्थलले सेवा दिनसक्ने बताउँदै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो औंल्याए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरी २०३३ सालमै अर्को विमानस्थल निर्माणका लागि पहल सुरु गरिएको थियो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले फेवातालसहित लेखनाथ क्षेत्रका ताललाई समेटेर चक्रपथ निर्माण गर्नुपर्ने बताउँदै पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेका हुडिकोटलगायतका स्थानको पूर्वाधार विकासको आवश्यकता रहेको बताए ।

कार्यक्रममा पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा, पर्यटन व्यवसायी वासुदेव त्रिपाठीले पोखराको पर्यटकीय विकासका लागि निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तदारुकताका साथ बढाउनुपर्ने सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप